होमपेज / सहकारी
सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. सुर्खेतले आफ्नो २६औं स्थापना दिवस तथा रजत जयन्ती वर्षको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौ कार्यक्रम संस्थाको युवा परिचालन उपसमितिको आयोजनामा लागूऔषध दूर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका ४ नंं. वडा अध्यक्ष शेरबहादुर के.सी.ले पानसमा दीप प्रज्ववलन गरेर कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दूर्व्यसनीको संख्या वृद्धि भएको कुरामा दुःख व्यक्त गर्दै स्थानीय प्रशासनले थप निगरानीका साथ जनचेतना जगाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनहितकारी साकोसले यस विषयमा सान्दर्भिक कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै वडाका तर्फबाट पालिकामा गर्नुपर्ने सबै भूमिका आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
जनहितकारी साकोसका अध्यक्ष नवराज कँडेलले आँखै अगाडि खुलेआम युवा दूर्व्यसनीका घटनाहरु देखिने गरेकोमा यसलाई समयमा नै नियन्त्रणमा लिनका लागि वेवास्ता गर्दा समाजिक अपराधका घटना हुन सक्नेमा सबैजना सचेत हुनुपर्ने बताउनुभयो । साथै उहाँले समयमै त्यस्ता युवाहरुलाई नियन्त्रणमा लिएर यस्ता घटनाहरु न्यूनीकरणका लागि प्रहरी प्रशासन सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी भैरव युवा क्लवका अध्यक्ष प्रविण पन्तले युवाहरुमा हुने यस्ता दूर्व्यसनी र त्यसबाट समाजमा घट्ने अपराधिक क्रियाकलापको न्यूनीकरण गर्न भैरव युवा क्लवले महन्त्वपूर्ण कार्यहरु गरिरहेको र स्थानीयस्तरमा थप सहयोग आवश्यक परेमा निःशुल्क सेवाहरु समेत उपलब्ध गराइरहेको जानकारी दिनुभयोे ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक विनोद कार्की र प्रहरी सहायक सर्जन श्रीसले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा वीरेन्द्रनगरका ४ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहको थियो । उक्त कार्यक्रममा भैरव युवा क्लवबाट सक्रिय सहभागी भएका ८५ जनाले अपराधको जननी लागूऔषध भएकाले तीन वटा ‘न’ अर्थात् नलाग्ने, नजाने र नखाने तथा आफू र आफ्नो परिवार तथा समाजमा लागूऔषध विरुद्धको अभियानमा लाग्ने प्रतिवद्धता समेत जनाएको कार्यक्रमका फोकल पर्सन भोजप्रसाद आर्चायले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक हिमलाल गौतम, सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगी, व्यवसाय विभाग प्रमुख प्रेम आचार्य, सेवाकेन्द्र प्रमुख भोजप्रसाद आचार्य, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि र विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।