ट्रेण्डिङ

होमपेज / विचार

एकान्तबासमा ज्ञानको क्षेत्र बढाऔं

नेपालगाथा २०७६ चैत्र १९ गते बुधबार १५:२३:०० मा प्रकाशित

हिजो आज कोरोना र लकडाउन शब्द नसुनिने र नदेखिने स्थानहरु संसारमै अब छैनन् होला । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण समग्र विश्व महाविपत्तिको सामना गरिरहेको छ । यही महाविपत्तिका अधिकांश देशहरुले कोरोनाविरुद्धको संघर्षमा सफलता प्राप्त गर्नका लागि मुलुकलाई लकडाउनको अवस्थामा राखेर संघर्षलाई निरन्ततरता दिइरहेका छन् । ठीक यही अवस्थाबाट हाम्रो मुलकुले पनि कोरोनाविरुद्ध संघर्ष गरिरहेको छ । 
यतिबेला हाम्रा स्कुल, कलेजहरु बन्द छन् । परीक्षा नै दिन नपाएर स्कुले भाइ, बहिनीहरु घरमा बस्नुपरेको छ । एसइइ दिन गएका विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगेर फर्किनु परेको छ । यस्तो अवस्थामा अभिभावक र विद्यार्थीहरुले कसरी समयलाई उपयोग गर्ने भन्ने विषयमा थोरै चर्चा गरौं जस्तो लागेर चर्चा गरिएको छ ।
विगतका दिनमा हुने स्कुल कलेजका विदाहरु भन्दा यो भिन्न परिस्थितिमा भएको विदा हो । यसलाई ‘लकडाउन’ अर्थात ‘एकान्तबास’ भनिएको छ । यो विदा रमाउनका लागिभन्दा पनि महामारीबाट बच्न र बचाउनका लागि भएको विदा हो । यस्तो प्रकारको विदा संकटको अवस्थामा मात्र हुन्छ । विपत्तिको वेलामात्र हुन्छ । त्यसैले नियमितरुपमा हुने विदा जस्तो होइन । विगतमा भएगरेका विदाहरु मध्ये यो निकै नै भिन्न प्रकारको विदा हो लकडाउन ।
यतिवेला आफूले मन चाहिँदो गरी घर बाहिर निस्कन पाईने अवस्था छैन । मन लागेको ठाउँ र मन लागेको साथीभाईसँग भेटघाट गर्न पाईने छैन । यस्तो अवस्थामा घरमै बसेर कसरी समयलाई उपयोगी बनाउने त भन्ने विषयमा चर्चा गर्न खोजिएको छ ।
यतिवेला स–साना भाईबहिनीहरुलाई घरमा स्वअध्ययन गर्ने र आफ्ना अभिभावकहरुसँग घुलमिल गर्न पाउने यो मौका मिलेको छ । व्यस्तताकाबीच बालबालिकालाई समय दिन नसक्ने अभिभावकहरुका लागि यो समय उपलब्धिमूलक हुनसक्छ । विद्यार्थीहरुले यसअवधिमा विभिन्न खाले तालिमहरु गर्न सक्छन्् । जस्तै चित्रकला, हस्तलेखा इत्यादि कुराहरु सिक्न सक्छन् । त्यस्तै अलि ठूला तहका विद्यार्थीले बोल्ने शक्ति बढ्ने तालिम तथा विभिन्न पुस्तक पढ्न सक्छन् । साहित्य लेखन तथा अध्ययन उनीहरुले छोटो समयमा नै ज्ञान आर्जन हुने सीप तथा तालिमहरु सिक्न सक्छन् । आफूले हालसम्म पढेका विषयवस्तुलाई दोहो¥याएर थप ज्ञान हासिल गर्न सक्छन् । सामान्य ज्ञानसम्बन्धी जानकारी लिन सक्छन् ।
हामी घरमा बसेको वेला मोवाईल रेडियो, टिभी, कम्युटर आदि प्रयोग गरेर बसिरहेका हुन्छौं । यी साधनहरुमा भुल्यौं भने हामी खाना खानसमेत भुल्ने गछौं । कतिपय अवस्थामा गेम खेलेर घण्टौं बिताईरहेका हुन्छौं । सामाजिक सञ्जालमा अनावश्यक ढंगबाट झुण्डिरहेका हुन्छौं । तर यस बखत यी नै विद्युतीय सामाग्रीलाई हाम्रो विद्यालय ठानेर, ज्ञानको भण्डार ठानेरअध्ययनको क्षेत्रलाई अगाडि बढायौं भने अत्यन्त उत्तम र जीवन उपयोगी हुनेछ ।
तपाई हामीले हेरिरहको युट्वुमा पनि कैयौ प्रकारका ट्युटोरियल पाठ्य सामग्रीहरु भेटिन्छन् । अंग्रेजी व्याकरण, गणितका हिसाब, कम्प्युटरका नोटहरु मात्र नभएर आफूलाई परेको समस्यालाई युट्वुमा ‘हाउ’ अर्थात कसरी भनेर खोज्ने हो भने सम्बन्धित एक्सपर्टहरुले त्यसबारेमा विवरणहरु राखेका हुन्छन् । त्यसबाट पनि सहजै ज्ञान सीप हासिल गर्न सकिन्छ । यूट्वुबबाट चाहे जस्तै श्रव्यदृष्य सामाग्रीहरुको स्वाद लिन सकिन्छ । युट्वुबबाट मनोरञ्जनमात्र होईन धेरै प्रकारका शिक्षा पनि लिन सकिन्छ ।आफूले अध्ययन गर्न चाहेको विषयवस्तुलाई गुगुल सर्च इन्ञ्जिन र विकिपिडियामार्फत पनि हामीले जानकारी प्राप्त गर्न सक्छौं । गुगुल सर्च इन्ञ्जिनले विश्वमा भएका अधिकांश विषयवस्तुहरुको जानकारी राख्दछ र दिन्छ । यो पनि भाइबहिनीहरुको यो समयमा अध्ययन सामाग्रीको स्रोत बन्न सक्छ । 
आज विश्व डिजिटल युगमा प्रवेश गरिसककेको छ । अध्ययन अध्यापनका स्रोत सामाग्रीका लागि भरपुररुपमा इन्टरनेटको प्रयोग गरी कुनै एककुनाबाट अर्काे कुनाका विद्यार्थीलाई अध्यापन गराउन सक्ने व्यवस्थाको अभ्यास पनि भइसकेको छ । जसलाई ईलर्निङ पनि भन्ने गरिन्छ । नेपालमा मिदासले अभियान सञ्चालन गरेको छ । मिदास र संस्थागत विद्यालयहरुका संगठन मिलेर यो बेला घर मै बसेर मिदासका इक्लासबाट  अध्ययन गर्न सकिने व्यवस्था पनि गरेका छन् । यी र यस्तै खालका प्रविधिको विकास सरकारले आफ्नै तवरबाट गरेर अगाडि बढाउन सकेको भए आज यो लक डाउनको बेलामा पनि घरमै बसेर पठनपाठन क्रियाकलाप अघि बढाउन सकिन्थ्यो । त्यो सम्भव भएन । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भने यतिवेला मिदाससँगको सहकार्यमा केही प्रयास भएको छ । यसलाई पनि प्रयोग गरेर हामीले तहगत पाठ्यक्रमहरु अडियो भिडियो माध्यमबाट अध्ययनअध्यापन गर्न सक्ने छौं  ।
ईन्टरनेट मै अध्ययनका लागि हामीले विभिन्न विद्युतीय पुस्तकालयहरुमार्फत पनि अध्ययन गरेर ज्ञान हासिल गर्न सक्छौं । नेपालका सन्दर्भमा ईपुस्तकालय डट ओआरजीमा प्रायःहालसम्मका सबै विषय बस्तुहरु, विभिन्न विधाका पुस्तक तथा आर्टिकलहरु, इतिहासदेखि लिएर तहगत पाठ्यक्रमहरुको अध्ययन गर्न सक्छौं । त्यति मात्र होईन अन्तर्राष्ट्रियस्तरका इपुस्तकालयबाट पनि विभिन्न ज्ञान हासिल गर्दै ज्ञानको क्षेत्र यो अवधिमा बढाउन सक्छौं । 
यसबाहेक घरमा अभिभावकसँग मिलेरै व्यवहारिक ज्ञान पनि लिन सक्ने प्रसस्त अवसरहरु छन् । भान्सामा खाना पकाउँदा सघाएर हुन्छ या करेसा बारीमा तरकारी लगाउँदा सघाएर होस् यसरी पनि व्यवहारिक ज्ञान हासिल गर्ने र सहयोग गर्ने अवसरका रुपमा पनि यो समयलाई प्रयोग गर्न सकिन्छ । यस्ता गतिविधिले पनि ज्ञान हासिल गर्न सक्छन् ।
अभिभावकहरुले आफ्ना नानीबाबुहरुलाई घरबाट बाहिर ननिस्कने वातावरणको सिर्जना गर्नुपर्छ । उनीहरुलाई सम्भव भएसम्म कोठामै रमाउने वातावरणको सिर्जना गरिदियो भने बाहिर त पक्कै पनि जाँदैनन् । अहिलेका नानीबाबुहरु मोवाईल र टेलिभिजनबाट अछुतो रहन सक्दैनन् । उनीहरुलाई त्यसबाट पनि उनीहरुलाई टाढा नराखौं । तर उनीहरुलाई ती साधनहरुको सही सदुपयोग गर्न सिकाऔं । टेलिभिजन मोवाईलमा देखेका कुराहरु उनीहरुलाई कापीमा उतार्न लगाऔं । यसो गर्दा उनीहरुलाई लेख्ने र सम्झने बानीको विकास हुन जान्छ ।  
यसर्थ घरमै बसेर यो महामारीकाविरुद्ध संघर्ष गर्नका लागि हामीलाई सरकारले आग्रह गरिहेका वेला यसरी ज्ञानको क्षेत्र किन अगाडि नबढाउने त ?
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top