होमपेज / खेलकुद
दमक । चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित नेपालका ९ र हङकङको एक गरी १० वटा टोली सहभागि रहने छन्।
तीन विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै मनाङ मस्र्याङ्दी, थ्री स्टार, मोरङ–११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकेडेमीले सहभागिता जनाउनेछन्। फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
त्यस्तै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले २१ हजार तथा सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। म्यान अफ दी म्याचले नगद १५ हजार रुपैयाँ पाउने झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए। सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।
अघिल्लो वर्षजस्तै उद्घाटन समारोहमा झापाका दुई जना पुराना फुटबलरलाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ। यस वर्षदेखि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ। यो रकम प्रत्येक वर्ष खेलको पहिलो दिन प्रदान गरिनेछ।