ट्रेण्डिङ

होमपेज / विचार

मानव भर्सेस कोरोना

— एन.बि.‘प्रगल्भ’

नेपालगाथा २०७६ चैत्र २२ गते शनिबार १७:३६:५६ मा प्रकाशित

मानव जाति यो ब्रम्हाण्डकै सर्वोत्कृष्ट प्राणिका रुपमा परिचित छ । मानव जातिमा रहेको चेतना र ज्ञानले नै आज संसारको सर्वोत्कृष्ट स्थानमा मानव जाति रहेको छ । के मानव जाति यही स्थानमा यो ब्रम्हाण्डमा आफ्नो अस्तित्व जोगाइ राख्न सक्ला त ? आज यो प्रश्न गम्भीर रुपमा सम्पूर्णको मन मस्तिष्कमा उठिरहेको छ । विश्वभरिनै करिब २०० बढी राष्ट्रमा नोवेल कोरोना भाइरसको महामारीले आक्रान्त भइरहेको अवस्था छ । मानव जातिले मृत्युलाई मात्र जित्न नसकिरहेको अवस्थामा कोरोना भाइरसले विश्वभरिनै भयावह स्थिति सिर्जना गरिदिएको छ । सन् २०१९ को डिसेम्बरतिर देखा परेको कोभिड–१९ सर्वप्रथम चिनको वुहान सहरबाट महामारीका रुपमा फैलिदैं आज विश्वभरीका मानव जातिलाई नै चुनौती दिइरहेको  छ ।
पृथ्वीमा रहेका करिब ५ अर्ब मानिसहरु विभिन्न भूगोलमा बसोबास गरे पनि आज विज्ञान र प्रविधिको विकासले उनीहरुलाई एउटै कोठाभित्र भएको अनुभव गराउँदछ ।  अहिले विश्वभरी युद्धको स्थिति जस्तै छ । कुनै देश देशको धर्म जाति, वर्ग, वर्ण र लिंग बीचको नभएर ब्याक्टेरिया भन्दा पनि सय गुणा सानो आकारमा हुने भाइरसका विरुद्ध मानव जातिले हात, हतियार, वम, बारुदको प्रयोग बिना सचेतना र धैर्यताको युद्ध लडिरहेको छ । 
विश्वभरीको मानव जाति आफनो अस्तित्व रक्षाका लागि एकातिर र कोरोना भाइरस अर्कोतिर । कोरोना भाइरस आक्रामक ढंगले अगाडि बढेको देखिन्छ भने मानव जाति आफ्नो अस्तित्व रक्षाका लागि रक्षात्मक अवस्थामा सुरक्षित स्थानमा आफूलाई सचेत र धैर्य बनाएर आफ्नै परीक्षा आफै लिएर बस्नुपर्ने अवस्थामा पुगेको छ । संसारको सबैभन्दा चलायमान प्राणि नै मानव हो । वौद्धिक रुपमा, भौतिक रुपमा हरेक हिसाबले आफूलाई विकसित गर्दे लैजाने, प्रयोग गर्दै लैजाने, बनाउँदै भत्काउँदै र भत्काउँदै बनाउदै गर्ने ।
    मानव जीवनको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्ने गरी पटक–पटक थुप्रै महामारीहरुको सामना गर्नुपरेको छ । इतिहासलाई पल्टाएर हेर्दा थुप्रै भयंकर भाइरसहरुको सामना गर्दै ठूला–ठूला क्षतिहरु बेहोर्दै आजको अवस्थासम्म आइपुगेको देखिन्छ । संसारको इतिहासमा सन् ५४१ मा रोमको बाइजान्टाइन साम्राज्यको राजधानी कन्स्टान्टी नोपलबाट सुरु भएको प्लेग अफ जस्टिनियनले एक वर्षसम्म विश्वभरी नै त्रास फैलाएको थियो । उक्त प्लेगले संसारभरी नै तीनदेखि पाँच करोड मानिसको ज्यान लिएको थियो । जुन त्यसवेलाको विश्वको लगभग आधा जनसंख्या थियो । त्यसैगरी सन् १३४७ मा मानव सभ्यताको बिनासका रुपमा सिर्जित भएको ब्ल्याक डेथबाट संसारभर २० करोड मानिसको ज्यान गयो । यो महामारी युरोपबाट एशियासम्म फैलिएको थियो । सन् १३४७ को अक्टोबरमा इटालीको सिसिली स्थित मेसिना बन्दरगाहमा १२ वटा पानी जहाजमा कोही मृत, कोही बिरामी अत्यन्तै दयनीय अवस्थामा यात्रुहरु भेटिए । यस घटनाबाट सिर्जित ब्ल्याक डेथले मानव जीवनमा ठूलो क्षति पु¥यायो । त्यसै क्रममा मानिसहरुले रोगी मानिसको नजिक नजाँदा यो रोग सर्दैन भन्ने थाहा पाइसकेपछि पानी जहाजका यात्रुलाई बिरामी नभएको प्रमाणित नहुन्जेल एकान्तमा राख्ने गरियो । जसलाई ‘क्वारान्टिनो’को रुपमा उल्लेख गरियो । अहिले चलन चल्तीमा रहेको ‘क्वारेन्टाइन’को पहिलो रुप थियो त्यो । 
अर्को स्पेनिस फ्लुको नामले परिचित सन् १९१८ बाट फैलिएको महामारीले पाँच करोड मानिसको ज्यान लिएको थियो । तत्कालीन समयमा करिब ५० करोड मानिसलाई लागेको उक्त फ्लु मानव इतिहासको एउटा घातक महामारीका रुपमा लिइन्छ । रोचक कुरा के छ भने स्पेनिस फ्लु स्पेनबाट उत्पत्ति नभएता पनि प्रथम विश्वयुद्ध चलिरहेको अवस्थामा कुनै पक्ष पनि यस बारेमा बोल्ने पक्षमा थिएनन् । स्पेन युद्धमा सहभागी नभएकाले यसबारे पहिलो सूचना स्पेनले दियो । जस कारण युरोपेली र अमेरिकी सञ्चार संस्थाले यसलाई स्पेनिस फ्लु भन्ने उपनाम दिए । माइक्रोस्कपबाट समेत भाइरस नदेखिने र डाक्टरलाई पनि उपचारका विषयमा केही जानकारी थिएन । उक्त भाइरसको कुनै औषधि नभएकाले बच्नका लागि क्वारेन्टाइन र स्वास्थ्य तथा सरसफाइलाई जोड दिइएको थियो । माक्स लगाएर मात्रै हिड्नु पर्ने नियम बनाइएको थियो । सार्वजनिक स्थानहरु विद्यालय, चर्चलगायतका बन्द गरिएको थियो । सन् १९३८ मा मात्रै  यो फ्लु रोक्ने खोपको विकास गरियो । यस वाहेक मानव सभ्यतामाथि चुनौती दिने स्मालपक्स, प्लेग अफ लण्डन, सार्स, इबोला, स्वायन फ्लु लगायत थुपै्र महामारीहरु विश्वमा देखा परे । महामारीले अत्यन्तै धेरै मानवीय क्षति गरायो ।
    अतः कोरोनासँगको युद्धमा कुन राष्ट्र«, जाति, समुदाय, वर्ग, वर्ण, धर्म आदि सफल असफल हुन्छ भन्ने भन्दा पनि सम्पूर्ण संसारभरीको मानव जातिको अस्तित्व रक्षाको निम्ति मानिसले कस्तो खालको सहयोगी भूमिका निर्वाह गर्छन् ? एकजुट भएर महासंकटको सामना गर्न तयार हुन्छन् कि हुँदैनन ? मान्छेले आफूभित्र रहेको घमण्ड, अहंकार र निर्दयीपनलाई कत्तिको नियन्त्रण र निर्मुल गर्न सक्छन् ? चेतनशील प्राणी हुनुको कर्तव्यलाई व्यवहारमा कसरी उतार्छन् ? आफू भित्रको मानवतालाई प्रकृतिसँग सहकार्य गरेर जान्छ कि विपरीत बाटोमा पाइला चालेर प्रकृतिलाई चुनौती दिन्छ ? यस्तै खालका प्रश्नहरुको उत्तरहरुबाट नै मानव अस्तित्व रहने कि नरहने भन्ने कुराको निर्धारण हुन्छ । आजसम्मको इतिहासमा भाइरसविरुद्धको युद्धमा मानव जातिले अपुरणीय क्षतिका बाबजुद विजय हाँसिल गर्दै आएको छ । फेरि पनि विश्वमा विज्ञान र  प्रविधिको विकासबाट स्वास्थ्य क्षेत्रको उल्लेखनीय विकास भएको छ । यस अवस्थामा थोरैभन्दा थोरै क्षतिमा भाइसरको नियन्त्रण गर्नका निम्ति आफ्नो संस्कार र आचरणमा परिवर्तन ल्याउँदै ज्ञान र विवेकले आफूमाथि नै नियन्त्रण गर्ने नै भाइरसविरुद्धको मानवको विजयी यात्रा हो ।   


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top