होमपेज / सहकारी
सुर्खेत । सहकारी शिक्षा शिविर कार्यक्रमका सहभागीहरुले सहकारीको मूल्य, मान्यता र सिद्धान्तका बारेमा स्पष्ट भएको बताएका छन् । संस्थामा आवद्ध भएका नयाँ शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी आधारभूत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ वीरेन्द्रनगरमा आइतबार सम्पन्न भएको सहकारी शिक्षा शिविर तालिमका सहभागीहरुले यस्तो बताएका हुन् । सहकारीको सहयोगमा सामाजिक र आर्थिक उन्नतिमा टेवा पुगेको बताउँदै सहभागीहरुले शिक्षा शिविर तालिमले संस्थाको बचत तथा ऋण नीतिका बारेमा स्पष्ट भएको बताए । थोरै लगानीमा व्यवसाय गर्नका लागि सहकारी पहिलो रोजाइ बनिरहेको बताउँदै तालिमका सहभागीहरुले सहकारीकै कारण सामाजिक जीवन यापन सहज भएको बताए ।
जनहितकारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कार्ययोजना अनुसार सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद गौतमले पानसमा दीप प्रज्वलन गर्दै बचत तथा ऋण सहकारीहरुमा शिक्षित सदस्य हुनु भनेको सुरक्षित सहकारी निर्माण गर्नु भएको बताए । यसैगरी शिक्षा उपसमितिका संयोजक हरिहर बस्नेतले कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै सहकारी सफल हुने आधारभूत मान्यतालाई आत्मसाथ गर्दै तालिम आयोजना गरिएको बताए ।
.jpg)
तालिमका प्रमुख प्रशिक्षक मित्रेन्द्रनाथ योगी र सहप्रशिक्षक प्रेम आचार्यले सहभागीहरुलाई सहकारीका मूल्य, मान्यता र सिद्धान्तका बारेमा प्रष्ट्याएका थिए । यसैगरी प्रशिक्षकद्वय योगी र आचार्यले सहकारीका गतिविधिहरुका बारेमा जानकारी दिँदै जनहितकारी सहकारी संस्थामा आवद्ध हुँदा यसबाट सदस्यलाई हुने अवसर र फाईदाका बारेमा चर्चा गरेका थिए । तालिम कार्यक्रममा ऋण उपसमिति सदस्य भक्तबहादुर थापा, शिक्षा उपसमिति सदस्य नरेन्द्रराज पुरी, प्रबन्धक हिमलाल गौतम लगायतको उपस्थिति रहेको थियो । शिक्षा शिविर कार्यक्रममा ८२ जना नयाँ शेयर सदस्य र कर्मचारीहरु गरी ९१ जनाको सहभागिता रहेको संस्थाका वित्तीय परामर्शक भोजप्रसाद आचार्यले बताए ।