ट्रेण्डिङ

होमपेज / विचार

फिफा विश्वकप आजदेखि शुरु

उद्घाटन खेलमा फेरि मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने

नेपालगाथा २०८३ जेठ २८ गते बिहीबार १६:३०:५४ मा प्रकाशित

काठमाडौं। फिफा विश्वकप २०२६ आजेदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका बीच आमनेसामने हुने भएकाे छ। अफ्रिकी भूमिमा आयोजित पहिलो फिफा विश्वकप सन् २०१० मा आयोजक देश दक्षिण अफ्रिकाले उद्घाटन खेलमा मेक्सिकोसँग १–१ को बराबरी खेलेको थियो। १६ वर्षपछि आज मध्यरातमा (१२ः४५ बजे) यी दुई टोली फेरि विश्वकपको उद्घाटन खेलमै आमनेसामने हुँदैछन्।

यसपटक सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई स्वागत गर्दै उत्तर अमेरिकामा फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित संस्करणको सुरुआत गर्नेछ। करिब ८० हजार दर्शकले भरिने अपेक्षा गरिएको प्रतिष्ठित एस्टाडियो अज्टेका रंगशालामा हुने उद्घाटन खेल भव्य हुने अपेक्षा गरिएको छ।

इतिहासकै सबैभन्दा ठूलो विश्वकपको सुरुआत

मेक्सिको सिटीमा हुने बिहीबारको खेलसँगै ३९ दिन लामो प्रतियोगिता सुरु हुनेछ। प्रतियोगितामा कुल १०४ खेल हुनेछन्, जुन कतार २०२२ को तुलनामा ४० खेल बढी हो।

मेक्सिको सिटीमा हुने बिहीबारको खेलसँगै ३९ दिन लामो प्रतियोगिता सुरु हुनेछ। प्रतियोगितामा कुल १०४ खेल हुनेछन्, जुन कतार २०२२ को तुलनामा ४० खेल बढी हो।

४८ टोलीको सहभागितासहित विश्वकप २०२६ फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण हो। साथै, यो पहिलोपटक तीन देश—संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेका छन्।

खेल सुरु हुनुभन्दा ठीक ९० मिनेटअघि उद्घाटन समारोह हुनेछ। समारोहको मुख्य आकर्षण चार पटक ग्रामी पुरस्कार विजेता सुपरस्टार शाकिरा हुनेछिन्। साथै कोलम्बियाली गायक जे बाल्भिन र दक्षिण अफ्रिकी गायिका तथा गीतकार टाइलाले पनि प्रस्तुति दिनेछन्।

घरेलु दबाबमा मेक्सिको

फुटबलप्रति अत्यन्तै उत्साहित राष्ट्र मेक्सिकोका लागि विश्वकप नयाँ विषय होइन। ‘एल ट्री’ उपनामले चिनिने मेक्सिकोले विश्वकपमा १७औँ सहभागिता जनाउँदैछ। उद्घाटन खेल आयोजना गर्नु आफैँमा ठूलो उपलब्धि हो। अझ विशेष कुरा, एस्टाडियो अज्टेका विश्वकपका तीन उद्घाटन खेल आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्नेछ। यसअघि यहाँ सन् १९७०, १९८६ र अब २०२६ को उद्घाटन खेल हुँदैछ।

घरेलु मैदानको फाइदा र फिफा वरीयतामा उच्च स्थानका कारण मेक्सिको यस खेलको बलियो दाबेदार मानिएको छ। तर ८० हजारभन्दा बढी समर्थकको उपस्थितिले टोलीमाथि जितसहित प्रतियोगिता सुरु गर्नुपर्ने दबाब पनि थपिएको छ। मेक्सिको पछिल्ला आठ खेलमा अपराजित छ। यो विश्वकपअघि उसले बनाएको सबैभन्दा लामो अपराजित यात्रामध्ये एक हो, जसले प्रशिक्षक हाभिएर अगिरे (एल भास्को)को टोलीलाई थप आत्मविश्वास दिएको छ।

दक्षिण अफ्रिका कमजोर छैन

फिफा वरीयतामा ६०औँ स्थानमा रहेको दक्षिण अफ्रिका १४औँ स्थानको मेक्सिकोभन्दा धेरै तल छ। तर ‘बाफाना बाफाना’का प्रशिक्षक हुगो ब्रुस आफ्नो टोलीले उलटफेर गर्न सक्नेमा विश्वस्त छन्। मेक्सिकोजस्तो नियमित विश्वकप सहभागी टोली नभएको दक्षिण अफ्रिका १६ वर्षपछि पुनः विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किएको हो। यो उसको चौथो विश्वकप सहभागिता हुनेछ।

ब्रुसले उद्घाटन खेलअघि पत्रकारहरूसँग भनेका छन् ‘हाम्रा लागि यो अद्भुत अनुभव हुनेछ। हामीले खेल योजनामा केन्द्रित रहनुपर्छ र रंगशालामा के भइरहेको छ भन्ने कुरामा ध्यान दिनु हुँदैन।’ दक्षिण अफ्रिकाको तयारी भने केही भिसा समस्याका कारण प्रभावित भएको थियो। टोलीका केही सदस्य ढिलो पुगेका कारण मध्य मेक्सिकोको वातावरणमा अभ्यस्त हुन पर्याप्त समय पाउन सकेनन्।

यद्यपि कठिन छनोट यात्रा पार गर्दै आएको दक्षिण अफ्रिकाले फेरि एकपटक आयोजक टोलीलाई समस्यामा पार्ने आशा राखेको छ। समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, चेक रिपब्लिक र दक्षिण कोरिया रहेका छन्। १२ समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने आठ तेस्रो स्थानका टोली नकआउट चरण अर्थात् राउन्ड अफ ३२ मा पुग्नेछन्। विश्वकपमा पहिलोपटक राउन्ड अफ ३२ समावेश गरिएको हो।

हेड टू हेडमा मेक्सिको अगाडि

यी दुई टोलीबीच विश्वकपमा यो पाँचौँ भेट हुनेछ। मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल आफ्नो पक्षमा पारेको छ। एक खेल बराबरीमा सकिएको थियो। दुवै टोलीको पछिल्लो भेट सन् २०१० को विश्वकप उद्घाटन खेलमा भएको थियो। त्यस खेलमा सिफिवे छाबालालाले शानदार गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए।

तर राफाएल मार्केसले बराबरी गोल फर्काएपछि खेल १–१ मा टुंगिएको थियो। जोहानेसबर्गमा भएको उक्त खेल ८४ हजार ४९० दर्शकले प्रत्यक्ष हेरेका थिए।

पछिल्ला पाँच खेलको प्रदर्शन

मेक्सिकोः जित – जित – जित – बराबरी – बराबरी

दक्षिण अफ्रिकाः बराबरी – बराबरी – हार – बराबरी – हार

मेक्सिकोले विश्वकपअघि घाना, अस्ट्रेलिया र सर्बियामाथि मैत्रीपूर्ण खेलमा लगातार जित निकालेको थियो।

दक्षिण अफ्रिकाले भने पछिल्ला तीन मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेन। उसले जमैका र निकारागुवासँग बराबरी खेलेको थियो भने पानामासँग पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top