होमपेज / खेलकुद
काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित निकालेको छ ।
आइतबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो । १६६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको गण्डकी प्रदेशले ३३.२ ओभरमा सबै विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो । गण्डकीका समिर कँडेलले ३९, कप्तान विपिन खत्रीले १९ र अर्जुन कुमालले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा पनि रन बनाउन सकेनन् ।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशान भारीले पाँच विकेट लिए । उनले ९ ओभरमा दुई मेडन ओभर बलिङ गर्दै १४ रन खर्चिएर पाँच विकेट लिए । त्यस्तै, कुशल मल्ल र शाहब आलमले समान २–२ विकेट लिए ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १६५ रन बनाएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले ५४, भीम शार्कीले ३९ र अनिल मण्डलले २६ रन बनाए । बलिङतर्फ गण्डकीका विपिन खत्रीले चार विकेट लिए ।
यो जितसँगै आर्मीको प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ । आर्मीले तीन खेलबाट चार अंक बनाएको छ । अब आर्मीले आफ्नो अन्तिम खेलमा जित निकाले सेमिफाइनलमा स्थान बनाउने छ । एपीएफले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।