ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालकाे भारतमाथि २–१ को जित

फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’काे दुई सुन्दर गोल

नेपालगाथा २०८२ कार्तिक १० गते सोमबार २१:४९:५१ मा प्रकाशित

 काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतलाई २–१ ले पराजित गरेकाे छ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले महत्वपूर्ण जित हात पारेको हाे।

भारतको शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालका लागि फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले दुई सुन्दर गोल गर्दै टिमलाई जित दिलाइन् ।

खेलको सुरुवातमै नेपालले आक्रमक खेल प्रदर्शन गरेको थियो । दोस्रो मिनेटमै सावित्राले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । पहिलो हाफमा नेपालले बलमा पकड कायम राखे पनि थप गोल गर्न सकेन ।

दोस्रो हाफमा नेपालले आक्रमणको धार निरन्तर बढाउँदै लग्यो । खेलको ६३औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् । उनले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल भारतीय गोलरक्षक पार गर्दै जाली चुमेको थियो ।

त्यसपछि भारतले खेलमा फर्कने प्रयास गर्‍यो । खेलको ८१औँ मिनेटमा करिश्मा पुरुषोतम् श्रीभोल्करले गोल गर्दै भारतका लागि अन्तर घटाइन् । तर बाँकी समयसम्म नेपालले अग्रता जोगाउँदै खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यस जितसँगै नेपालले प्रतियोगिताका दुई खेलबाट तीन अंक जोडेको छ । यद्यपि, इरानले लगातार दुई खेलमा जित निकाल्दै उपाधि उचालेको छ । इरानले यसअघि नेपाल र भारत दुबैलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top