होमपेज / सहकारी
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कृषि पेशालाई व्यवसायीकरण गर्ने हो भने एक गाउँ एक उत्पादनका साथै बेमौसमी उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मंगलबार लेकबेसी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि. को २१औं साधारणसभालाई सम्वोधन गर्ने क्रममा मुख्यमन्त्री कँडेलले अब गुजारामुखी कृषि नभएर व्यवसायिक कृषिका लागि ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने बताउनुभएको हो ।
प्रदेश सरकार लगानीका लागि वातावरण बनाउन लागिरहेको बताउँदै मुख्यमन्त्री कँडेलले विदेशबाट सिकेर वा दुःख पाएर फर्किएपछि उद्यममा लाग्नुभन्दा देशमै उद्यममा लाग्न पढेलेखेका युवालाई आग्रह गर्नुभयो ।
साना किसान कृषि सहकारी संस्थाले जनताको जीवनस्तर बदल्नका लागि व्यबसायिक कृषि र उद्यममा आफ्ना सदस्यहरुलाई लगाइरहेकोप्रति प्रशंसा गर्दै मुुख्यमन्त्री कँडेलले सबै सहकारीले यसरी नै कृषि र उद्यममा लगानी गर्ने हो भने अपेक्षित समयमा नै समाज रुपान्तरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताउनुभयो ।
हाल यस सहकारीले एक हजार २ सय ५६ महिला र ६ सय ५८ पुरुष गरी कुल एक हजार ९ सय १४ जना शेयर सदस्यहरुमा लगानी गरिरहेको छ । यस सहकारी संस्थाले कृषि, पशुपालन तथा साना घरेलु सेवा व्यवसायमा आधारित रहेर कमजोर आर्थिक अवस्थामा जीवनयापन गरिरहेका किसानहरुलाई लक्षित गरेर लगानी गरिरहेको छ ।
कपडा उद्योग, साबुन उद्योग, बीऊ - बेर्ना उत्पादन, आर्गानिक र गड्यौला मल उत्पादन, आर्गानिक तरकारी उत्पादन, च्याउ खेती, दूध उत्पादनमा लगानी र सिपमुलक तालिममा विशेष लगानी गरेको सहकारी संस्थाका अध्यक्ष यामप्रसाद आचार्यले जानकारी दिनुभयो । किसानलाई लक्षित गरेर सहकारीले ९ प्रतिशत ब्याजदरमा २९ करोड २५ लाख ६७ हजार ३ सय ३१ रुपैयाँ ४६पैसा वार्षिक कारोबार गरिरहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
साधारणसभामा लेकबेसी नगरपालिका प्रमुख, उपप्रमुख, लघुवित्त विकास बैंक केन्द्रीय कार्यालयका नायव कार्यकारी प्रमुखलगायतका व्यक्तित्वहरुले सहकारीले प्रशंसनीय कार्य गरेको बताएका थिए ।