होमपेज / खेलकुद
पर्वत । पोखरामा जारी आहा–रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपिएफ क्लबबीच भिडन्त हुँदैछ। सेमिफाइनलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए। यसअघि एपिएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। त्यो वर्ष विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
केही महिना पहिलेदेखि पोखरा रंगशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङले भने आहा–रारा गोल्डकपको सर्वाधिक विजेता हो। उसले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ सालमा उपाधि चुमेको थियो। बिसौं संस्करणसम्म आइपुग्दा मनाङले १२ पटकसम्म फाइनलको यात्रा तय गरेको छ भने एपिएफ १४ वर्षपछि फाइनलमा पुगेको छ। यस पटकको उपाधि जित्नका लागि दुवै टिमका लागिपरेका छन्।
आयोजक सहारा क्लबले राखेको प्रिम्याच कन्फरेन्समा एपिएफका प्रशिक्षक कुमार थापाले यस पटकको उपाधि आफूहरूले जित्ने दाबी गरेका छन्। मनाङको खेल राम्रो भएका कारण उपाधि रक्षाका लागि एपिएफले पनि सोहीअनुसारको सुधार ल्याएको र सोही रणनीतिले नै १४ वर्षपछि फाइनलमा पुगेको उनले बताए। मनाङका प्रशिक्षक फुजा तोपेले विगतका संस्करणको तुलनामा एपिएफले यस संस्करणमा निकै सुधार गरेका कारण आफूहरूले पनि सोहीअनुसारको तयारी गरेको बताएका छन्। पोखरा रंगशाला घरेलु मैदान समेत भएका कारण सातौं पटक आहा–रारा को ट्रफी उचाल्ने दाउमा रहेको उनको भनाइ छ।