ट्रेण्डिङ

होमपेज / सहकारी

‘विश्वास र इमान्दारितामा थप अब्बल बन्नुहोस्’ – प्रदेशसभा सदस्य कंडेल

जनहितकारी साकोसको २४औं साधारणसभा सम्पन्न

त्रिभुवन बिसी २०७९ पौष २३ गते शनिबार २१:३८:३९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री यामलाल कंडेलले विश्वास र इमान्दारितामा थप अब्बल बन्न जनहितकारी सहकारीलाई सुझाव दिनुभएको छ । जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभालाई शनिबार सम्वोधन गर्दै प्रमुख अतिथि कंडेलले यस्तो बताउनुभएको हो । सहकारीको सफलता भनेको नै विश्वास र इमान्दारिता भएकाले जनहितकारी सहकारीले नाम जस्तै जनताको थप विश्वास जितेर समाजको समृद्धि र विकासको रुपान्तरणमा महत्वपूर्ण योगदान दिनुपर्ने प्रमुख अतिथि कंडेलले बताउनुभयो । 

यो सहकारीले शेयर सदस्यहरुका बीचमा मात्र नभएर देशभरी नै आफ्नो पहिचान हुने गरी समाज परिवर्तनका लागि काम गरिरहेको हुँदा सहकारीका सञ्चालक समितिका सदस्य र कर्मचारीहरुको उच्च प्रशंसा गर्नुभयो ।  पछिल्लो समयमा युवामा दुव्र्येसनीको समस्या देखिएकोमा दुःख व्यक्त गर्दै प्रमुख अतिथि कंडेलले यस्तो समस्याबाट जोगिनका लागि हामी सबै समयमै होसियार बनेर जनचेतना फैलाउन जरुरी भएको बताउनुभयो । 

यसैगरी कार्यक्रमका विशेष अतिथि कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले सहकारीको भावनाबाट नेपाल भर चिनिएको सहकारीको सदस्य बन्न पाएकोमा आफूलाई निकै खुशी लागेको बताउनुभयो । साथै उहाँले महिलाहरुको क्षमता विकासमा सहकारीले पुर्याएको योगदानको उच्च कदर गर्नुभयो ।

यसैगरी कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य कालीबहादुर महताराले जनहितकारी सहकारी संस्थाले सहकारी क्षेत्रको इतिहासमा ठूलो योगदान दिदै देशकै वित्तीय क्षेत्रमा आफूलाई अब्बल बनाएको बताउनुभयो ।  वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान प्रमुख देवकुमार सुवेदीले देशकै अब्बल सहकारी संस्था बनाएकोमा सञ्चालक समितिलाई धन्यवाद दिँदै जनहितकारी सहकारी एउटा उदाहरणीय सहकारी भएर अघि बढोस् भन्ने कामना व्यक्त गर्नुभयो । 

जनप्रतिनिधिलाई सम्मान
जनहितकारी सहकारी संस्थाका शेयर सदस्यहरु स्थानीय, प्रदेश र संघका निर्वाचनमा निर्वाचित भएकाले निर्वाचित शेयर सदस्यहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । 


एटिएम सेवा विस्तार
जनहितकारी सहकारीले नेपालका जुनसुकै बैंकको एटिएम काउन्टरबाट सेवा लिन सकिने गरी एटिएम सेवाको विस्तार गरेको छ । कार्यक्रमका प्रमुख अतिथि यामलाल कंडेल र सभाध्यक्ष हरिहरनाथ योगीले संयुक्त रुपमा एक समारोहका बीच एटिएम कार्ड शेयर सदस्य विष्णु भूसाललाई हस्तान्तरण गरिएको छ । 


प्रविधि मैत्री सेवामा जनहितकारी 
साधारणसभामा अध्यक्ष हरिहरनाथ योगीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई प्रविधि मैत्री सेवाको विस्तारमा प्राथमिकता दिएको बताउनुभयो । यसैगरी उहाँले शेयर सदस्यलाई शिक्षा, तालिम र गोष्ठिमा जोड दिँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा सहकारीले निरन्तर कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । 

शेयर पूँजी ६ करोड ६१ लाख, जगेडा कोष ४ करोड २८ लाख
यसैगरी संस्थाका कोषाध्यक्ष नवराज कंडेलले आव २०७८/०७९ को आर्थिक विवरण तथा चालु आव २०७९/०८० का लागि प्रस्तावित वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष कंडेलले आव २०७८/०७९ मा शेयर पूँजीतर्फ ६ करोड ६१ लाख ७१ हजार २ सय रुपैयाँ र जगेडा कोषतर्फ ४ करोड २८ लाख ६२ हजार ९ सय ४४ रुपैयाँ भएको जानकारी दिनुभयो । 
यसैगरी सहकारी संस्थाले ६० करोड ६८ लाख १७ हजार ४ सय ६७ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिँदै कोषाध्यक्ष कंडेलले ६० करोड ११ लाख ८८ हजार १ सय ८५ रुपैयाँ कुल बचत गरेको बताउनुभयो । यसैगरी कोषाध्यक्षको प्रतिवेदन अनुसार सहकारीको हालसम्मको कुल सम्पत्ति ७३ करोड ११ लाख ६४ हजार ६ सय १३ रुपैयाँ भएको जानकारी दिनुभयो । साथै उहाँले आव २०७९/८० का लागि ९० करोड ६८ लाख ०३ हजार ४ सय २९ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको छ । 

८ हजार ६ सय २१ सदस्य
वित्तीय क्षेत्र र सामाजिक उत्तर दायित्वका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको सहकारीमा हाल ८ हजार ६ सय २१ जना सदस्य रहेका छन् । जसमा ४ हजार ७ सय २७ जना महिला, ३ हजार ८ सय ८१ जना पुरुष र १३ वटा संस्थागत सदस्य रहेका छन् । 


वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ देखि १६ वडासम्म कार्यक्षेत्र विस्तार गरेको यस सहकारीमा हाल १० जना महिला र १० पुरुष गरी २० जना कर्मचारी रहेका छन् । ९ सय ६१ दशमलव ६४ वर्ग फिटमा तीन तलाको पक्की मुख्य कार्यालयको भवनबाट सेवा दिइरहेको यस सहकारीले सेवा विस्तार गर्दै वीरेन्द्रनगर–६ बजारबाट र वीरेन्द्रनगर–११ पिपिराबाटसमेत सदस्यहरुलाई सेवा तथा सुविधा दिइरहेको छ ।  

यस अघि कोरोना भाइरसको महामारीका कारण प्रविधिको प्रयोग गरेर जुम, युट्युव र फेसबुक  लाइभ मार्फत साधारणसभा सम्पन्न गरेको सहकारीले यसपटक भने सदस्यहरुको भौतिक उपस्थितिमा नै संस्थाको आफ्नै प्राङ्गणमा साधारणसभा सम्पन्न गरेको छ । सहकारीले संस्थाको २४औं वार्षिक साधारणसभालाई सहकारीको फेसबुक पेज जनहितकारी साकोसबाट प्रत्यक्ष प्रशारण गरेको संस्थाका सूचना अधिकारी भोजप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top