ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले युएईविरुद्ध बलिङ गर्दै

नेपालगाथा २०७८ चैत्र ४ गते शुक्रबार ११:३८:०५ मा प्रकाशित

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले युएईको सामना गर्दै छ । सारजाहमा युएईविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङमा पठाएको हो । युएईविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको स्थानमा कमल सिंह ऐरीले सुरुआती ११ मा खेल्ने मौका पाएका छन् । आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो ।

युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो । युएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपाल र युएई एक दिवसीय अन्तर्राष्ट्रियमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र युएई दुवैले २–२ पटक जित हात पारेका छन् । सन् २०१९ मा नेपालले युएईलाई पराजित गर्दै ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको थियो । तीन खेलको सिरिजमा पहिलो खेलमा पराजित भए पनि नेपालले बाँकी २ खेलमा कम ब्याक गर्दै ऐतिहासिक सिरिज जितेको थियो ।

विश्वकप समेत खेलिसकेको युएई पछिल्लो समय एसोसियट राष्ट्रको पावर हाउसको रूपमा स्थापित हुँदै छ । गत महिना ओमानमा भएको आइसिसी टी–ट्वान्टी विश्वकप छनोटमा समेत नेपालको लागि युएई तगारो बनेको थियो । त्यसैले नेपाल टी–ट्वान्टी विश्वकप छनोटको बदला युएईविरुद्ध उसैको घरमा लिने प्रयासमा रहने छ । तर, युएईलाई पराजित गर्नु नेपाललाई सहज भने हुने छैन । युएई पछिल्लो समय उत्कृष्ट लयमा छ । विपक्षी टोलीविरुद्ध उसका ब्याटरहरु खेलेर आक्रमण गर्दै आएका छन् ।

युएईले पछिल्लो समय बलिया एसोसियट राष्ट्र मात्र नभएर टेस्ट राष्ट्र आयरल्यान्डलाई समेत मात दिँदै आएको छ । यता नेपाल भने ब्याटिङमा सङ्घर्षरत छ । लिग टु मा कुल ७ टिम सहभागी रहेका छन् । नेपालले ९ खेलमा १० अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । युएई भने १५ खेलमा ८ जित निकाल्दै १८ अङ्कका साथ दोस्रो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top