ट्रेण्डिङ

होमपेज / सहकारी

सरकारले सहकारी ऐन र नियमावली जारी गर्ने बाहेक अरु केही गरेन – सदस्य योगी

जनहितकारी साकोसको २६औं साधारणसभा

नेपालगाथा २०८१ आश्विन १७ गते बिहीबार २०:३२:४० मा प्रकाशित

सुर्खेत । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले संविधानले नै आर्थिक क्षेत्रका तीनवटा क्षेत्र मध्ये एउटा महत्वपूर्ण क्षेत्र भनेर सहकारीलाई घोषणा गरेको भए पनि सहकारी ऐन र नियमावली जारी गर्ने बाहेक प्रवद्र्धनका लागि अरु केही गर्न नसकेको बताउनुभयो । जनहितकारी वचत तथा ऋण सहकारी संस्था सुर्खेतको २६औं वार्षिक साधारणसभालाई बिहीबार सम्वाधन गर्दै सदस्य योगीले यस्तो बताउनुभएको हो । सहकारीलाई ठीकढंगले अगाडि बढाउने खालका काम सरकारले गरेको भए अहिले सहकारीमा देखापरेको उतारचढाव हनु नसक्ने बताउँदै योगीले सहकारीले मूल्य, मान्यता र वित्तिय अनुशासनलाई अवलम्बन भएर सञ्चालन भएका सहकारीमा कुनै समस्या नभएको जानकारी दिनुभयो । 

सहकारीलाई अझै सवल, सक्षम र बलियो बनाएर अघि बढाउनका लागि शेयर सदस्यहरुले सहयोग गर्नुपर्नेमा जोड दिँदै सदस्य योगीले सबै शेयर सदस्यहरुले आफू सदस्य भएको संस्था बिग्रियो कि भनेर सधैं चासो दिनुपर्ने बताउनुभयो । 

कर्णाली प्रदेश सभाका पूर्व सदस्यद्वय राजु नेपाली र पद्मा खड्काले सहकारीलाई नजिकबाट चिनेर लगानी गर्ने हो भने सहकारीले कसैलाई पनि ठग्न नसक्ने बताउनुभयो । यसैगरी वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले सहकारीका सिद्धान्तलाई राम्ररी बुझेर मात्र सहकारीमा लगानी गर्न सबैलाई आह्वान गर्नुभयो । 

यसैगरी सहकारी साकोसका अध्यक्ष नवराज कंडेलले आव २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८१/८२ का लागि प्रस्तावित कार्यक्रमका बारेमा जानरकारी दिँदै सहकारीले प्रविधिमैत्री सेवा विस्तारका साथै सदस्य सेवा, सहयोग र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।  

यसैगरी जनहितकारी साकोसका कोषाध्यक्ष सञ्जय योगीले आव २०८०/८१ को वित्तीय विवरण तथा आव २०८१/८२ को प्रस्तावित वार्षिक बजेट सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

कोषाध्यक्ष योगीले २६ वर्ष अघि स्थापना भएको जनहितकारी सहकारीले करिब ९५ करोड ६४ लाख ६७ हजार २७ रुपैयाँ ७२ पैसा कुल पूँजी बनाउन सफल भएको जानकारी दिनुभयो ।  यसैगरी संस्थाले आव २०८०/८१ को अन्त्यसम्म ७ करोड ८७ लाख ६९ हजार ४ सय रुपैयाँ शेयर पूँजी र संस्थाको कुल कोष हिसाब रु ५ करोड ६९ लाख ३३ हजार ९ सय ३२ रुपैयाँ २१ पैसा रहेको कोषाध्यक्ष योगीले जानकारी दिनुभयो ।

यसैगरी सहकारी संस्थाको जगडा कोषमा रु ५ करोड २४ लाख ३ सय ६६ रुपैयाँ ३६ पैसा रहनुका साथै अन्य कोषमा रु ४५ लाख ३३ हजार ५ सय ६५ रुपैयाँ ८५ पैसा रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top