ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारीको समीक्षा गोष्ठी सम्पन्न 

नेपालगाथा २०८१ कार्तिक १० गते शनिबार २२:२५:५३ मा प्रकाशित

सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २६औँ साधारण सभाको समीक्षा बैठक शनिबार केन्द्रीय कार्यालयकाे सभाहलमा सम्पन्न भएको छ । 

समीक्षा बैठकलाई सम्वोधन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जनहितकारी साकोसका संरक्षक सल्लाहकार हरिहरनाथ योगीले सहकारीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्रै साधारणसभा सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले साधारणसभामा साना तिना कमिकमजोरी हुने भए पनि खासगरी सञ्चालक समितिले योजना बनाउँदा तत्कालै प्रभाव पर्नसक्ने र दीर्घकालीन रुपमा प्रभाव पार्न सक्ने कुरालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सल्लाहकार योगीले सहकारीमा धेरै शेयर सदस्य भएका कारण सबैलाई एकै थलोमा जम्मा गरेर भन्दा पनि साना साना एकाइबाट सदस्यहरुको सल्लाह सुझावलाई ल्याउने गरी नयाँ रणनीतिका साथ साधारणसभा गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव समेत दिनुभयो । 

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक हिरालाल सुनारले जनहितकारी सहकारीको पहिचान राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत भएकाले सञ्चालक समितिले सानोतिनो कमजोरी भनेर हेलचेक्याई नगर्न आग्रह गर्नुभयो । साथै उहाँले २५ वर्ष लगाएर कठिन मिहिनेतका साथ बनेको संस्थाको छबि बिग्रन समय नलाग्ने भन्दै संवेदनशील र दीर्घकालीन सोचका साथ संस्थाका गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

जनहितकारी साकोसका अध्यक्ष नवराज कंडेलले ठूलो संस्थामा काम गर्दा सामान्य कमिकमजोरी भए तापनि समग्रमा २६औं साधारणसभा उल्लासमय तरिकाबाट सम्पन्न भएकोमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । साथै अध्यक्ष कंडेलले समीक्षा गोष्ठीबाट प्राप्त सुझावहरूलाई आगामी साधारणसभामा यथोचित सम्बोधन गर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो ।

सहकारी संस्थाका सचिव यामराज गिरीले सञ्चालन गर्नुभएको समीक्षा बैठकमा सञ्चालक समितिका सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरू र सम्पूर्ण कर्मचारीहरूले आ–आफ्ना भनाई राखेका थिए । सहभागी सम्पूर्णले सहकारीलाई आगामी दिनमा थप प्रभावकारी ढंगले अगाडि बढाउन हातेमाले गरेर अघि बढ्ने बताएका थिए ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top