होमपेज / सहकारी
सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले सहकारीका सदस्यहरुलाई व्यवसायिक तालिम प्रदान गर्न थालेको छ । साथसाथै सहकारीलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा ३५ दिने सुझाव संकलन अभियान पनि शुरु गरेको छ । देशभर सहकारीका बारेमा अनेकौ समाचार आइरहेका बेला गणेशजल सहकारीले भने आफ्ना सदस्यहरुको भनाइलाई आत्मसाथ गर्दै सहकारी अगाडि कसरी बढाउने भन्ने उद्देश्यका साथ तालिमका साथै सुझाव संकलनको अभियान शुरु गरेको हो ।
संस्थाले विगतका वर्षदेखि नै आफ्ना शेयर सदस्यलाई व्यवसायिक सिप विकास तालिम दिदैं व्यवसायिक बनाइरहेकोमा यस कार्यक्रमलाई अझै व्यवस्थित बनाउनका लागि सदस्यहरुको घरदैलोमा नै भेटघाट, सुझाव संकलन र सदस्यको आवश्यकता पहिचान गरी तालिम संचालन गर्ने तयारी गरिरहेको संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले जानकारी दिनुभयो ।
.jpg)
व्यवसायिक ज्ञान र सीप बिना सदस्यहरुमा लगानी गर्दा सदस्यले लगानीलाई सही सदुपयोग गर्न नसक्ने भएकाले बचत संकलन मात्र गर्ने सदस्यहरुलाई बिना धितो ऋण लगानी गर्दा व्यवसायिक तालिम दिएर मात्र ऋण लगानी गर्ने तयारी सहकारीले गरिरहेको छ । संस्थाले आफ्ना सदस्यलाई व्यवसायिक सिप प्रदान गरेपछि मात्र कर्जा लगानी गर्ने र सदस्यले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहयोग गर्ने योजना बनाएको छ । यसैगरी लगानी भएको कर्जाको सही सदुपयोग भयो की दुरुपयोग भयो भनेर अनुगमन गर्नुका साथै कर्जा लगानी गर्दा घरपरिवार सबैको मन्जुरीनामा अनिबार्य लिने कुरालाई सहकारीले कडाइका साथ लागू गरिरहेको छ ।
सहकारीले धितोमा मात्र लगानी गर्ने हो वा व्यवसाय अनुसार किस्ता वन्दीमा लगानी गरेर स्वरोजगारी श्रृजना गरी बेरोजगार अन्त्य गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । संस्थामा नियमित मासिक बचत नगर्ने, संस्थाले संचालन गरेका विभिन्न सहकारी शिक्षा कार्यक्रममा सहभागी नहुने, संस्थाको वार्षिक साधारणसभामा उपस्थित नहुने, संस्थाको वित्तीय विवरण, मासिक पल्स रिपोर्ट अध्ययन नगर्ने सदस्यहरुलाई घरदैलो मानै पुगेर बुझाउने वा जानकारी दिने रणनीति सहकारीले लिएको छ ।
यसैगरी एउटै प्रकृतिका धेरै संस्थामा आवद्ध हुने, सहकारीको मूल्य, मान्यता र सहकारीका सिद्धान्तलाई नबुझ्ने सदस्यलाई घर दैलोमै गएर बुझाउनका लागि सहकारी अभियानलाई थप मजवुद बनाउन सहकारीले घरदैलो भेटघाट तथा सुझाव संकलन कार्यलाई अघि सारेको हो । संस्थाले व्यवसायिक सिप विकास तालिम केन्द्र प्रालि सँगको सहकार्यमा ३५ दिने ब्यृटिसीयन, ग्रामिण कृषि कार्यकर्ता, मोवाईल फोन मर्मत, वेटर र वेट्रेस तालिम संचालन गर्ने जनाएको छ ।
फाल्गुण २० गतेदेखि वीरेन्द्रनगर नगरापालिका वडा नंं. २ फलाटेबाट शुरु गरिएको सुझाव संकलन अभियान चैत्र मसान्तसम्म ३५ दिनसम्म सञ्चालन गरिने सहकारीले जनाएको छ । सुझाव संकलन गर्नका लागि सहकारीका सञ्चालक समितिका सदस्य र कर्मचारीहरु सदस्यहरुको घरदैलो मै पुगिरहेका छन् ।

.jpg)