होमपेज / खेलकुद
एजेन्सी । घरेलु मैदान पहिलो पटक सिरिज गुमाए पनि भारतिय कप्तान तथा ब्याट्सम्यान विराट कोहलीले केहि व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। अस्ट्रेलियाविरूद्धको दोश्रो टि-२० म्याचमा नटआउट ७२ रन बनाएका कोहलीले यस फर्म्याटमा २२०० रन बनाएको विश्व कीर्तिमान बनाएका छन्। ६७ औं म्याचबाट उनले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् । २२ सय रन बनाउने उनी दुनियाँका चौथो क्रिकेटर हुन्। उनीअघि भारतकै रोहित शर्मा, न्यूजल्यान्डका मार्टिन गप्टिल र पाकिस्तानका शोएब मलिकले २२०० रनको आँकडा छोएका छन्।
रोहितको नाममा टि-२० मा सर्वाधिक २३३१ रन बनाएको कीर्तिमान छ। उनले ९४ खेल खेल्दै यो रेकर्ड बनाएका हुन्। मार्टिनले ७६ म्याचबाट २२७२ रन बनाएका थिए भने शोएबले १११ म्याचबाट २२६३ रन बनाएका छन्। ६७ म्याचबाट कोहलीको २२६३ रन भएको छ। उनले सर्वाधिक रन बनाउनेमा पाकिस्तानका शोएबसँग बराबरी गरेका छन्। अब उनीभन्दा अगाडी रोहित शर्मा र गप्टिल रहेका छन्। यसैगरी विराटले टि-२० मा सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमानसँग बराबरी समेत गरेका छन्। ६७ म्याचबाट उनको २२३ चौका पुगेको छ।
श्रीलंकाका तिलकरत्ने दिलशानले पनि यति नै चौका प्रहार गरेको रेकर्ड बनाएका छन्। यस्तै विराटले टि-२० मा औषत ५०.२८ रन बनाएका छन्। यो औसत १५०० रन बनाउने क्रिकेटरमा सबैभन्दा बढि हो। एक हजार रन जोडेका क्रिकेटरमा सर्वाधिक औसत रन हानेको रेकर्ड पाकिस्तानका बाबर आजम(५२.७२)को नाममा छ।