होमपेज / सहकारी
सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समीक्षा गोष्ठी वीरेन्द्रनगर–११ पिपिरा स्थित डि.एफ.सी. होटलमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममका प्रमुख अतिथि हरिहरनाथ योगीले सबैले मिलेर संस्थालाई कमजोर हुन नदिएकोमा खुशी व्यक्त गर्दै समयको मागअनुसार नीति, विधि र मापदण्डको प्रभावकारी पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संस्थालाई आफ्नो घर र सबैलाई परिवारको रूपमा लिँदै, सामूहिक प्रयासबाट अघि बढेमा संस्था अझ सशक्त र सफल हुने विश्वास व्यक्त गर्नुभयो। विगतका अनुभवबाट पाठ सिक्दै भविष्यमा थप सुदृढ रूपमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
.jpg)
दुई सत्रमा सञ्चालन गरिएको गोष्ठीकाे पहिलो सत्रमा सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगीले नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा सम्पन्न भएका र सम्पन्न हुन नसकेका कार्यक्रमहरू र त्यसका कारणहरू स्पष्ट पार्नुभएकाे थियाे। दोस्रो सत्रमा लेखा तथा प्रशासन विभाग प्रमुख बसन्तबहादुर बुढाले संस्थाको आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीमा सञ्चालक समिति सदस्यहरू, विभिन्न समिति तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरू, संस्थाका व्यवस्थापक, सह–व्यवस्थापक, लेखा तथा प्रशासन विभाग प्रमुख, सेवाकेन्द्र प्रमुखलगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुआतमा सहकारीका उपाध्यक्ष राधा कार्कीले स्वागत मन्तव्यमार्फत सबैलाई स्वागत गर्नुभएको थियो भने सहकारीका अध्यक्ष नवराज कंडेलले संस्थाको उन्नति र दिगो विकासका लागि सबैले आ–आफ्नो तहबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यक्रमको समापन गर्नुभएकाे थियाे ।