ट्रेण्डिङ

होमपेज / खेलकुद

घरेलु मैदानमा म्यानचेस्टर सिटी र टोटनह्याम विजयी

 इङ्ग्लिस प्रिमियर लिग

नेपालगाथा २०७८ मंसिर ६ गते सोमबार १३:०४:०३ मा प्रकाशित

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटनह्यामले आ-आफ्नो घरेलु मैदानमा भएको खेलमा जित निकालेका छन्। जितसँगै सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। टोटनह्यामले भने लगातार दुई हार पछि पहिलो जित निकाल्यो। आइतबार भएको खेलमा एभर्टनलाई ३-० ले पराजित गर्दै सिटीले शीर्षस्थानको चेल्सीसँगको अंक दुरी छोट्याएको छ। त्यस्तै आइतबारनै भएको अर्को खेलमा टोटनह्यम हट्सपरले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि २-१ को जित निकाल्दै लिगमा छैटौं जित निकाल्यो।

सिटीलाई घरेलु मैदान इतिहाद स्टेडियममा जित दिलाउन रहिम स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले गोल गरे। पहिलो हाफमा स्टर्लिङले तथा दोस्रो हाफमा रोड्री र बर्नाडो सिल्भाले गोल गरेका थिए। जितपछि दोस्रो स्थानमा उक्लिएको सिटीको १२ खेलबाट २६ अंक भएको छ। सिटी शीर्ष स्थानको चेल्सीभन्दा ३ अंकले पछि छ। तेस्रो स्थानको लिभरपुलको २५ अंक छ।

कोन्टेको पहिलो जित

एन्टोनियो कोन्टेको प्रशिकक्षणमा रहेको टोटनह्यमले लिड्स युनाइटेडमाथि २-१ को संघर्षपूर्ण जित निकाल्यो। आफ्नो घरेलु मैदानमा पुनरागमन जित निकालेको टोटनह्याम खेलको ४४ औं मिनेटमा ड्यानिएल जेम्सको गोलमा पछि परेको थियो। लिड्स पहिलो हाफमा १-० ले अग्रता बनाएको लिड्स दोस्रो हाफमा भने जोगिन सकेन। ५८ औं मिनेटमा पिएर एमिल होएबिएरले बराबरी गोल फर्काए। ६९ औं मिनेटमा सर्जियो रेगुइलोनले लन्डन टोलीलाई अग्रता दिलाए। एरिक डाएरको फ्रिकिक पोस्टमा लागेर फर्केपछि रिबाउन्डमा उनले गोल गरेका थिए।

जितसँगै एन्टोनियो कोन्टेले टोटनह्यामको जिम्मेवारी लिएपछि प्रिमियर लिगमा पहिलो जित दर्ता गरेका छन्। टोटनह्याम १२ खेलमा ६ जित, १ बराबरी र ५ हार सहित १९ अंकका साथ सातौं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top