ट्रेण्डिङ

होमपेज / सहकारी

'गणेशजलको वाक कला प्रशिक्षण निकै लाभान्वित'

नेपालगाथा २०७९ चैत्र १९ गते आइतबार २३:५३:१३ मा प्रकाशित

सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र प्रोफेसन स्किल डेभलपमेन्ट प्रालिको समन्वयमा सञ्चालन भएको एक हप्ते वाक कला प्रशिक्षण तालिम निकै लाभान्वित भएको सहभागीहरुले बताएका छन् । 

आइतबार वाक कला प्रशिक्षण तालिमको समापन समारोहमा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् । मञ्चमा उभिएर निर्धक्कसँग कसरी बोल्ने, औपचारिक र अनौपचारिक कार्यक्रमहरुको उद्घोाषण कसरी गर्ने जस्ता विषयमा गणेशजल सहकारीले एक हप्ते वाक कला प्रशिक्षण तालिमको आयोजना गरेको थियो । 

कार्यक्रममा सुर्खेतमा विगत लामो समयदेखि विभिन्न व्यापार व्यवसायमा संलग्न रहेका करिब ३ दर्जन व्यापारी तथा उद्योगीहरुको सहभागिता रहेको थियो । अनौपचारिक रुपमा विगतदेखि जति पनि बोल्दै आए पनि औपचारिक रुपमा मिलाएर बोल्न साच्चै अप्ठेरो हुने कुराको महशुस भएकाले तालिममा सहभागी भएको राजु कलेक्सनका प्रोप्राइटर रामप्रसाद पाण्डेले नेपालगाथालाई बताउनुभयो । 

यसैगरी कार्यक्रमका सहभागी सुपथ मेडिकलका प्रोप्राइटर प्रेमबहादुर भण्डारीले वाक कला प्रशिक्षणले निर्धक्क बोल्ने क्षमतामा थप मद्दत पुगेको बताउनुभयो । साथै भण्डारीले मेडिकलमा आउने बिरामीसँग गरिने बोलीचालीमा थप परिवर्तन भई सेवा प्रभावकारी गराउन वाक कला प्रशिक्षणले सहयोग गर्ने बताउनुभयो । 

पोखरा आभुषण कला केन्द्रका प्रोप्राइटर दिनेश बिकले एक हप्ते तालिमले उभिएर बोल्दा लाग्ने डर थोरै भए पनि हराएको बताउनुभयो उहाँले सधै बसेर नै ग्राहकसँग बोल्ने बानी भएकाले उभिएर बोल्न निकै अप्ठेरो लाग्ने गरेकोमा एक हप्ते वाक कला प्रशिक्षण तालिमले कसरी मिठासपूर्ण तरिकाले बोल्ने, नडराएर निर्धक्क कसरी बोल्ने र ग्राहकसँग थप मिठासपूर्ण वातावरणमा कसरी कुरा गर्ने जस्ता सीपको विकास भएको बताउनुभयो । 

सुर्खेत आइटी सेन्टरका प्रोप्राइटर पूर्णदेव अधिकारीले तालिमले आफूमा भएको क्षमतामा थप निखारता ल्याएको बताउनुभयो । बोल्न नै नजान्ने होइन तर तालिमले बोलीलाई कसरी मिलाएर बोल्ने, सिलसिलेवार कसरी मिलाउने, माइकको प्रयोग कसरी गर्ने जस्ता प्राविधिक सीपको ज्ञान थपिदिएको बताउनुभयो ।

यसैगरी गंगामाला क्याफे तथा गंगामाला पाउरोटी उद्योगका सञ्चालक बिपिन ठाकुर भुमिहारले बोल्दा के बोल्ने र आफूले बोलेको बोलीले कस्तो अर्थ राख्छ त्यो ख्याल गर्नुपर्ने बताउनुभयो । निशा ईन्टरप्राईजेजका सञ्चालक वीरबहादुर रावतले यो कार्यक्रमले व्यापारीलाई सुनमा सुगन्ध सावित भएको बताउनुभयो । साथै उहाँले यो वाक कला प्रशिक्षण तालिम कार्यक्रम गरेर गणेशजलले कहिल्लै नमिटिने छाप छोडेको बताउनुभयो ।

सफल व्यवसायीका रुपमा चिनिएका टीका वली, टोपबहादुर बिसी र भुवन ज्ञवालीले यस्ता कार्यक्रममा अहिलेसम्म सहभागी हुने अवसर नभएको र गणेशजलको लक्ष्य उद्देश्य फरक भए पनि हरेक तरिकाले सबैलाई समेट्दै अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । 

कार्यक्रमका अर्का सहभागी केशवकुमार थापाले गणेशजल सहकारीले कसैलाई पनि सदस्य बन्न कर काप नगरेको बताउँदै गैरसदस्य र शेयरसदस्य दुवैलाई समान व्यवहार गरेकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले अब सबैले गणेशजललाई सकेको सहयोग गर्नुपर्ने बताउनुभयो । 

तालिममा पत्रकार नवीन शाहीले तस्वीर कसरी राम्रो लिन सकिन्छ भन्ने बारेमा जानकारी दिनुभएको थियो । 

रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र सुर्खेतका वरिष्ठ कार्यक्रम अधिकृत भानुभक्त खड्का, बिबिसी नेपाली सेवाका वरिष्ठ पत्रकार तथा समाजसेवी नेत्र केसी र मध्यपश्चिम विश्वविद्यालयका पत्रकारिता विभागका उपप्राध्यापक त्रिभुवन बिसीले तालिमको सहजीकरण गर्नुभएको थियो । 

'इच्छा शक्ति भएमा तालिममा सिकेको सीप व्यवहारमा उतार्न सकिन्छ' - उपप्राध्यापक बिसी
एक हप्ते वाक कला तालिमको समापन समारोहमा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बिसीले सहभागीहरुले तालिममा सिकेको सीपलाई इच्छा शक्ति र जाँगर लगाएर सिक्दै गएमा सजिलै व्यवहारमा उतार्न सकिने बताउनुभएको छ । 
तालिमका सहभागीहरुले निरन्तर अभ्यास र विषयवस्तुको पूर्व तयारी गर्ने हो भने कुनै पनि विषयमा निर्धक्क भएर बोल्न सक्ने बताउनुभयो । 

'दुईवटा मात्र राम्रो कुरा बोल्न सिकियो भने त्यसले व्यवसाय प्रवद्र्धन गर्न थप मद्दत पुग्छ' -  वरिष्ठ पत्रकार केसी


बिबिसी नेपाली सेवामा लामो समय कार्यरत वरिष्ठ पत्रकार तथा समाजसेवी नेत्र केसीले आफ्नो व्यापार तथा व्यवसायलाई थप प्रवद्र्धन गर्नका लागि दुईवटा मात्र राम्रो कुरा बोल्न सिकेमा त्यसले मद्दत पुग्ने बताउनुभएको छ । विभिन्न पेशा र व्यवसायीहरुलाई एक हप्ते वाक कला प्रशिक्षण तालिमको समापन कार्यक्रममा सहभागीहरुको हौसला बढाउँदै वरिष्ठ पत्रकार केसीले यस्तो बताउनुभएको हो । 

अभ्यासले नै बोल्ने कलालाई निपूर्ण बनाउछ प्रशिक्षक भानुभक्त खड्का
रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र सुर्खेतका वरिष्ठ कार्यक्रम अधिकृत भानुभक्त खड्काले तालिममा जे सिक्नुभएको छ त्यसैको अभ्यास निरन्तर गर्ने हो भने त्यसले बोल्ने कलालाई निपूर्ण बनाउने बताउनुभएको छ । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि विक्दैन भन्ने उखानलाई मध्यनजर गर्नुपर्ने बताउदै प्रशिक्षक खड्काले अहिलेको समयमा मिठो बोली नै सबैको प्रिय हुने भएकाले सबैलाई मनपर्ने बोली बोल्नुपर्नेमा जोड दिनुभयो । 

गणेशजल सहकारीले निस्वार्थ भावनाका साथ सबैलाई समेट्दै अघि बढेको छ  अध्यक्ष बिसी
श्री गणेशजल सहकारी संस्थाको आयोजना र प्रोफेसन स्किल डेभलपमेन्ट प्रालिको समन्वयमा सञ्चालन भएको एक हप्ते वाक कला प्रशिक्षण तालिमको समापन समारोहमा बोल्दै अध्यक्ष प्रेमकुमार बिसीले निस्वार्थ भावनाले काम गरेकाले गणेशजल सहकारीले छोटो समयमा सबैको मन जित्न सफल भएको बताउनुभएको छ । 

छोटो समयको तयारीमा शुरु गरिएको वाक कला प्रशिक्षण तालिम आफूले सोचेको भन्दा राम्रो भएको बताउँदै अध्यक्ष बिसीले जुनसुकै काम गर्दा पनि शतप्रतिशत मन लगाएर गर्न सकियो भने त्यसमा सफलता प्राप्त हुने हुँदा सहभागीहरुले एक हप्तामा सिकेका कुरालाई शतप्रतिशत व्यवहारमा उतार्न लाग्नुपर्ने बताउनुभयो । 

सहभागीहरुको आवश्यकतालाई मध्यनजर गर्दै यस्ता जीवनमा अति उपयोगी कार्यक्रमको आयोजना समय समयमा गरिने बताउँदै अध्यक्ष बिसीले गणेशजल बहुउद्देश्यीय सहकारीको भावना अनुसार विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो । 

गणेशजल सहकारीले समय सापेक्ष कार्यक्रम ल्याएर सबैको मन जित्न सफल भएकोमा सहभागीहरुले सहकारीको उच्च प्रशंसा गरेका थिए । तालिम समापन कार्यक्रममा सहभागी पूर्णदेव अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने सहभागी लक्ष्मीप्रसाद भूसालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top