होमपेज / सहकारी
सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था सुर्खेतले २६औं वार्षिक स्थापना दिवस तथा रजत जयन्ती दिवस सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सहकारीले २५ वर्ष पूरा भएको अवसरमा स्मारिका विमोचन समेत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले सहकारीको स्मारिका विमोचन गर्दै सहकारी राज्यका तीन खम्बे अर्थनीति मध्ये एउटा महत्वपूर्ण खम्बा भएकाले सोही अनुसार परिचालित हुन आग्रह गर्नुभयो ।
यसैगरी राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य हरिहरनाथ योगीले सहकारीले आफ्ना शेयर सदस्यहरुको समस्या समाधान गर्र्नका लागि सबै क्षेत्रमा सहयोग गर्दै आइरहेकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले सहकारी संस्थालाई यहाँसम्म ल्याउन आफूले देखेको सपना पूरा गर्नका लागि सम्पूर्णको साथ र सहयोग पाएको बताउनुभयो ।
संस्थाले स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रममा विभिन्न विधाका विजेताहरुलाई पुरस्कृत गरेको छ । जसमा सर्वाधिक मासिक बचतकर्ता, दैनिक बचतकर्ता, स्वेच्छिक बचतकर्ता, बाल बचतकर्ता, गृहणी बचत कर्ता, आवधिक बचत कर्ता, उत्कृष्ट ऋणी सदस्यलाई संस्थाले पुरस्कृत तथा सम्मान गरेको छ । यसैगरी संस्थाले व्यापार, सेवा व्यवसाय, कृषि, उत्कृष्ट शैक्षिक उपलब्धी प्राप्त गर्न सफल बाल बचतकर्ताहरु लगायत सप्ताहव्यापी प्रतियोगितात्मक कार्यक्रममा विभिन्न स्थान हासिल गर्ने प्रतियोगिहरुलाई पुरस्कृत गरेको छ ।
जनहितकारी संस्थालाई स्थापनाकालदेखि हालको अवस्थासम्म ल्याउन प्रत्यक्ष योगदान गर्दै संस्थाको अभिभावकत्व ग्रहण गरिरहनु भएका संरक्षक सल्लाहकार समितिका संयोजक हरिहरनाथ योगी र संस्थामा उत्कृष्ट काम गरे वापत कर्मचारी सुरज चपाईलाई संस्थाले सम्मान गरेको छ ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय संघ लि. का केन्द्रीय सञ्चालक सदस्य वीरबहादुर रावत भोटे, जिल्ला सहकारी संघका अध्यक्ष अमृत बि.सी, वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष शेरबहादुर के.सी., जिल्ला बचत संघका भक्तिप्रसाद सापकोटा, जनहितकारी साकोसका अध्यक्ष नवराज कंडेल, लेखा सुपरिवेक्षण समितिका संयोजक हिरालाल सुनार, राष्ट्रिय सहकारी बैंकका प्रमुख सागरनाथ योगी, नेफ्स्कुन फिल्ड कार्यालय प्रमुख मदन चन्द लगायतको उपस्थित रहेको थियो ।
स्थापना दिवस मूल समारोह समिति सभापति तीर्थराज गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव यामराज गिरीले गर्नुभएको थियो ।