होमपेज / सहकारी
सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा अन्तर्गत एकाइ एकको साधारण सभा आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको साधारण सभामा वीरेन्द्रनगर नगरपालिकाका वडा नंं. ५, ६, ७, ८ र ९ नम्बर वडामा रहनुभएका सहकारीका सदस्यहरु भेला भएका थिए ।
साधारण सभाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) ले राम्रो सहकारी बन्न सञ्चालक समितिले मात्र नभइ शेयर सदस्यले पनि मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो । शेयर सदस्यहरुले पनि सहकारी प्रतिको आफ्नो दायित्व र जिम्मेवारीलाई सधै अपनत्व गर्नुपर्ने बताउदै प्रमुख अतिथि ढकालले शेयर सदस्यहरुले नजिकै रहेका प्रदेश मन्त्रालयमा समेत पुगेर कृषि र सहकारीका क्षेत्रमा गर्न सकिने सुविधाका बारेमा जानकारी राख्नुपर्ने बताउनुभयो ।

जनहितकारी सहकारीले यसपटक गर्नलागेको क्षेत्रगत अनुसारको साधारणसभाको उच्च प्रशंशा गर्दै नगर प्रमुख ढकालले शेयर सदस्यहरुले आफूलाई लागेको कुरा राख्नपाउने उपयुक्त माध्यम साधारण सभा भएकाले सबैजना यसका बारेमा सचेत र जानकार हुनुपर्ने बताउनुभयो ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिहरनाथ योगीले प्रगति प्रतिवदेन प्रस्तुत गर्दै २६ जनाको उपस्थिति र २५ हजारको पूँजीबाट शुरु भएको जनहितकारी सहकारीमा हाल ९ हजार ८ सय ७६ सदस्य र कुल शेयर पूँजी ७ करोड ३५ लाख २३ हजार पुगेको जानकारी दिनुभयो । यसैगरी संस्थाले हाल मुख्य सेवा केन्द्रसहित वीरेन्द्रचौक, पिपिराचौक र कालुञ्चौकबाट सेवाकेन्द्र सञ्चालन भइरहकोमा अब छिट्टै नै एयरपोर्टचौकबाट पनि सेवाकेन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो ।
.jpg)
अध्यक्ष योगीले कर्णाली प्रदेश जस्तो पछ्यौटेपन, सामाजिक विकृति, विसंगती भएको प्रदेशमा सहकारी एक महत्वपूर्ण खम्बा भएको बताउनुभयो ।
कोषाध्यक्ष नवराज कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको विश्वासका कारण करिब ९० करोड बराबरको कारोबार गरिरहेको जानकारी दिनुभयो । साथै उहाँले सदस्यहको हितलाई ध्यानमा राखेर संस्थाको आर्थिक अवस्थालाई मजबुत पार्दै नीति नियमलाई समय अुनसार परिमार्जन गर्दै शेयर सदस्यहरुको सेवा सुविधामा थप विस्तार गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कोषाध्यक्ष कंडेलले संस्थाको कुल कोष हिसाबमा ५ करोड ९६ लाख ५९ हजार १ सय ६३ रुपैयाँ रहेको जानकारी दिनुभयो । जसमध्ये जगेडा कोषमा ४ करोड ८३ लाख ५६ हजार १ सय ४६ रुपैयाँ रहेको र अन्य कोषहरुमा १ करोड १३ लाख ३ हजार १७ रुपैयाँ रहेको जानकारी दिनुभयो ।
यसैगरी कोषाध्यक्ष कंडेलले हालसम्म ९० करोड ७ लाख ५१ हजार ३ सय २१ रुपैयाँ बराबरको संस्थाको कुल सम्पत्ति रहेको समेत जानकारी दिनुभयो ।

यसैगरी जिल्ला समन्वय समिति सुर्खेतका सदस्य डिल्लीप्रसाद पाण्डेले सहकारी संस्थाको प्रगति र आर्थिक प्रतिवेदन अध्ययन गर्दा जस्तो सुकै कठिन अवस्थामा पनि सहकारी सहज तरिकाबाट अघि बढिरहेको बताउँदै कृषि क्षेत्रमा पनि लगानी गर्न सुझाव दिनुभयो ।
कर्णाली प्रदेश सभाका पूर्व सदस्य राजु गुइँदेलले सबै सहकारी राम्रो र नराम्रो हुने भएकाले जनहितकारीका गतिविधिका कारण सबै शेयर सदस्यहरुका सामूमा जनहितकारी सहकारी राम्रो भएको बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जन रावलले जनहितकारी सहकारीले अहिलेसम्म गरेका गतिविधिहरु अध्ययन गर्दा सहकारीले कर्णाली प्रदेशमा नै उत्कृष्ट कार्य गरेको बताउनुभयो । यसैगरी वीरेन्द्रनगर नगरपालिका सहकारी शाखाका प्रमुख दीपेन सुवेदीले सहकारीले फरक फरक स्थानमा साधारण सभा गरेर नयाँ अभ्यासको थालनी गरेको बताउनुभयो । साथै उहाँले सहकारीले गरेका हरेक गतिविधिमा नगरपालिकाको सधै साथ र समर्थन रहेको जानकारी दिनुभयो ।
जनहितकारी सहकारीका सञ्चालक समिति सदस्य रञ्जिता भारतीले साधारण सभाका अतिथि र उपस्थित शेयर सदस्यहरुलाई स्वागत भाषण मार्फत स्वागत गर्नुभएको थियो भने हरिहर बस्नेतले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।