होमपेज / खेलकुद
स्पेनिस लालिगा फुटबलमा रियल म्याड्रिडले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। बुधबार राति भएको खेलमा रियलको जितमा उत्कृष्ट फर्ममा रहेका करिम बेन्जामाले दुई गोल गर्दा रियल एथलेटिको बलिबाओमाथि २-१ ले पराजित गर्न सफल भयो। जितसँगै रियलले दोस्रो स्थानको सेभियासँग स्पष्ट ८ अंकको अग्रता बनायो। रियललाई सुरुवाती ७ मिनेटभित्र दुई गोल दिलाएका बेन्जमा नायक सावित भएका थिए। उनको यो जारी सिजनमा २३ खेलमा २० गोल हो। तर तीनमिनेट पछि घरेलु टोली खेलमा फर्कने प्रयास गरेको थियो।
बिलबाओले खेललाई २-१ को अवस्थामा ल्यायो, अर्थात् १० मिनेटभित्र तीन गोल भएको थियो। टोनी क्रुसको पासलाई चौथो मिनेटमै सदुपयोग गरेको रियलका लागि बेन्जमाले सातौँ मिनेटमा दोस्रो गोल गरे। बिलबाओका लागि सनसेटले डी मार्कोसको पाससलाई १०औँ मिनेटमा सदुपयोग गरेका थिए। दोस्रो हाफमा बिलबाओले बराबरीको राम्रो मौका पाएको थियो। निको विलियम्सले गरेको आकर्षक हेडलाई थिबाउट कोर्टोइसले सानदार बचाउ गर्दा सम्भावित बराबरीबाट बिलबाओ चुकेको थियो।बिलबाओको पोष्टमा पनि रियलले केहि अवसर पाएपनि गोल गर्न भने सकेन।
जितसँगै कार्लोस एनसेल्टोनीको रियल क्रिसमस अघि रवाफिलो पोजिसनमा देखिएको छ। रियलले दोस्रो स्थानको सेभियाभन्दा स्पष्ट रूपमा ८ अंकको अग्रता बनाएको छ। रियल सबै खाले प्रतियोगितामा गरेर २५ खेलमा केवल दुई खेलमा मात्रै पराजित भएको छ। पछिल्लोपटक ३ अक्टोबरमा स्पानियोलसँग पराजित भएयता रियल हारेको छैन। लालिगामा रियलको १९ खेलबाट ४६ अंक भएको छ भने दोस्रो स्थानको सेभियाले एक खेल कम खेल्दै ३८ अंक बनाएको छ। त्यस्तै, रियल बेटीस १८ खेलबाट ३३ अंक बनाउँदै तेस्रो स्थानमा रहँदा रायो भालकानो समान खेलबाट ३० अंकका साथ चौथो स्थानमा छ। एजेन्सी ।