ट्रेण्डिङ

होमपेज / खेलकुद

पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४–३ को अग्रता

नेपालगाथा २०७९ बैशाख १४ गते बुधबार १०:५०:४१ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस जाइन्ट म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिस क्लब रियल म्याड्रिडलाई ४–३ अन्तरले पराजित गरेको छ। मंगलबार राति भएको पहिलो लेगमा सिटीले रियलविरुद्ध रवाफिलो प्रदर्शन गरे पनि फराकिलो अग्रता बनाउन भने सकेन। घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, गाब्रियल जिसस, फिल फोडेन र बर्नार्डो सिल्भाले समान एक–एक गोल गरे। रियलका लागि भने करिम बेन्जिमाले दुई गोल गर्दा अर्को एक गोल भिनिसियस जुनियरको नाममा रह्यो। 

खेल अवधिभर रियल माथि दबाब राखेको सिटीले सुरुवातमै अग्रता बनायो। केभिन डी ब्रएनले दोस्रो मिनेटमै गोल गर्दै रियलविरुद्ध टिमलाई सानदार सुरुवात दिलाए। ११ औँ मिनेटमा जेससले अग्रता दोब्बर पार्दा सिटीको आक्रमण निकै धारिलो देखिएको थियो। तर पहिलो हाफमै खेलमा फर्किने क्रममा रियलले ३३ औँ मिनेटमा बेन्जिमाको गोलमार्फत खेललाई २–१ मा ल्यायो। पहिलो हाफमा १ गोलको अग्रता बनाएको सिटीले ५३ औँ मिनेटमा फोडेनको गोलमार्फत पुन खेल ३-१ को अवस्थामा पुर्या यो। तर ५५ औँ मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३-२ को स्थितिमा ल्याए। खेलको ७४ औँ मिनेटमा सिल्भाले गोल गर्दै पुन सिटीलाई ४-२ को अवस्थामा पुर्यााउँदा ८२ औँ मिनेटमा बेन्जिमाले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।

रियलविरुद्ध सिटीले खेल अवधिभर ८ भन्दा बढी गोलका सुन्दर मौका सिर्जना गरेको थियो। तर सफल भने हुन सकेन। उसका लागि रिहाद महारेजले गरेका केही उत्कृष्ट प्रहार असफल हुँदा फराकिलो अग्रताको मौकाबाट सिटी चुक्यो।  जितसँगै सिटीले फाइनल सम्भावनामा १ गोलको अग्रता बनाउँदै आफ्नो दाबेदारी केही बलियो बनाएको छ। दोस्रो लेग रियलको मैदान सान्टियागो बर्नेबेउमा हुने छ। जहाँ सिटीलाई बराबरी पर्याप्त हुँदा रियललाई जित्नुपर्ने दबाब छ। यी दुईबीचको दोस्रो लेग मे ५ मा हुने छ। एजेन्सी।

प्रतिक्रिया

सम्बन्धित खवर

Top