ट्रेण्डिङ

होमपेज / खेलकुद

सुर्खेतमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने

नेपालगाथा २०७८ कार्तिक ३ गते बुधबार ११:२१:१६ मा प्रकाशित

सुर्खेत । काँक्रेबिहार युबा क्लब सुर्खेतले कात्तिक १० गतेदेखि सुर्खेतमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतियाेगितामा सुर्खेत जिल्लाका ९ वटै स्थानीय तहका टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । क्लबका अध्यक्ष चन्द्र प्रकाश शाहीले कर्णालीमा फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

‘सुर्खेत जिल्लाका खेलाडीलाई पहिलो प्राथमिकता दिन र क्षमता अभिबृद्वि गर्न मिनि गोल्डकपको रुपमा प्रतियोगिता सुरु गर्न लागेका हौं,’ उनले भने । कात्तिक १० देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि ७ गतेसम्म टिम दर्ताको समय तोकिएको छ । ६ वटा टोलीले सहभागिता निश्चित गरिसकेको अध्यक्ष शाहीले जानकारी दिए । टिम दर्ताका लागि १० हजार रुपैयाँ तोकिएको छ भने प्रतियोगिताभर खाने/बस्ने व्यवस्था टिम आफैंले गर्नुपर्नेछ । सोही व्यहोरासहितको पत्र सबै स्थानीय तहमा पठाइएको पत्रकार सम्मेलनमा शाहीले बताए ।

प्रतियोगिताका लागि ६ लाख खर्च लाग्ने अनुमान क्लबले गरेको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिकाको दुई वडा, नपरपालिका, कर्णाली खेलकुद परिषद, जिल्ला फुटबल र खेलकुद विकास समिति तथा सामाजिक विकास मन्त्रालयले सहयोगको आश्वासन दिएकाे आयाेजकले जनाएकाे छ । वीरेन्द्रनगर रंगशालामा आयोजना हुने प्रतियोगिता हेर्न आउने दर्शकले टिकट शुल्क बापत २० रुपैयाँ तिर्नुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top