होमपेज / विचार
(मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अङ्ग्रेजी शिक्षाका उपप्राध्यापक एवं बहुआयामिक व्यक्तित्व बिष्णुकुमार खड्काको २०७६ सालमा भोगेका र अनुभव गरेका दिनहरुलाई उहाँले शब्द र तस्वीरमा उतार्नु भएको छ । हामीले उहाँका अनुभवहरुलाई उहाँकै शब्दमार्फत पाठक समक्ष पुर्याउने प्रयास गरेका छौ । उहाँका अनुभुतिहरु आजदेखि दैनिक बिहान ८ बजे प्रकाशन भइरहेका छन् ।)
रोममा रोमान्स ( नियात्रा : ख : २०७६ असार ७ र ८ )
काठमाडौंदेखि रोमका लागि सोझिएको यात्रा अबुदाबीको चौतारीमा आएर विसाइयो । भोक मेटाउने । थकाई मार्ने । पसिना पुछ्ने । भलाकुसारी गर्ने । चिनाजानी गर्ने । प्यास मेटाउने । हाटबजार गर्ने । यो धेरै देशमा जानेहरूको लागि साझा चौतारी रहेछ । हामीले पनि भारी बिसायौ । मनको प्यास मेटायौ । रङ्गिचङ्गी हाटबजार हेरेर प्रफुल्लित भयौ । धेरै नेपाली साथीहरुको हातमुख जोहो गर्ने त्यो केन्द्र रहेछ । हामी भलाकुसारी गरेर धन्य भयौ ।
मरुभूमिको देश रे । आखाले भ्याएसम्म झिलिमिली छ । त्यो चिलगाडिहरुको बिसौनी । एअरपोर्ट जो भनिन्छ । त्यसमै छौ हामी । म नियालिरहेछु एकोहोरो । पार्किङ गरेर राखिएका विभिन्न ब्रान्डका हवाइजाहजहरु । साना । ठुला । मझौला । चुच्चे । बुच्छे । गुच्छे। सादा । रङ्गिन । अनेक भातीका । म सानो छदा बाले कट्टी खोलामा माछा मार्न लैजादा देखाएका माछा जस्ता । आ आफ्नै सुर तालमा निष्फिक्री पौडिरहेछन । असला। बुदुना । कडङ्गा । डाफा । तेले । बाम । सहर । अनेक । म हेर्छु र हराउछु । कल्पिन्छु । कहाँ मेरो देश। कहाँ यिनिहरुको । यात्रा सोझियो इटालीको रोम । असला माछाको आन्द्राभित्रको क्याबिनमा छिरियो । असलो माछो निलो गगनमा छिर्यो । हरायो ।
विश्व सभ्यताको जननी रोमको रोमाञ्चक रङ्गमञ्च रङ्गियो । हामी रोमको बिसौनी फ्युमिसिनोमा उत्रीयौ । यदु सरका भाइ पर्ने इटालिको रोममा रहेको युनिभर्सिटीमा गणितमा पिएचडीमा अध्ययनरत मनोज ज्ञवाली सर रहेछ्न । इरासमस मण्डसको छात्रवृत्तिमा उनले यो अवसर पाएका रहेछन । हामी धन्य भयौ । उनले त्यहीँ रिसिभ गरे । बडो आत्मीय । बडो फरासिलो । उनले हामीलाई मेसो सिकाए । त्यहाँको भाषाको सहजीकरण गरे । मेट्रो रेल चढाए । सिटि बस चढाए । सुपर मार्केटमा पसाए । आफ्नै सौजन्यमा खाने बस्ने चाजोपाजो मिलाए । ढुक्क भैयो । दिउसोको घुमघामदेखि साझको खाने बस्ने सुत्नेसम्मको । तनावमुक्त । आभारी भयौ ।
असार ७ र ८ गतेको दिनभर रोममा रमाइयो । रोमको आदिम सभ्यतासङ्गको रोमान्स अदभुत रह्यो । त्यो सभ्यतासङ्ग जोडिएका त्यहाँका शासकहरुले बनाएका भौतिक संरचनाहरु । तिनमा कुदिएका कला कौशलको सौन्दर्य । त्यो बेलाको वास्तुकला । मूर्तिकला । तिनका राजदरबार । चर्च । गिर्जाघर । पेन्टीङ्ग । क्यानभासमा सजिएका सजिव आकृती । उ बेलाको सभ्यताको अवशेष जस्ताको तस्तै सजिव छ । तिनी ठुला ठुला चट्टानले बनेका भिमकाय भवनहरु । तिनमा कुदिएका अलौकिक कलाकृती । सङ्गै निर्माण गरिएका आधुनिक डिजाइनका भव्य भवनहरु । शनिबार र आइतबारको विदामा जुटेका जोडिहरु । पार्कमा तिनको रोमान्स । रौनक । रङ्गिन रङ्गमञ्च ।
रोमको सुक्ष्म अधयन त गर्न सकिएन । नाङ्गो आखाले जे देख्यो त्यो मन प्रफुल्ल बनाउने खालको रह्यो । पश्चिमी सभ्यताको जननीको रूपमा रहेको रोमसङ्ग साक्षत्कार गरेपछि हाम्रो पुर्वी सभ्यता पनि कम्ती रहेनछ भन्ने लाग्यो । मैले चागुनारायण, हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपति क्षेत्र, किर्तिपुर क्षेत्र, स्वयम्भू, लुम्बिनी आदि क्षेत्रमा रहेका कलाका नमूनासङ्ग तुलना गरे । त्यो भन्दा कुनै हिसाबले कम्ती पाइन । यस हिसाबमा हाम्रो पुर्वीय सभ्यताको सचिव चित्र पनि अब्बल छ । मलाई यस्तो लाग्यो हाम्रो लघुताभास मनोबिज्ञान उचो हुनु पर्छ । यस्तै अनेकन लहर लहरै उठिरहे । मनोज सरलाई धन्यवाद दिएर हामी भिट्र्बोतिरको यात्रामा मोडियौ । जहाँ टुसिया युनिभर्सिटीका मित्र रिनातो हामीलाई रिसिभ गर्न गाडी लिएर हाजिर थिए । हामी उनले डोर्याएको गन्तव्यमा गुड्यौ ।

भिटर्बो भाइब्स (नियात्रा : ग ८, ९, १०, ११ असार, २०७६)
असार ८ । भिटर्बो । हाम्रो मुख्य गन्तव्य । युनिभर्सिटी अफ टुसिया जहाँ रहेको छ । जसको निमन्त्रणामा हामी जहाँ जादैछौ । यात्रा उतै सोझिएको थियो । रिनातो । गमक्क फुलेका कपाल, जुङ्गा, दाह्री । अविवाहित । परिपक्व । विश्वविद्यालयको टेक्निसियन । उसको चाजोपाजो जुटाउनु भएको थियो प्रकाश सरले। हामी होमियौ । गाडी गुड्यो । सडकको वरिपरिको हरियाली । सुगन्धित फुलहरुको बगौचा । दुई लेनको बिचको भागमा रङ्गिचङ्गी फुलहरुको स्वागत । यो दृष्यलाई कैद गर्न म मेरो मोबाइलको भिडियो अन गरेर निरन्तर जुटिरहेको थिए । उता रिनातोले सबै बेलिविस्तार लगाइरहेका थिए । सुन्दरताको स्वादको सन्तुष्टि । च्यातिने गरि नझिम्क्याई टोलाइरहेका नयन । रिनातोको बेलिबिस्तारमा हो मा हो मिलाइरहेका थिए । भिटर्बोको एतिहासिक, राजनीतिक, भौगोलिक , जनजीवन आदि अनेकन पक्षमा स्वादिलो व्याख्या इटालियन अङ्ग्रेजीको भाषीकामा मीठो मानेर सुनिरहयौ ।
भिटर्बो पुगिएछ । गाडी सुस्तायो । टक्क अडियो । चिकेन हट अगाडि । बङ्गलादेशमा नागरिकले संचालन गरेको त्यो खाजा घर रहेछ । खुब मीठो मानेर चिकेनका सबेडा चपाइयो । विर्यानी कोचियो । कोक रित्याइयो । हिन्दीमा वात मिसाइयो । खुब आत्मीय लाग्यो । जानासाथ सक्कल हेरेछ । मुलाले इन्डियन ? पो भन्यो यार । साला ...। नेपाली । कडो स्वरमा झ्याप्प गयो । अनि बल्ल ह जि ह जि बोल्यो । पारा नि ...। होटेल टुसिया । हाम्रो भिटर्बो रहदासम्मको आवास । रिनातोले लिएर गन्तव्यमा पुर्याएर विदा माग्नुभयो । हामी बिन्दास सुत्यौ । भोलि बिहानको मिटिङ्गको प्रतीक्षामा ।
असार ९ । विहान नित्यकर्म भ्याएर मिटिङ्गको लागि औपचारिकता सुरु भो । सरहरु कोट पाइन्ट टाई र टोपिमा लर्किए । फेरि उहि चिकेन हट । उहि बिर्यानी । चिकेन विङ्ग । कोक, क्यापिचिनो (कफि) । युनिभर्सिटी अफ टुसियाको इकोनोमिक्स बिभागमा मिटिङ्ग सुरु भयो । विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागकि मार्सेला, इकोनोमिक्स बिभागका प्रमुख, नेपालका कृषि तथा बन विश्वविद्यालयका केही विद्यार्थीसङ्ग समसामयिक शेयरिङ्ग । दुबै विश्वविद्यालयका कार्यक्रम र सम्भावनाको बारेमा छलफल सकियो । मिटिङ्ग भ्याइयो । अझै हामिसङ्ग अझै समय थियो । हाम्रो मिसन भिटर्बो सेल्फ एक्सपोलोरेसन बन्यो । हिड्दै । फोटो खिच्दै । फेसेमा सुरक्षित गर्दै । साझैसम्म हाम्रो मिसन उहि रह्यो । रिनातो साझ जोडिन आइपुग्नु भयो । वरपर र सुपरमार्केट घुमफिर रह्यो । त्यसपछि हामी त्यहाँको फेमस रेस्टुरेन्टमा पुग्यौ । जो पिजाको लागि फेमस थियो । रिनातोको गाडी उतै गुडिरहेको थियो । हामीले पिजाको स्वाद लियौ । भोलि दिउँसो फेरि इन्टर्नेशनल विभाग प्रमुख कार्लोसङ्ग रेक्टर अफिसमा भेटघाट र समसामयिक छलफलको कार्यक्रम थियो । त्यहाँ हाम्रो आफ्नो शेयरिङ्ग पनि थियो । त्यो तयारी गर्नु थियो । हामी त्यसमा जुट्यौ ।
असार १० । विहानको नित्यकर्मसङ्गै आज कार्लोसङ्गको मिटिङ्ग सकाएर अनन्त सर फर्किनुपर्ने बाध्यता थियो । नमजा लाइराथ्यो । युनिभर्सिटी अफ टुसियाको रेक्टर अफिसमा कार्लोसङ्ग मिटिङ्ग भयो । इरासमस मन्डससङ्ग जोडिएका अल्बानियाको युनिभर्सिटी र स्पेनको युनिभर्सिटीका प्रोफेसरहरु सङ्ग नि चिनाजानी भयो । विश्वविद्यालयका विविध पक्षमा जानकारी भयो । भोलि विहान युनिभर्सिटीको बोटानी गार्डेन भिजिट गर्ने । डकुमेन्टहरु तयारी गर्ने । विश्वविद्यालयको पुस्तकालय लगायतका क्लास भिजिङ्ग कार्यक्रम तय भयो । अनन्त सरलाई मिस गर्दै शुभयात्रा भनियो । कृषि तथा बन बिज्ञान विश्वविद्यालयका तीन जना विद्यार्थी साथीहरु (जो एक्स्चेन्ज प्रोग्राममा गएका रहेछन) सहित हामी बचेका ४ जना सहित रिनातोजिले समुन्द्रको रहर पनि पुरा गरिदिनु भयो । हामी मस्तले समुन्द्रमा रमायौ । नथाकुन्जेलसम्म खेलियो । फर्केर आउँदा खुब थाकेछौ सबै । उहि चिकेन हटमा बेलुकीको जोहो गरेर भुसुक्क निदाइयो ।
असार ११ । बिहानै मार्सेला र उहाँको टीम हामीलाई विश्वविद्यालयको बोटानी गार्डेन देखाउन जुट्यो । युनिभर्सिटी अफ टुसियाको बोटानीकि प्रोफेसरले इटालीयन भाषामा व्याख्या गर्नुभएकोलाई मार्सेला र उहाँको साथिले अङ्ग्रेजीमा हामीलाई अनुवाद गरेर सुनाउनु भयो । हाम्रो विश्वविद्यालयका बोटानीवाला प्रोफेसरलाई मिस गरेका थियौ । खाली जग्गा लिजमा लिएर बनाइएको त्यो गार्डेन आफैंमा बोटानीको लागि व्यवहारिक ज्ञानको विश्वविद्यालय थियो । हाम्रोमा यस्तो तयारी सहितको विश्वविद्यालय कहिले होला ? प्रश्न तेर्सिएको थियो । फेरि रेक्टर अफिस पुगेर प्रोफेसर कार्लोसङ्ग भेटयौ । प्रमाणपत्र ग्रहण गर्यौ । एक जना अङ्ग्रेजीको प्रोफेसरले विश्वविद्यालयको बारेमा पुस्तकालयदेखि सबै वृतान्त बताएपछि हामी रोम हुँदै स्विटजरल्यान्डको ज्युरिचतर्फ हानियौ ।
क्रमश :