होमपेज / सहकारी
सुर्खेत । मंसिर २१ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा मानवसेवा आश्रमलाई गणेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड परिवारले एक कोठ निर्माण सहयोगार्थ ६ लाख ५१ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएको रकम गणेशजल सहकारी संस्था, संचालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी, शेयरसदस्य र कर्मचारीहरु आफूले जम्मा गरेको रकम र संस्थाले संयुक्त रुपमा जम्मा गरेको रकम सहकारीका अध्यक्ष प्रेम कुमार बिसी, प्रमुख अधिकृत रंगा बहादुर सिंह र कर्मचारीहरुको उपस्थितिमा मानवसेवा आश्रमलाई हस्तान्तरण गरिएको हो ।
मानवसेवा आश्रम सुर्खेत शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ – २०८१ मा सहयोगी दाताहरुले दिल खोलेर सहयोग गरेको आयोजकले बताएको छ ।
पश्चिम नेपालमा पहिलो पटक एटिएम सेवा सञ्चालन गरेर सहकारीलाई प्रविधिमय बनाएकाे गणेशजलले सदस्य स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेर निजी र सरकारी अस्पतालका साथै छिमेकी मुलुक भारतमा समेत उपचार सुरु गर्ने सहकारीका रुपमा परिचित छ ।
याे सहकारी फोन पे सेवा शुरु गर्ने अग्रणी सहकारी हुनुका साथै सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने अग्रणी सहकारीका रुपमा आफ्नाे पहिचान बनाएकाे छ ।