होमपेज / सहकारी
सुर्खेत। उपकार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतकाे अध्यक्षमा बिष्णु बिक्रम जिसीलाई सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न भएकाे साधारणसभाले जिसीकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेकाे हाे । उपाध्यक्षमा महेन्द्रप्रसाद शर्मा, सचिवमा यज्ञप्रसाद आचार्य, कोषाध्यमा हरिजङ्ग शाह, सदस्यहरुमा रत्ना सुवेदी (आचार्य), मोती शाही, भीमकुमारी थापा, शिवकला पाण्डे र चन्द्रबहादुर बिसी रहेका छन् ।
यसै गरी लेखा समिति संयोजकमा मदन प्रकाश मल्ल र सदस्यमा हरिकाला चौधरी सर्वसम्मत चयन हुनु भएको हो । समितिले एकजना सदस्य पछि चयन गर्ने जनाएकाे छ ।
हालसम्म संस्थाले १२ करोड ८६ लाख ५४ हजार ९ सय १० रुपैयाँ बराबरको कारोबार गरेको जनाएकाे छ । चालु आर्थिक वर्षमा २० करोड ३ लाख ६४ हजार १ सय ८२ रुपैयाँको कारोबार गर्ने लक्ष्य लिइएको संस्थाले जनाएको छ । सहकारीमा १ हजार ४ सय ४५ जना शेयर सदस्य रहेका छन् । सहकारीको १ करोड बढी शेयर पूँजी रहेको छ ।

संस्थाका कोषाध्यक्ष हरिजङ्ग शाहले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको १ करोड ५२ लाख ७२ हजार ७ सय ७० रुपैयाँ शेयर पुँजी रहेको जानकारी दिँदै आर्थिक वर्ष २०७७/७८ को तुलनामा बढी रहेको जानकारी दिए। त्यस्तै सचिव यज्ञप्रसाद आचार्यका अनुसार उक्त आर्थिक वर्षमा १ करोड ४३ लाख १२ हजार ७ सय ७० रुपैयाँ थियो । उनले यस आर्थिक वर्षमा ९ लाख ६० हजारले शेयर पूँजी थप भएको बताए।
संस्थाको अध्यक्ष बिष्णु बिक्रम जिसीले सहकारीको मूल्य र मान्यता अनुरुप सही दिशामा संचालन गर्न, सहकारीको सेवालाई आधुनिकरण र विस्तार गरिनुका साथै शेयर सदस्यहरुलाई उचित मुनाफा प्रदान गरिने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पदमबहादुर दाहालले पछिल्लो चरणमा सहकारी बिभाग जारी गरेको निर्देशन अनुसार संचालन नभए देशका विभिन्न स्थानहरुमा सहकारीले सदस्यहरुलाई भनेको समयमा बचत फिर्ता गर्न नसक्दा जुन असर देशव्यापी रुपमा परेको छ,त्यसको असर हरेक सहकारीमा पर्ने भएको हुदा सजक रहेर कार्य गर्न अनुरोध समेत गर्नुभएको छ ।