ट्रेण्डिङ

होमपेज / सहकारी

बैंक ग्यारेन्टीमार्फत एक करोड बुझाएर छुटे रवि लामिछाने

नेपालगाथा २०८१ माघ १३ गते आइतबार २२:१५:५३ मा प्रकाशित

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका छन् । उनले रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका हुन् । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको थियो। सोही अनुसार, उनी आइतबार बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भए ।

अदालतबाट निस्केसँगै उनका समर्थकले उनलाई स्वागत गरेका छन् । अदालतको गेटबाटै सबैले घेरेर निकालेका थिए । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

यसअघि, पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, उनकी श्रीमती निकिता पौडेललाई गरिएको भुक्तानी, झूठो विवरणद्वारा कम्पनी स्वामित्व हस्तान्तरण लगायतका आधारमा सरकारी वकिलले उनलाई ठगीमा संलग्न रहेको पुष्टि हुने अभियोग लगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top