होमपेज / खेलकुद
काठमाडौं । नेपाल र भारतबीच हुन लागेको मैत्रीपूर्ण फुटबल खेलमा दर्शकलाई पनि प्रवेश दिइने भएको छ । कोरोना महामारीका कारण यसअघि खेल दर्शकसहित हुने वा दर्शकरहित भन्ने टुंगो लागेको थिएन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेल दर्शकको उपस्थितिमै हुने जानकारी दिए । प्रतियोगिताअघि बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेपाल र भारतीय टोलीबीच यही भदौ १७ र २० गते दुईवटा मैत्रीपूर्ण फुटबल खेल हुँदै छ । उक्त खेलमा दर्शकलाई सःशुल्क प्रवेश दिइने भएको हो । टिकटको शुल्क भने निर्धारण गरिसकिएको छैन । अनलाइनमार्फत टिकट खरिद–बिक्रीको व्यवस्था मिलाइने अध्यक्ष शेर्पाले बताए ।
काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा कुल क्षमताको ३३ प्रतिशत सिट मात्र दर्शकका लागि छुट्ट्याइएको छ ।
रंगशालाभित्र प्रवेश गर्न कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको हुनुपर्ने उनले बताए । यस्तै, रंगशाला परिसरमै एन्टिजेन परीक्षण गरिने उनले जानकारी दिए ।