होमपेज / खेलकुद
काठमाडौं । आइसिसी टि-२० विश्वकपअन्तर्गतको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्दैछ। समूहकै कमजोर प्रतिद्वन्द्वी मानिसएको फिलिपिन्सविरुद्व नेपाल फराकिलो जितसहित राम्रो रनरेट निकालेर सेमिफाइनल पुग्ने लक्ष्यमा हुने छ। नेपालले फिलिपिन्सलाई हराए र आज नै हुने अर्को खेलमा क्यानडाले ओमानलाई पराजित गरे नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्ने छ। तर‚ ओमानले क्यानडालाई हराएमा भने नेपालका लागि फिलिपिन्सविरुद्वको नेट रनरेट निक्कै अर्थपूर्ण हुने छ।
ओमानस्थित अल अमेरात क्रिकेट मैदानको टर्फ ‘बी’मा नेपालले पौने १२ बजे फिलिपिन्सको सामना गर्ने छ। क्यानडा र ओमानबीच पनि पौने १२ बजे अमेरात क्रिकेट मैदानकै टर्फ ‘ए’मा प्रतिस्पर्धा हुँदैछ। नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई पराजित गर्दै आत्मविश्वासी प्रदर्शन गरेको थियो। कम स्कोरको खेलमा पनि नेपालले ओमानलाई ३९ रनले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो।
नेपाल समूहमा दुई अंकका साथ दोस्रो स्थानमा छ। फिलिपिन्स भने पहिलो खेलमा क्यानडासँग ११८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। समान दुई अंक भए पनि क्यानडा नेट रनरेटमा राम्रो भएका कारण समूहको शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो। त्यस्तै‚ नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध २१ फेब्रुवरीमा खेल्ने तालिका रहेको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोली दुवै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनल खेलहरु फेब्रुवरी २२ तारिखमा हुनेछन्। फाइनल भने फेब्रुवरी २४ तारिखमा हुनेछ। फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आइसिसी पुरुष टि-२० विश्वकपको लागि छनोट हुने छन्।