ट्रेण्डिङ

होमपेज / सहकारी

सहकारीको लगानीले सरकारलाई सहज भएको छ – मन्त्री शर्मा

२५औं वार्षिक साधारण सभा - एकाइ दुई

नेपालगाथा २०८० कार्तिक १४ गते मंगलबार १६:०६:४३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले सहकारीले सानो सानो लगानी किसानहरु समक्ष पुर्याएका कारण सरकारलाई सहज वातावरण बनेको बताउनुभएको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा अन्तर्गत एकाइ दुईको साधारण सभालाई उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । 

जनहितकारी सहकारीले आर्थिक संकटको अवस्थामा पनि लगानी गरेको रकम करिब शतप्रतिशत असुल गर्न सफल भएकोमा धन्यवाद दिँदै मन्त्री शर्माले सहकारीले ठूला व्यवसायिहरुलाई ठूलो लगानी गर्नुको साटो सानो सानो लगानी किसानहरुलाई लगानी गरेकाले ऋण असुली गर्न सहज भएकाे आफूले थाहा पाएकाे बताउनुभयो । 

प्रदेश मन्त्रालयले सहकारी सम्बन्धी ऐन र नियमावली बनाइसकेको बताउँदै मन्त्री शर्माले प्राविधिक र कानूनी हिसाबले पालिकास्तरमा मात्र सीमित भएका सहकारीमा लगानी गर्न नसकेको बताउनुभयो । किसानको मिहिनेत खेर नजाओस् भन्नका लागि प्रदेश सरकारले किसानको न्यूनतम लगानी किसान कै खातामा जाने गरी प्रदेश सरकारले व्यवस्था गरिरहेको बताउँदै मन्त्री शर्माले सहकारीको आर्थिक अवस्थाका साथै शेयर लगानीकर्ताहरुको समेत आर्थिक अवस्थामा सुधार हुने गरी सहकारीलाई काम गर्न निर्देशन दिनुभयो । 

कर्णाली प्रदेश सभाका पूर्व सदस्य पद्मा खड्काले सहकारीले गाउँ गाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै जनहितकारी सहकारीले पुरुषको तुलनामा महिलालाई लाभान्वित गर्न सकेको बताउनुभयो । धेरै सहकारी खोल्नु भन्दा साना साना सहकारीलाई मर्ज गरेर जनहितकारी सहकारीले सेवा सुविधा विस्तार गर्न पनि सदस्य खड्काले सुझाव दिनुभयो । 

यसैगरी वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले जनहितकारी सहकारीले सबै वडामा उत्तिकै प्राथमिकताका साथ आफ्ना गतिविधिहरु बढाउँदै लगेकोमा खुशी व्यक्त गर्नुभयो । अध्यक्ष देवकोटाले सहकारीसँग वडा कार्यालय समन्वय र सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो । 

साधारण सभामा जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिहरनाथ योगीले प्रगति प्रतिवदेन प्रस्तुत गर्दै कर्णाली प्रदेश जस्तो अल्पविकसित प्रदेशमा सहकारीका गतिविधिमार्फत जनताको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण खम्बा भएको बताउनुभयो । 
अध्यक्ष योगीले कृषि व्यवसाय, व्यापार लगायत विभिन्न १४ वटा क्षेत्रहरुमा सहकारीले लगानी गरिरहेको बताउँदै साना आकारका ऋणहरुमा लगानीको प्राथमिकता भएको जानकारी दिनुभयो । साथै उहाँले सदस्यहरुको चाहनालाई मध्यनजर गर्दै सहकारीले विभिन्न ५ वटा क्षेत्रमा साधारण सभालाई विभाजन गरेको समेत जानकारी दिनुभयो । 

कोषाध्यक्ष नवराज कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको विश्वासका कारण सहकारीले हालसम्म ९० करोड ७ लाख ५१ हजार ३ सय २१ रुपैयाँ बराबरको संस्थाको कुल सम्पत्ति आर्जन गरेको जानकारी दिनुभयो । साथै उहाँले सदस्यहको हितलाई ध्यानमा राखेर संस्थाको आर्थिक अवस्थालाई मजबुत पार्दै नीति नियमलाई समय अुनसार परिमार्जन गर्दै शेयर सदस्यहरुको सेवा सुविधामा थप विस्तार गर्ने प्रतिवद्धता जनाउनुभयो । 

एकाइ नं. २ अन्तर्गत होटेल सुर्खेत भ्यू प्रा.लि. वीरेन्द्रनगर ११ पिपिरामा सम्पन्न भएको साधारण सभामा वीरेन्द्रनगर नगरपालिकाका वडा नंं. १०, ११, १२, १३, १५ र १६ नम्बर वडामा रहेका सहकारीका सदस्यहरु भेला भएका थिए । 

जनहितकारी सहकारीका सञ्चालक समिति सदस्य राधा कार्कीले साधारण सभाका प्रमुख अतिथि, अतिथि र उपस्थित सम्पूर्ण शेयर सदस्यहरुलाई स्वागत भाषण मार्फत स्वागत गर्नुभएको थियो भने लोकप्रसाद ढकालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top