होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । इरान र अमेरिकाबीच तनाब बढ्दै गएपछि नेपालले इरान जाने योजना बनाएका नेपालीलाई तत्काल भ्रमण स्थगन गर्न आग्रह गरेको छ ।
आज(आईतबार) परराष्ट्र मन्त्रालयले एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै यस्तो आग्रह गरेको हो । “इरानमा भइरहेको पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ,” परराष्ट्र मन्त्रालयले भनेको छ, “त्यस्तै, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकलाई सकेसम्म छिटो देश (इरान) छोड्न सल्लाह दिन्छौँ ।”
इरानस्थित राष्ट्रसंघीय कार्यालयमा सानो संख्यामा नेपाली कार्यरत रहेका अनुमान रहेकाे छ । परराष्ट्रले इरानमा रहेका नेपालीलाई आफ्ना पासपोर्ट, ट्राभल डकुमेन्ट, परिचयपत्रजस्ता महत्त्वपूर्ण कागजात सहजै भेटिने स्थानमा राख्न पनि आग्रह गरेको छ । आपत्कालीन उद्धार गर्नुपरेमा यस्ता कागजात आवश्यक पर्ने हुँदा सहजै भेटिने स्थानमा राख्न आग्रह गरिएको हो ।