होमपेज / सहकारी
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले सहकारीहरुले शेयर सदस्यहरुको भावनालाई आत्मसाथ गरेर काम गर्नुपर्ने बताएका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘गणेशजल महोत्सव २०७९’ को उद्घाटन गर्दै मन्त्री पछाईले यस्तो बताएका हुन् ।
गणेशजल सहकारीले टोल टोलमा पुगेर सहकारी शिक्षा दिँदै शेयर सदस्यहरु र कर्मचारीहरुलाई सम्मान गरेर महोत्सव मनाएकोमा खुशी लागेको बताउदै मन्त्री पछाइले सहकारीका सात सिद्धान्तलाई व्यवहारिक रुपमा लागू गर्न सकेमा मात्र सहकारीले साच्चिकै शेयर सदस्यहरुको भावना अनुसार काम गर्नसक्ने बताए ।

घरको काम सहित साना–साना उद्यम सञ्चालन गर्ने उद्यमी उत्पादन गरेर सहकारीले साच्चीकै शेयर सदस्यहरुको भावना अनुसार काम गरिरहेको बताउँदै मन्त्री पछाइले गणेशजल सहकारीको वित्तीय अवस्था अध्ययन गर्दा सहकारीले शेयर सदस्यहरुसँग निकै राम्रो सम्बन्ध स्थापित गरिसकेको पाएको बताए ।
केही सहकारीले उद्देश्य भन्दा बाहिर गएर काम गर्ने, अपारदर्शी ढंगले सहकारीको कारोबारो गर्ने, आफ्नो क्षमता र लगानीलाई नबुझेर ठूला ठूला योजना बनाउने गरेकाले सहकारीको खराब अवस्था सिर्जना भएको पाइएको बताउदै मन्त्री पछाईले गणेशजल सहकारीले यी कुरालाई मध्यनजर गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
‘बाँजो जग्गालाई उत्पादनमुखी बनाउनुपर्छ’ – अध्यक्ष बिसी

जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले हाम्रा सबै जग्गालाई उत्पादनमुखी बनाउनु पर्ने बताएका छन् । गणेशजल महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष बिसीले कौसी खेतीलाई समेत हराभरा बनाएर आर्थिक अवस्थामा उल्लेख्य सुधार ल्याउनुपर्ने बताए ।
हामीले अत्यधिक मात्रामा रासायनिक मल प्रयोग गरेका विदेशबाट आयात भएका वस्तुहरु उपभोग गरिरहेकाले अब यस्तो आयातित बस्तुलाई बन्द गर्नुपर्ने भन्दै अध्यक्ष बिसीले गणेशजल सहकारीले योजना बनाएर अर्गानिक वस्तु उत्पादन गर्ने कार्यमा लाग्नुपर्ने सुझाव दिए ।
पढेलेखेका वुद्धिजिवीहरुलाई विदेश पलायनबाट स्वदेशमै रोकौ भन्दै अध्यक्ष बिसीले वुद्धिजिवी वर्गलाई नेपालमा नै रोकेर नेपालको कृषि उत्पादनमा लगाएर आर्थिक क्षेत्रमा समृद्धि ल्याउन अब हामी आफै लाग्नुपर्ने बताए ।
‘गणेशजल सहकारीबाट अन्य सहकारीलाई प्रेरणा मिलेको छ’ – अध्यक्ष दाहाल
जिल्ला बचत संघ सुर्खेतका अध्यक्ष पदम दाहालले गणेशजल सहकारीबाट अन्य सहकारीले पनि यस्तै गर्नुपर्ने बताएका छन् । गणेशजल महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले गणेशजल सहकारीले टोल टोलमा सहकारी शिक्षा दिनुका साथ समयानुकुल आफूलाई प्रविधिमय बनाएर अन्य सहकारी संस्थाका लागि प्रेरणादायी भएको बताए ।
गणेशजल सहकारीका सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यबीच विश्वासको वातावरण बनेका कारण सहकारीले प्रगति गरिरहेको बताउदै अध्यक्ष दाहालले अन्य सहकारीले पनि यस्तै विश्वासका वातावरण सिर्जना गरेर सहकारी सञ्चालन गर्नुपर्ने बताए ।
‘गणेशजल सहकारीको भविष्य उज्जवल छ’ – सहकारी रजिष्ट्रार सुवेदी

भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार खुमप्रसाद सुवेदीले गणेशजल सहकारीका सम्पूर्ण गतिविधि हेर्दा सहकारीको भविष्य उज्जवल भएको बताए । गणेशजल महोत्सवलाई सम्वोधन गर्दै रजिष्ट्रार सुवेदीले यस्तो बताएका हुन् ।
गणेशजल सहकारीले टोल टोलमा पुगेर आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिएर सहकारीको वास्तविक अवस्था बुझाएर गणेशजल महोत्सव गरेको भन्दै रजिष्ट्रार सुवेदीले यही गतिमा अघि बढेमा गणेशजल सहकारी उत्कृष्ट सहकारीको रुपमा चिनिने बताए ।
‘निजी क्षेत्र र सहकारी क्षेत्रलाई सरकारले विशेष ध्यान दिनुपर्छ’ – अध्यक्ष कंडेल

उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेलले सरकारका तीन खम्बे अर्थनीति मध्ये निजी क्षेत्र र सहकारी क्षेत्र अहिले बिरामी परेकाले यी दुई क्षेत्रलाई माथि उठाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । गणेशजल महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष कंडेलले यस्तो बताएका हुन् ।
दिगो आर्थिक विकास र समृद्धि जबसम्म गाउँ गाउँबाट आउन सक्दैन तबसम्म समृद्धि हुन नसक्ने बताउदै अध्यक्ष कंडेलले गणेशजल सहकारीले गाउँ गाउँबाट समृद्धि ल्याउने अभियानमा लागेकाले उद्योग वाणिज्य संघले सहकारीका गतिविधिलाई साथ दिने बताए ।
सहकारीले बचत र ऋणको काम मात्र नगरेर अब नयाँ अभियानमा लाग्न जरुरी भएको बताउँदै अध्यक्ष कंडेलले गणेशजल सहकारीले किसानको उत्पादनलाई पैसासँग साट्ने कार्य उत्कृष्ट भएकाले किसानको उत्पादनलाई सहकारी र निजी क्षेत्रले लिनुपर्नेमा जोड दिए ।
‘गणेशजल सहकारीलाई वडा कार्यालयको साथ’ – वडा अध्यक्ष गिरी

वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्षहरुले गणेशजल सहकारीका गतिविधिहरुलाई साथ दिने बताएका छन् । गणेशजल महोत्सवलाई सम्वोधन गर्दै वडा अध्यक्षहरुको तर्फबाट वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषि गिरीले गणेशजल सहकारीले आफ्ना कार्यक्रमहरु पारदर्शी ढंगबाट अघि बढाएकाले वडा कार्यालयहरुले सहकार्य गर्ने बताए ।
देशमा आर्थिक संकट परे पनि गणेशजल सहकारीले आफ्ना गतिविधिलाई नियमित राखेको बताउदै वडा अध्यक्ष गिरीले सहकारीको मूल्य र मान्यतालाई बोकेर जनताको जीवनस्तर माथि उठाउनका लागि सधै लागिरहेको गणेशजल सहकारीको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।
‘मिहिनेत गरेमा सबै काम सम्भव छ’ – समाजसेवी भूसाल

समाजसेवी तथा इगरब्रिज माध्यमिक विद्यालयका संस्थापक हेमप्रकाश भूसालले मिहिनेत गरेमा जुनसुकै काममा पनि सफल हुन सकिने बताएका छन् ।
गणेशजल महोत्सवमा सम्वोधन गर्दै समाजसेवी भूसालले गणेशजल सहकारीका कर्मचारीले पनि मिहिनेत गरेका कारण आज यो सफलता मिलेको बताउनुभयो । कुनै पनि काम गर्दा शतप्रतिशत मन लगाएर गरेमा सफल हुन सकिने बताउदै समाजसेवी भूसालले सबैको भलो चिताएर आफ्नो काममा दत्तचित्त भएर लागेमा सधै सफल हुन सकिने सुझाव दिए ।
'सहकारीमा नयाँ प्रविधि भित्र्याउँदै शेयर सदस्यकाे हितलाई ध्यानमा राखेर अघि बढ्छाै' - अध्यक्ष बिसी
श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले सहकारीमा नयाँ प्रविधि भित्र्याएर शेयर सदस्यहरुलाई सहज वातावरण हुने खालकाे काम गर्ने बताएका छन् । गणेशजल महाेत्सवका प्रमुख अतिथि, अतिथि, शेयर सदस्य र अन्य शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष बिसीले सहकारीमा नयाँ प्रविधि भित्र्याउँदै नयाँ सोच र सदस्य केन्द्रित विभिन्न योजना ल्याई पाँच वर्षमा करिव आधा अर्ब बजेट गर्न सकेकाे बताए । उनले संस्थाको स्वास्थ्य बीमा कार्यक्रम निकै लोकप्रिय बनेकाले यसलाई अझै प्रभावकारी ढंगबाट अघि बढाइने समेत जानकारी दिए ।
हाल सहकारीले एटिएम, मोवाईल बैकिंग र फोन पे जस्ता सुविधा उपलब्ध गराएका कारण सदस्यहरुले घरमै बसेर सहकारी संस्थाकाे खातामा रकम जम्मा गर्न सक्नुका साथै बैक फण्ड ट्रान्सफर गरी बैकको पैसा सहकारी र सहकारीको पैसा बैंकमा पठाउन सक्ने सुविधा सबैका लागि निकै प्रभावकारी बनेकाे अध्यक्ष बिसीकाे दाबी छ ।
सहकारी भनेको सिंगो समुदाय हो समुदायका स्थायी व्यक्तिमात्र संस्थामा सदस्य बन्नुपर्छ भन्दै अध्यक्ष बिसीले नियमित सहकारी शिक्षाका कारण सिक्दै र सिकाउदै आईरहेको सहकारीले स्थापनादेखि हालसम्म खुल्ला सदस्यता कायम राख्दै आईरहेको बताए ।
हाल सहकारीमा भैरहेका सदस्यलाई नै व्यवस्थापन गर्ने रणनीति लिएका कारण नयाँ सदस्यता नदिने र दिनै परे दोहोरो सदस्यता भएका व्यक्तिलाई संस्थाको सदस्यता नदिने अध्यक्ष बिसीकाे भनाइ छ । हाल सहकारीले सहकारी एकीकरणकाे अभियानलाई तिब्रता दिएकाले टुक्रिएर नभइ एकजुट भएर समाजकाे सेवा गर्न सकिने भएकाले अन्य सहकारीहरुलाई समेत एकीकरणकाे दायरामा आउन अध्यक्ष बिसीले आग्रह गरेका छन् ।
श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले विभिन्न कार्यक्रम गरी शनिबार ‘गणेशजल महोत्सव २०७९’ मनाएको हो । यस अघि सहकारीले विभिन्न टोल–टोलमा शेयर सदस्यहरुको भेला गरेर सहकारी शिक्षा दिएको थियो । महोत्सवमा शेयर सदस्य र कर्मचारीहरु गरी करिब पाँच सय जनालाई सम्मान गरेको छ।
‘स्कुल स्कुलमा गणेशजल’
.jpg)
सहकारीले अब छिट्टै नै ‘स्कुल स्कुलमा गणेशजल’ भन्ने कार्यक्रम गर्ने जनाएको छ । महोत्सवकै अवसर पारेर उद्घाटन गरेको ‘स्कुल स्कुलमा गणेशजल’ कार्यक्रमले विद्यालयका साना–साना भाइ बहिनीलाई बचत गर्ने बानीको विकास गर्न सघाउ पुग्ने सहकारीका अध्यक्ष प्रेमकुमार बिसीले जानकारी दिए ।
दुई सहकारीबीच मर्जरको सम्झौता

विश्वमा आर्थिक अवस्था संकटग्रस्त भइरहेका बेला देशमा बैंकहरु धमाधम मर्ज भइरहेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै अब सहकारी पनि मर्ज भएर अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ गणेशजल सहकारीले एकीकरणको रणनीतिलाई अघि बढाएको छ ।
गणेशजल महोत्सवकै अवसर पारेर गणेशजल सहकारी र हाम्रो सुर्खेत कृषि सहकारी बीच एकीकरण भएको छ । गणेशजल सहकारीका अध्यक्ष प्रेमकुमार बिसी र हाम्रो सुर्खेत कृषि सहकारीका अध्यक्ष उत्तम लामिछानेले दुईवटा सहकारी एकीकरण गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
गणेशजलका सदस्यलाई उपचारमा २५ प्रतिशत छुट

गणेशजल सहकारीले आफ्ना शेयर सदस्यहरुलाई उपचारमा २५ प्रतिशत छुट दिने जनाएको छ । गणेशजल महोत्सवकै दिन सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केअर हस्पिटल र गणेशजल सहकारी बीच २५ प्रतिशत छुट दिने विषयमा सम्झौता भएको छ । कर्णाली केअर हस्पिटलका प्रतिनिधि भगवती जिसी र गणेशजल सहकारीका उपाध्यक्ष गोमा मल्ल बीच गणेशजल सहकारीका सदस्यले २५ प्रतिशत छुट पाउने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सुविधा लिँदा गणेशजल सहकारीका सदस्यहरुले नियमित रुपमा मासिक बचत अनिवार्य गरेको हुनुपर्ने सहकारीले जनाएको छ ।
.jpg)






