होमपेज / खेलकुद
इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदार मानिएका शीर्ष स्थानका टोलीले जित निकाल्दै आफ्नो दबदबा काय राखेका छन्। शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले वलभेसलाई १-० ले पराजित गर्दे आफ्नो शीर्ष स्थान कायम राख्दा लिभरपुल र चेल्सीले उसलाई पछ्यारहेका छन्। त्यस्तै‚ लिभरपुलले शीर्ष स्थानको सिटीसँगको अंक दूरी १ अंकमा कायम राख्ने क्रममा एनफिल्डमा स्टेभन जेराडको एस्टन भिल्लालाई १-० ले नै पराजित गर्यो। लिभरपुलले दबाबमा राख्दै एकपछि अर्को आक्रमण गरे पनि गोलरक्षक एमी मार्टिनेजले एकपछि अर्को सेभ गरेका थिए। तर‚ ६७ औं मिनेटमा ट्रयने मिङ्सले मोहमद्ध सलाहलाई फल गरेपछि पाएको पेनल्टी भने उनले जोगाउन सकेनन्। सल्लाहले गोल गर्दै सिटीसँगको अंक दूरी १ अंकमा सीमित गर्न सफल भए।
त्यस्तै‚ अर्को दाबेदार इंग्लिस क्लब चेल्सीले पनि लिड्स युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्यो। शनिबार राति भएको खेलमा चेल्सीले २ वटा पेनाल्टी पाएपछि भाग्यमानी सावित भयो। चेल्सीले लिड्स युनाइटेडलाई ३-२ ले पराजित गर्दा दुई गोल पेनल्टीमा सम्भव बनाएको थियो। प्रतिस्पर्धात्मक खेलमा चेल्सीले अतिरिक्त समयमा गरेको गोल निर्णायक बन्यो। खेलमा लिड्सले राफिन्हाको गोलबाट २८ औं मिनेटमा अग्रता लिएको थियो।
तर‚ मोउन्टले ४२ औं मिनेटमा बराबरीमा ल्याए। ५८ औं मिनेटमा पाएको पेनाल्टीलाई जोर्गिन्होले गोल गर्दै चेल्सीले अग्रता दिलाए तर लिड्सले जेलहार्डको गोलबाट ८३ औं मिनेटमा पुनः बराबरी गरेपछि चेल्सी दबाबमा परेको थियो। तर अतिरिक्त समयको चौथो मिनेटमा पुनः पेनाल्टी पाएपछि चेल्सी जोगिएको थियो। चेल्सीका लागि जोर्गिन्होले नै पेनाल्टीमा दोस्रो गोल गरे। जितपछि १६ खेलबाट म्यानचेस्टर सिटी ३८ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेलबाट लिभरपुल ३७ र चेल्सी ३६ अंकका क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्। एजेन्सी ।