ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारी साकोस र गणेशजल सहकारीबीच अन्तर सहकारी भेटघाट 

नेपालगाथा २०७९ चैत्र ११ गते शनिबार १५:१२:०२ मा प्रकाशित

सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लि.सुर्खेतले सुर्खेतको अर्को ठूलो सहकारी जनहितकारी साकोस सुर्खेतसँग अन्तरसहकारी भेटघाट गरेको छ । 

कार्यक्रममा दुवै संस्थाले संचालन गरेका वित्तीय तथा गैर वित्तीय कार्यक्रम र त्यसले शेयरसदस्यमा ल्याएको प्रभावका बारेमा छलफल हुनुका साथै दुवै संस्थाको हालको वित्तीय अवस्था संस्थामा आएका अवसर र चुनौतीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गहन छलफल भएको बताइएको छ । 

सहकारी क्षेत्रका अगुवा तथा अनुभवि जनहितकारी साकोसका अध्यक्ष हरीहरनाथ योगीले सहकारीमा बिना धितो कर्जा पाइने, धेरै ब्याज पाइने अथवा आफ्नो नातेदार संचालक वा कर्मचारी भएको भरमा विश्वास नगरिहाल्न अनुरोध गर्नु भएको छ । उहाँले केही सहकारी संस्थाहरुले सहकारीमा सुशासन कायम नराख्ने, संचालकहरु र कर्मचारीको मिलेमतोमा मनोमानी ढंगबाट आर्थिक चलखेल गराउने जस्ता निन्दनीय कार्यले गर्दा सिंगो सहकारी क्षेत्रमाथि नै अविश्वास बढ्दै गएकाले सबै सहकारीलाई एउटै दाँजोमा राख्न नहुने बताउनु भयो । 

साथै अध्यक्ष याेगीले गणेशजल सहकारीले छोटो समयमा गरेको प्रगति देख्दा अच्चम्म लागेको सन्दर्भ जोड्दै साच्चै काम गर्ने हो भने गर्न सकिने रहेछ भन्ने उदाहरणका रुपमा गणेशजल सहकारी रहकाे भन्दै प्रशंसा गर्नुभयो । सहकारीका सदस्यले पनि ATM बाट रकम भुक्तानि गर्न, फोन 'पे' बाट बैंकको जस्तै रकम भुक्तानी गर्न, सहकारीको मोवाईल बैकिंग एप बाट 'ई सेवा', खल्ती, आईएई 'पे', बैंकका खातामा रकम पठाउन मिल्ने र रकम प्राप्त गर्न मिल्ने सुविधा सुरु गरी गणेशजल सहकारीले सहकारी ईतिहासमा पहिलो नाम दर्ज गरेको अध्यक्ष याेगीले बताउनुभयो ।

विश्वासका कारण नै व्यापार व्यवसाय, बैंक, सहकारी संस्था र व्यक्ति व्यक्ति बीचको सम्बन्ध चलेको बताउँदै अध्यक्ष योगीले जनहितकारी सहकारीले विश्वास नै गुम्न नदिने गरी काम गरी गरिरहेको बताउनुभयो । जनहितकारी साकोसमा हाल १० हजार १ सय २० जना शेयर सदस्य रहेको यस सहकारीको मुख्य कार्यालय वीरेन्द्रनगर ४ भैरवस्थानमा रहेको आफ्नै भवन मा रहेको छ भने वीरेन्द्रनगर बजार र पिपिराचौकमा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । 

यसैगरी श्री गणेशजल सहकारीका अध्यक्ष प्रेमकुमार बिसीले केही सहकारीहरुले व्यवस्थापन पक्षलाई चुस्त दुरुस्त नराख्दा अहिले समस्या आएको बताउँदै शेयरसदस्यलाई सहकारीको वित्तीय अवस्था र सहकारीका गतिविधिहरु सदस्य केन्द्रित छन् कि छैनन् जस्ता कुरालाई ख्याल गरेर मात्र सहकारी संस्थामा आवद्ध हुन र कारोबार गर्न सुझाव दिनुभएको छ । 

छरिएर रहेको सानो सानो पूँजीलाई संकलन गरेर शेयर सदस्यहरुलाई नै लगानी गरिरहेको सहकारीले विश्वासका कारण नभई आर्थिक लेखाजोखा गरेर मात्र सदस्यहरुमा लगानी गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिसीले सहकारीले केही बेरोजगार व्यक्तिलाई रोजगार दिनुका साथै सदस्यलाई आवश्यता अनुसार कर्जा प्रवाह गरी व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग गरेकाले सबैले सहयोगबाट सहकारीलाई कसरी मजवुद बनाउन सकिन्छ भन्नेतर्फ लाग्न अनुरोध गर्नुभयो । 

श्री गणेशजल बहुउद्देश्यीय सहकारीले प्रविधिको उच्चतम प्रयोग गर्दै पश्चिम नेपालमै पहिलो पटक ब्त्ः सेवा, बैकिङ्ग सफ्टवयेर राखेर मोबाईल बैकिङ्ग सेवा, फोन पे सेवा लगायतका सेवा दिदै आएको छ । मुख्य कार्यालय जुम्लारोडमा रहेको गणेशजल सहकारीको खजुरामा सेवा केन्द्र र घ्यूपोखरीमा सम्पर्क कार्यालय रहेका छन् ।

हाल ८ हजार १ सय ३२ जना शेयर सदस्य रहेको यस संस्थाको आफ्नै स्वामित्वमा २ कठ्टा जग्गा रहेको छ । साथै सहकारीले हाल त्रैमासिक पत्रिका "गणेशजल सन्देश" प्रकाशन गरेर सहकारीका गतिविधिहरुलाई शेयर सदस्य र अरु सबैका सामू पारदर्शी गर्ने काम समेत गरेकाे छ ।

सहकारीका बारेमा पछिल्लो समयमा अनेकौ टिकाटिप्पणी भइरहेका बेला सुर्खेत यी दुई ठूला सहकारीबीच समसामयिक विषयमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न हुनुलाई सकारात्मक तरिकाले हेर्न सकिन्छ । सहकारीहरु बीच आपसी अनुभव साटासाट र आदानप्रदान गर्न अन्य सहकारीहरुले पनि गर्न जरुरी देखिन्छ । 

सदस्यहरुको सानो सानो पूँजीलाई संकलन गरेर कारोबार गरिरहेका सहकारी संस्थाहरुले जनहितकारी सहकारी र गणेशजल सहकारीले शुरु गरेको अन्तरसहकारी भेटघाट कार्यक्रमलाई अभियान कै रुपमा अघि बढाउन आवश्यक देखिन्छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top