ट्रेण्डिङ

होमपेज / सहकारी

दीगो सहकारी निर्माणका लागि वित्तीय अनुशासन

योगेन्द्रबहादुर साउद

नेपालगाथा २०७७ भाद्र २८ गते आइतबार ०८:५२:०५ मा प्रकाशित

सहरमा भएको ठुलाठुलो परियोजनादेखि विभिन्न ग्रामिण क्षेत्रमा रहेका किसानको ढोकासम्म सहकारी कुनै न कुनै भूमिकाबाट मानव जीवनमा जोडिएको छ । चाहे साझा पसल होस्, चाहे किसानका लागि सहुलीयत मल, बीऊ, बिजन होस्, चाहे हाम्रो घर उज्यालो बनाउने बिजुली नै किन नहोस् । यी सबैमा सहकारीकै योगदान रहेको छ ।

सामाजिक विभेद र उत्पिडनको अन्त्यकालागि साझा रुपमा संगठित भई सबैका भावनाहरुलाई सम्मान गर्दै एकका लागि सबै र सबैका लागि एकको भावना अनुसार १८औं शताब्दीदेखि विभिन्न चरणहरुमा सुरु भएको विश्व सहकारी इतिहास आज सबै राष्ट्रहरुले अंगिकार गरेको मोडेल हो । सहकारीताले केवल जीवन निर्वाह गर्न मात्र सजिलो गरेन समाजमा पिछडिएका वर्ग क्षेत्रहरुको उत्थान र दिगो विकासमा अनवरत काम गरी आर्थिक  सामाजिक परिवर्तनको खम्बाको रुपमा उभियो । सहकारीको विश्वव्यापीकरणसँगै नेपाल २०१० को दशकमा सुरुवात भएको नेपालको सहकारी अभियान विभिन्न चरणहरुमा आएर सामाजिक रुपान्तरण कोसे ढुंगा सावित भयो । सहकारीले समाजमा ल्याएको नयाँ आयाम र वित्तीय सहजताले सहरदेखि गउँसम्म सहकारीको अभियान दु्रत रुपमा वृद्धि र विकास भयो । राज्यको कुल ग्राहस्थउत्पादनमा खेलेको महत्वपूर्ण भूमिकाको कारण सहकारीलाई राज्यका अर्थव्यवस्थाको ३ वटा खम्बा मध्ये एक ठानेर नेपालको संविधानले यसको व्यवस्था गरी अगाडि सारेको छ । सहरमा भएको ठुलाठुलो परियोजनादेखि विभिन्न ग्रामिण क्षेत्रमा रहेका किसानको ढोकासम्म सहकारी कुनै न कुनै भूमिकाबाट मानव जीवनमा जोडिएको छ । चाहे साझा पसल होस्, चाहे किसानका लागि सहुलीयत मल, बीऊ, बिजन होस्, चाहे हाम्रो घर उज्यालो बनाउने बिजुली नै किन नहोस् । यी सबैमा सहकारीकै योगदान रहेको छ ।
सहकारीको विकासले एकातिर संख्यामा धेरै ठुलो सहकारीको संख्या बन्यो भने पुँजी बजारमा यसले कुल अर्थ व्यवस्थाको १८ देखि २० प्रतिशत भार यसले ओगटेको हुँदा ठूलो संख्यामा सहकारीहरुले वित्तीय कारोबार गर्दछन् । करिब ३५००० वटा सहकारीहरु मध्ये अधिकांशले गर्ने व्यवसाय वचत तथा ऋण नै रहेको छ । बचत तथा ऋणको कारोबार गर्ने अन्य विषयगत वा वहुउद्देश्यीय र बचत ऋणकै कारोबार गर्नका लागि स्थापित वचत तथा ऋण सहकारी संस्था (साकोस) वा Credit union हरुले हालबजारमा आफूलाई वित्तीय रुपमा स्थापित गर्नका लागि काम गरिरहेका छन् । पछिल्लो समय नियमनकारी भूमिका प्रभावकारी नहुँदा र स्वनियमन गर्न नसक्दा सहकारीले विभिन्न समयमा समुदायको अविश्वास समेत खेप्न परेको तितो यथार्थतामा नेपालका सहकारी संस्थाहरुले विश्वमा नै उत्कृष्टता प्राप्त गरेको उदाहरण रहेका छ । एसियाली ऋण महासंघद्वारा प्रदान गरिने गुणस्तर प्रमाणिकरण कार्यक्रम ACCESS प्राप्त २४ वटा साकोस र नेफ्सुकनले सहकारी विभागको समन्वयमा गर्ने नेपाल स्यन्डर कार्यक्रम Probation प्रमाणित ३४ वटा सहकारी रहेका छन् । यसरी संस्थालाई दिगो र सदस्य तथा समुदायमा स्थापित संस्था हुनका लागि संस्थाको पहिलो महत्वपूर्ण विषय वित्तीय सन्तुलन नै हो । आकारमा कत्रो बनाउने भन्दा पनि स्वस्थता कस्तो बनाउने भन्ने प्रमुख कुरा हुन्छ । यसका लागि मुख्य ध्यान दिनुपर्ने कुराहरुलाई यसरी हेर्न सकिन्छ ।
१) शेयर पुँजी
सहकारी संस्थामा भित्रिने प्रारम्भिक पुँजीको स्रोत शेयर पुँजी हो । शेयर पुँजीमा योगदान नगरी सहकारी संस्थामा सदस्यता प्राप्त हुँदैन र कुनै पनि कारोबार गर्नका लागि योग्य हुँदैन । तर संस्थाले एक जनालाई कनै शेयर पुँजीको २० प्रतिशतभन्दा बढी शेयर पुँजी प्रदान गर्नु हुँदैन । सबै सदस्यलाई समान रुपमा औषत शेयर रकम बराबर शेयर प्रदान गर्नुपर्छ भने कम्तिमा ३० प्रतिशतभन्दा कम सदस्यले मात्र औषत शेयर पुँजी बराबर वा सो भन्दामाथि शेयर खरिद गरेको छ भने त्यो संस्था अस्वस्थ छ भन्ने बुझिन्छ । जसको फलस्वरुप संस्था थोरै व्यक्तिको अधिकतम आर्थिक नियन्त्रणमा छ भन्ने बुझिन्छ । कुल सम्पत्ति वा वासलातको १० भन्दा कम र २० प्रतिशतभन्दा बढीको शेयर पुँजी पनि अस्वस्थ हो । तर सदस्यलाई सहकारी ऐनको परिधिमा रहेर शेयर लगानीमा सन्तुष्ट प्रतिफल दिने हो भने कम्तिमा ३० प्रतिशत सदस्यले औषत शेयर रकमभन्दा माथि शेयर किनेको कुल १२ देखि १५ प्रतिशतको शेयर पुुँजी संस्थाका लागि स्वस्थ पुँजी हो । शेयर पुँजीको आधारमा सदस्यकोहरु वर्गीकरण र ठुला शेयर भएका सदस्यहरुलाई मात्र महत्व दियो भने संस्था कुनै पनि समय र्दुघटना हुन सक्छ । संस्थामा शेयर पुँजी फिर्ताको लागि न योजना हुन्छ न त तरलता व्यवस्थापन गरिएको हुन्छ । दीर्घकालीन दायित्वको रुपमा शेयर पुँजीलाई हेरिने हुँदा ठुलो परिमाणमा शेयर फिर्ता हुँदा दुर्घटना हुने हुन्छ । यदि करोडौ शेयर पुँजी संकलित गरेर म ठुलो संस्था भनिरहँदा माथिको जस्तो अस्वस्थता हुनु भनेको भुस केलाउनु भन्दा पहिलेको धानको थुप्रो जस्तै हो ।
२) संस्थागत पुँजी
संस्थाले दायित्व बेहोर्न नपर्ने र संस्थाको अनन्तकालसम्म नघट्ने पुँजी नै संस्थागत पुँजी हो । जुन संस्था सबै वित्तीय सुचक सहित सुशासनमा छन् त्यस्ता सस्थाको संस्थागत पुँजी अधिक हुन्छ । संस्थागत पुँजी कुल सम्पतिको १० प्रतिशतभन्दा धेरै जुन बेला हुन्छ त्यस समय उसको cost of fund घटेर Base rate कम भइ सदस्यहरुलाई सुलभ दरमा सेवाहरु दिन सक्छ । प्रशस्त आकारले ठुलो हुन मात्रै संस्थाको सवल पक्ष त्यति बेला हुँदैन जति बेला संस्थागत पुँजी कमजोर हुन्छ । संस्थाको अल्पकालिन र दीर्घकालिन दायित्वहरुलाई व्यवस्थापन गर्न सस्थागत पुँजी महत्वपूर्ण हुन्छ । संस्थागत पुँजी कमजोर अवस्थामा अंकको आकार मात्रै ठुलो हुनु भनेको ऋणको भारीले थिचिएर उकालो लाग्नु जस्तै हो । प्रतिफल दर र सदस्यको सन्तुष्टी साथै सेवाको लागत निर्धारणको र संस्था कहिले पनि धरासायी नहुनका लागि संस्थागत पुँजी अनिवार्य रुपमा बलियो हुनुपर्छ ।
३) वचत संकलन
वित्तीय संस्था साकोस credit union हरु सञ्चालनको मुख्य स्रोत सदस्यहरुबाट संकलित बचत नै हो । संस्थाहरुको व्यवसायिक भयो भन्ने कुरा वचत कति संकलन भयो भन्नेमा निर्भर हुन्छ । तर यसरी संकलन हुने वचत आफैमा संस्थाका लागि कति लाभदायक छ भन्ने कुरा ख्याल राख्नै पर्छ । यदि नियमित रुपमा धेरै जनाले गर्ने मासिक बचत जसलाई हामी अनिवार्य मासिक बचत पनि भन्दछौ त्यस्तो बचतहरु, बाल बचत, नियमित मासिक बचत, बुढेसकाल साहारा बचतहरु कम्तिमा ३० प्रतिशत वा सो भन्दामाथि जति धेरै भयो त्यति नै राम्रो मानिन्छ । त्यस्तो वचत कम्तिमा ३० प्रतिशत सदस्यको हुनुपर्छ । धन सिर्जना गर्न वचतहरु १५ प्रतिशत र आवधिक बचत जसलाई मुद्धति वा Fixed deposit भन्दछौं त्यसलाई २० प्रतिशतभन्दा कम बनाई बाँकी साधारण प्रकृतिको बचत हुनुपर्छ । बचत र निक्षेप Saving र Deposit लाई छुट्टाछट्टै बुझेर कारोबार गर्नुपर्छ । प्राथमिक पुँजी कोष (संस्थागत कोष शेयर पुँजी) को १५ गुणाभन्दा बढी बचत संकलन गर्नु हुँदैन । एकै जना वा थोरै जना सदस्यको ठुलो वचत राख्नु हँदैन । ३ वर्षभन्दा लामो अवधिका आवाधिक वचत स्वीकार्नु हुँदैन र त्यो भन्दा लामो अवधिका दोब्बर बनाउने, डेढ गुणा गराउने जस्ता वचतहरु लिनु हुँदैन । जुनसुकै बेला ब्याजदर परिवर्तन गर्न सकिने बचत मात्रै लिनुपर्छ । माथिको जस्तै औषत वा प्रतिशतहरु नमिलाई वचत संकलन गर्नुभनेको तीन वटा टायरको गाडीमा यात्रा गर्नु जस्तै जोखिम हो । वचतको ब्याज एकै प्रकारको वचतमा सबै सदस्यलाई समान हुनुपर्छ । कर्मचारी सञ्चालकको र निजहरुको आफन्तको ब्याज र सदस्यको ब्याज फरक गर्ने गरेको पाइन्छ ।
४) बाह्य ऋण
संस्थाको व्यवसाय विस्तारको सहायक उपाय वा बाह्य स्राेतबाट ल्याइने ऋण हाे। यस्तो ऋण कहिल्यै पनि वचत फिर्तामा प्रयोग हुनु हुँदैन यानकी तरलता व्यवस्थापनमा लगाउनु हुँदैन । बाह्य ऋणबाट मात्रै संञ्चालित संस्थाहरुले जतिसुकै ठुलो वयवसाय गरे पनि सदस्यलाई पुर्ण रुपमा आर्थिक लाभदिन सक्दैनौ । सदस्यको जीवन परिवर्तनका लागि सुलभ सेवाहरु दिन सक्दैनन् । कुल सम्पत्तिमा ५ प्रतिशतभन्दा बढी ऋण ल्याएर संञ्चालित संस्था भनेको सुन्निएर ठुलो भएको जस्तै हो । अझै संजालभन्दा बाहिरको पैसा ल्याएर वयवसाय गर्ने यात्रा भनेको वित्तीय सहकारीका लागि अदुरदर्शी यात्रा हो । यसरी लिने ऋण को ब्याजदर सदस्यलाई दिने ब्याजको औषत दर भन्दा कम हुनु पर्दछ । यस्तो ऋण समान प्रकृतिका संस्थाबाट लिने दिने गरेको हुनु हुँदैन ।
५) तरलता
संस्थाको कारोवार व्यवस्थापन गर्न आवश्यक मौज्दातमा राखिएको नगद वा तुरुन्तै नगदमा परिवर्तन गर्न सकिने सम्पत्ति तरलता हो । कुल सम्पत्तिको आधारमा १० देखि २० प्रतिशत (सम्पत्तिको  गुणस्तर अनुसार) र कुल वचतको तुलनामा (१६ देखि २५) (वचतको गुणस्तर प्रकृतिअनुसार) तरलता मौज्दात राख्नैपर्छ । यदि त्यसो गरिएन भने सदस्यको विश्वास र संस्थाको व्यवसायलाई जोगाउन सकिदैन । यस्तो तरल रकमलाई बजारमा ब्याजदर तुलना गरी अधिक ब्याजदर आउने गरी सञ्जाल, सहकारी बैंक वा अन्य बैंकहरुमा सजिलै कारोबार गर्न सकिने गरि राख्नुपर्छ । जहिले पनि वचतसँग तरलताको गणना गर्दा (१६ देखि २५ प्रतिशत) भने पनि अल्पकालिन रुपमा गर्नुपर्नै भुक्तानी र बाह्य ऋणको एक महिनाभित्र तिर्नुपर्ने किस्ता (सावा ब्याज) बराबरको रकम घटाएर मात्र गुणन गर्नुपर्छ ।
६) वित्तीय लगानी
सदस्यलाई गरिने ऋण लगानी बाहेक अर्को संस्थाका लागि उपयुक्त आम्दानीको स्रोत हो वित्तीय लगानी । यस्तो लगानी मुलतः दुई वटा प्रयोजनका लागि  गरिन्छ । एक सञ्जालमा ऐकवद्धता दोस्रो लगानीबाट प्रतिफल । तरलता बढी भई ब्याज खर्च अत्याधिक हुने तर आम्दानी कम हुने अवस्थामा छोटो प्रकारका आवधिक वचत, संजालमा राम्रो प्रतिफल दिने संघहरु वा सहकारी बैंकमा शेयर लगानी गरी आम्दानी बढाउने गर्नुपर्छ तर आर्थिक लाभको लागि नभइ ऐकवद्धताकै लागि मात्र गर्दा भने कुल सम्पत्तिको २ प्रतिशतभन्दा कम हुने गरी मात्र यस्तो लगानी गर्नुपर्दछ ।
७) ऋण लगानी
वित्तीय सहकारीको प्रमुख आम्दानीको स्रोत र व्यवसाय नै ऋण लगानी भएको हुँदा कसलाई, कहिले, कसरी, किन लगानी गर्दछौैं भन्ने कुराले व्यवसायको भविष्य निर्धारण गरेको हुन्छ । सदस्य बनेको ३ महिना अगावै वा लगातार ३ महिनादेखि मासिक वचत गर्न नआएको सदस्यलाई ऋण प्रक्रियामा नै सहभागी गराउनु हुँदैन । पुराना ऋण, पुराना ब्याजहरुलाई एकमुष्ट पारी नयाँ लगानी देखाउने वा नवीकरण गर्ने कार्य गर्नु हुँदैन । प्राकृतिक ब्यक्ति सदस्य बाहेक अन्य संस्थागत सदस्यलाई ऋण लगानी कानुन विपरीत हो । एक जनालाई कति ऋण दिने भन्ने कुरा प्राथमिक पुँजी कोषको १० प्रतिशत हुने रकम हुन्छ । कुल सम्पत्तिमा ऋण लगानी ७० देखि ८० प्रतिशत रहनुपर्छ । तर यो रकम सदस्यको वचतभन्दा बढी भने हुनै पर्छ । ऋणलगानी गर्दा कुनै पनि सदस्यलाई ५ वर्ष भन्दा लामो अवधि नभएको राम्रो मानिन्छ । सबै सदस्यहरुलाई उसको आम्दानी अनुसारको मासिक किस्ता प्रणालीमा बाहेक एकमुष्ट भुक्तानी वा ब्याजमात्र भुक्तानी गर्ने गरी ऋण लगानी गर्नु हुँदैन । एकै घरपरिवारका एक जना ब्यक्ति भन्दाबढी ब्यक्तिलाई ऋण लगानी गर्नुहुँदैन यदि गर्नैपर्ने विषम परिस्थितिमा गर्नै परेमा २ जनाको ऋण रकम जोड्दा प्राथमिक पूँजी कोषको १० प्रतिशतभन्दा बढी हुनुहुँदैन । कर्मचारी र सञ्चालकले आफ्ना अनुकुलताका ऋणहरुलाई मनोमानी थोरै ब्याजदर वा शुन्य ब्याजदर गरी सदस्यहरुलाई पनि विभिन्न लाभ लिई ब्याजदर मिलाउने विकृतिले ठुलाठुला संस्थाहरु धरासयी भएको देखिन्छ । 
८) नकमाउने सम्पत्ति – (ऐनको दफा ५० सँग सम्बन्धित)
संस्थाको आम्दानी कम भई सदस्यहरुलाई सुलभ ऋण, वचतमा उत्कृष्ट ब्याजदर र शेयरको लाभांश राम्रो दिन नसक्नुको प्रमुख कारण संस्थाको नकमाउने सम्पत्ति बढी हुनु हो । यस्तो भएको अवस्थामा संस्थाको संस्थागत पुँजी कमजोर छ भने र नकमाउने सम्पत्ति बढी छ भने सदस्यलाई गरिएको लगानीभन्दा सदस्यको बचत बढी हुन्छ । संस्थागत पूजीँको ५० प्रतिशतभन्दा बढी नकमाउने सम्पत्ति जोड्नु भनेको जग्गा बेचेर महंगो खाट किनेर सुत्नु जस्तै हो । राम्रो घर, राम्रो बगैँचा, राम्रो गाडी, टायल, मार्बल, एसी, लगाएर संस्था ठुलो हुन्छ तर सक्षम र सबल हुँदैन । सदस्यको हित गर्न सक्दैन । संस्था त्यति बेला राम्रो हुन्छ, जतिबेला सन्तुष्ट सदस्य, समुदायको पहिलो रोजाईको संस्था बन्छ । जुन संस्था वित्तीय गुणस्तर राख्छ । वासलातको अंक त सबै सदस्यको सम्पत्ति हो संस्थाको दायित्व हो । ठुलो मात्र होइन राम्रो र ठुलो दुवै बन्न वित्तीय अनुशासन जरुरी हुन्छ । 
(लेखक, हाम्रो एकीकृत साकोस काठमाडौंका सिइओ हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर

Top