होमपेज / सहकारी
सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले विदेशबाट आयातित गरेको सामग्री नभई कर्णाली प्रदेशमा नै उत्पादन भएको सामग्री उपभोग गर्नुपर्ने बताउनुभएको छ ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा अन्तर्गत एकाइ तीनको साधारण सभालाई सम्वोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
विदेशबाट आयातित भएको सामग्री दिगो पनि नहुने र त्यसले आर्थिक समृद्धि पनि नल्याउने भन्दै सचिव घिमिरेले कर्णाली प्रदेशको नाकामा कति सामग्री कर्णाली प्रदेशमा आयातित र निर्यात हुन्छ भन्नेबारेमा छिटैनै कडाइका साथ चेकजाँच हुने बताउनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले विदेशबाट आयातित सामग्रीसँग कर्णालका किसानले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै कर्णाली सरकारले विदेशबाट आयात हुने सामग्रीलाई बन्देज गर्न आग्रह गर्नुभयो । जनहितकारी सहकारीले आफैं उत्पादन गरेर जनहितकारीको उत्पादन बजारमा ल्याउन आग्रह गर्दै अध्यक्ष बिसीले बालक, युवा र वृद्ध सबैले बचत गर्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो ।

जनहितकारी सहकारीको नेतृत्वले जनहितकारी सहकारीको नाम जिल्ला, प्रदेश र देशमा नै उच्च हुने गरी काम गरेकोमा आभार व्यक्त गर्दै वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर देवकुमार सुवेदीले बजेट, नीति र कार्यक्रममा उल्लेख भए अनुसारको कार्यक्रमहरु आगामी दिनमा पनि कार्यान्वयन भएको हेर्ने आशा राख्नुभएको छ ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिहरनाथ योगीले प्रगति प्रतिवदेन प्रस्तुत गर्दै विभिन्न १४ वटा क्षेत्रहरुमा सहकारीले लगानी गरिरहेको जानकारी दिनुभयो । साना आकारका ऋणहरुमा लगानीको प्राथमिकता भएको बताउँदै अध्यक्ष योगीले सदस्यहरुको चाहनालाई मध्यनजर गर्दै सहकारीले विभिन्न ५ वटा क्षेत्रमा साधारण सभालाई विभाजन गरेको बताउनुभयो ।
कोषाध्यक्ष नवराज कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको विश्वासका कारण सहकारीले हालसम्म ९० करोड ७ लाख ५१ हजार ३ सय २१ रुपैयाँ बराबरको संस्थाको कुल सम्पत्ति आर्जन गरेको जानकारी दिनुभयो ।
संस्थाको बित्तीय अवस्था (आव २०७९/८०)
शेयर पूँजी ः रु. ७,३५,२३,०००।००
जगेडा कोष ः रु. ४,८३,५६,१४६।००
कुल सम्पत्ति ः रु. ९०,७०,५१,३२१।००
ऋण लगानी ः रु. ६७,७०,८६,०७५।००
कुल बचत ः रु. ६५,१२,८५,२१४।००
जग्गा ः रु. १,१०,१३,२३५।०० (क्षेत्रफल ः ० – ८ – ०)
भवन ः रु. १,११,७९,०१५।०० (९६१.६४ वर्ग फिटको ३ तलाको पक्की भवन)

एकाइ नं. ३ अन्तर्गत हरिडिल भूमि माध्यमिक विद्यालय वीरेन्द्रनगर–३ मा सम्पन्न भएको साधारण सभामा वीरेन्द्रनगर नगरपालिकाका वडा नंं. ३ मा रहेका सहकारीका सदस्यहरु भेला भएका थिए ।
जनहितकारी सहकारीका सञ्चालक समिति सदस्य राधा कार्कीले साधारण सभाका प्रमुख अतिथि, अतिथि र उपस्थित सम्पूर्ण शेयर सदस्यहरुलाई स्वागत भाषण मार्फत स्वागत गर्नुभएको थियो ।