ट्रेण्डिङ

होमपेज / सहकारी

गणेशजल सहकारीको शुभकामना आदानप्रदान

नव वर्ष २०८०

नेपालगाथा २०८० बैशाख १ गते शुक्रबार २२:५५:२७ मा प्रकाशित

सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले नव वर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । सहकारीका सञ्चालक समितिका सदस्य, कर्मचारी र शेयर सदस्यहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले शेयर सदस्यहरुको वास्तविक समस्यालाई बुझेर उक्त समस्या समाधान गर्न विज्ञको परामर्श लिएर अघि बढ्नुपर्ने बताउनुभयो । शेयर सदस्यहरुको योग्यता, सीप र क्षमताका आधारमा लगानी गर्न निर्देशन दिनुहुँदै अध्यक्ष बिसीले फरक र सफल सहकारी बनाउनका लागि हरेक शेयर सदस्यहरुलाई स्वरोजगारसँग जोड्नुपर्ने बताउनुभयो । देशमा देखा परेको आर्थिक संकटलाई स्थायी रुपमा समाधान गर्नका लागि सहकारीले आत्मनिर्भर हुने खालका कार्यक्रमलाई जोड दिनुपर्ने बताउँदै अध्यक्ष बिसीले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । 


कार्यक्रमका विशेष अतिथि सुपथ पोलिक्लिनिक एण्ड डाइग्नोसिस प्रालि तथा सुपथ मेडिकलका प्रोप्राइटर प्रेमबहादुर भण्डारीले स्थानीयस्तरमा उत्पादन हुनसक्ने वस्तुलाई समेत हामीले आयात गरिरहेका छौं । त्यसलाई रोकेर स्थानीय स्तरमा नै उत्पादन हुनसक्ने सामग्रीलाई उत्पादन गर्नेतर्फ सहकारीले पहल गर्नुपर्ने बताउनुभयो । 

मध्यपश्चिम विश्वविद्यालय पत्रकारिता र आमसञ्चार विभागका उपप्राध्यापक तथा नेपालगाथा अनलाइन पत्रिकाका सम्पादक त्रिभुवन बिसीले सयौं सहकारीहको माझमा गणेशजल सहकारी फरक पहिचान र सफल हुनका लागि बोलिचाली र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । उहाँले धन्यवाद र नमस्कारले मात्रै पनि सहकारीको पहिचानमा फरक पार्ने भएकाले यसलाई सहकारीले अभियानकै रुपमा लागू गर्नुपर्ने बताउनुभयो । 

सुर्खेत आइटी सेन्टरका प्रोप्राइटर पूर्णदेव अधिकारीले गणेशजल सहकारीले प्रविधिलाई प्रयोगमा ल्याएर फरक पहिचान बनाएकोमा उच्च प्रशंसा गर्दै अब प्रविधिलाई उत्पादनसँग जोड्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । यसैगरी गंगामाला क्याफे तथा गंगामाला पाउरोटी उद्योगका सञ्चालक बिपिन ठाकुर भुमिहारले सहकारीलाई संस्थागत र दीगो बनाउनका लागि हरेक व्यक्तिका व्यवहार परिवर्तन आवश्यक भएको बताउनुभयो । 

गणेशजल सहकारीका अध्यक्ष प्रेमकुमार बिसीले सहकारीलाई शेयर सदस्यहरु माझ लोकप्रिय बनाउनका लागि फरक र प्रभावकारी ढंगबाट निरन्तर कार्यक्रम अघि बढाउने बताउनुभयो । बचतकर्ताको शेयर सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष बिसीले सकारात्मक सोचका साथ सहकारीका गतिविधिहरु शेयर सदस्यहरुमाझ लैजाने बताउनुभयो । गणेशजल सहकारीले निकट भविष्यमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने योजना बनाएको बताउँदै अध्यक्ष बिसीले बहुउद्देश्यीय सहकारीले बचत तथा ऋण मात्र नभएर अन्य क्षेत्रमा पनि लगानी गर्नुपर्ने सहकारी ऐन अनुसार नै यस्तो योजना ल्याउन लागिएको बताउनुभयो । सदस्यको पहिलो रोजाइ भन्ने मूल नाराका साथ अघि बढेको गणेशजल सहकारीले अब पहिला सहकारी शिक्षा अनिमात्र शेयर सदस्य बनाउने अभियान थालिने बताउनुभयो । 

साेही अवसरमा गणेशजल सहकारीले सुपथ पोलिक्लिनिक एण्ड डाइग्नोसिस प्रालि तथा सुपथ मेडिकलका प्रोप्राइटर प्रेमबहादुर भण्डारीलाइ स्वास्थ्य क्षेत्रमा सहकार्य गरेकाे अवसरमा सम्मान समेत गरेकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top