होमपेज / खेलकुद
भारत भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय खेलमा पनि पराजित भएको छ। भारतको घरेलु मैदानमा भएको खेलमा अस्ट्रेलिया ८ रनले पराजित भयो। जितसँगै भारतले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ। भारतले दिएको २५१ रनको लक्ष्य पक्ष्याएको पाहुना टोली अस्ट्रेलिया ४९.३ ओभरमा अल आउट हुँदै २४२ रनमा समेटियो।
अष्ट्रेलियालाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो जहाँ उसले ३ बलमा दुई विकेट गुमाएर ३ रनमात्र जोड्न सक्यो। अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ६५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रनको योगदान दिए। त्यस्तै पिटर हेन्डस्कम्बले ५९ बलमा ४ चौकासहित ४८ रन जोडे। पहिलो विकेटका लागि फिंन्च र उस्मान ख्वाजाले ८३ रनको साझेदारी गर्दै जितको आसा देखाए पनि पछिल्लो क्रम नचल्दा निरन्तर विकेट गुमाउन अस्ट्रेलिया बाध्य भयो।
भारतको जितमा कुलदिप यादवले ३, जसप्रित बुमराह र विजय शंकरले समान दुई–दुई विकेट लिए। त्यस्तै केदार जाधव र रवीन्द्र जडेजाले समान एक एक–विकेट लिए। त्यसअघि नागपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले विराट कोहलीको शतकमा २५० रन बनाए । करियरको ४० औँ एकदिवसीय शतक प्रहार गरेका कोहलीले ११६ रन बनाए।