होमपेज / विचार
धेरै अगाडिबाट केही न केही विषयमा लेख्ने हुटहुटी पैंदा भइरहेको थियो । विश्वभरी एउटा भयावह सन्त्रासको अवस्था सिर्जना गरिरहेको कोभिड–१९ को प्रभावले केही न केही विषयमा लेख्नुपर्छ भन्ने कुरामा प्रेरित गरायो । देशमा संकट उत्पन्न भएको अवस्थामा सबै राष्ट्रसेवकहरु राज्यप्रति उत्तरदायी र जिम्मेवार भएर समस्या समाधानमा निरन्तर खटिनुपर्छ । त्यसै गरी नागरिकहरुको पनि दायित्व राज्य र राज्यका अंगहरुलाई कस्तो अवस्थामा के गरेर सहयोग हुन्छ त्यतातिर सचेत भएर लाग्नुपर्ने हुन्छ ।
छिमेकी राष्ट्र चिनको वुहान शहरबाट शुरु भएर विश्वका करिब २०० बढी राष्ट्रमा आगोको डढेलो लागे जसरी तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकिरहेको छैन । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०७६ चैत्र ७ गते कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधनबाटै नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत्र २१ गतेसम्म बन्द गरिएका छन् । राज्यका अंगहरुको अनि सचेत नागरिकहरु सबैको आ–आफ्नो कर्तब्यको परीक्षणको घडी हो यो समय ।
.jpg)
यतिवेला राज्यका मुख्य गरी तीन क्षेत्रहरु स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्रका कर्मचारीहरु मैदानमै ओर्लेर कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । जनचेतना जगाउने, चेकजाँच गर्ने, नियम पालना गराउने, सुरक्षा दिने, प्रचारप्रसार गर्ने लगायतका विभिन्न कार्यहरु देशैभरी तीब्र गतिमा भइरहेका छन् । बिरामीहरुको पहिलो पंक्तिमा बसेर स्वास्थ्य चेकजाँच तथा उपचार गर्ने स्वास्थ्यकर्मीहरु, सुरक्षा प्रवन्ध मिलाउने अनि नियम पालना गराउने सुरक्षाकर्मीहरु र समाचार संकलन तथा सूचना प्रवाह गर्ने सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाका निम्ति भरपर्दो व्यक्तिगत सुरक्षाका साधनहरु (पिपिइ) को आवश्यक व्यवस्था गरेको देखिँदैन र पाइँदैन । भोलि उनीहरुमाथि संक्रमण भइहालेमा यसले विकराल रुप लिने देखिन्छ । अहिले बिरामी र संक्रमितहरुको सबैभन्दा नजिक भएर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले नै उक्त सेवा प्रदान गरिरहेका छन् । धेरै संख्यामा मानिसहरु जम्मा हुँदा नै एक अर्कामा फैलिने र संक्रमण हुने अवस्थालाई मध्यनजर गरेर नै आम नागरिकहरुलाई घरबाहिर ननिस्केर आ–आफ्नो घरमा बस्न भनिएको छ । तर बाहिर खुला रुपमा अरुको सेवा सुरक्षामा निस्कने सयौं अनि हजारौको संख्यामा ब्यारेक सिस्टममा बस्ने सुरक्षाकर्मीहरुको व्यक्तिगतका साथै सामूहिक सुरक्षाको प्रयाप्त प्रवन्ध भएको भने देखिँदैन । के उनीहरुमा सबैलाई प्रभावित पार्ने यस्तो महामारीविरुद्ध लड्ने छुट्टै क्षमता हुन्छ र ? भोक, प्यास, घाम, पानी, हावा, हुरी, महामारी, केही नभनी आफ्नो कर्तव्यमा निरन्तर खटिने सुरक्षाकर्मीहरुका समस्याहरुका बारेमा कोही कसैले गम्भीर भएर सोचेको छ कि छैन ? यसरी हेर्दा लाग्छ अहिलेसम्म कोही पनि गम्भीर भएर सोचेको÷लागेको देखिदैंन । व्यवहार पनि यसरी गरिन्छ कि सुरक्षाकर्मीहरुमा कुनै मानवीय संवेदना नै हुँदैन । मानौं उनीहरुलाई रोग, भोक, शोक, चिन्ता, घाम–पानी पींडा कुनै कुराले पनि असर गर्दैन कि भन्ने रोबोट जस्तो सोचेर व्यवहार गरिन्छ । जब देशमा कुनै चाडपर्व, दैवि प्रकोप, विपत्ती, राष्ट्रि«य संकट, महामारीजस्ता कुराहरु आउँछन् वा उत्पन्न हुन्छन् सम्पूर्ण कार्यालय, शिक्षण संस्था, कलकारखाना, सरकारी, गैरसरकारी संघसंस्थाहरु बन्द गरी त्यसमा कार्यरत कर्मचारी तथा शिक्षकहरुलाई आफ्नो घर परिवार, आफन्तसँग भेटघाटका लागि बिदा दिइन्छ । तर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको बिदामा भएकाहरुलाई पनि तुरुन्त आफ्नो कार्यक्षेत्रमा हाजिर हुन निर्देशन गरिन्छ । उनीहरुको जटिलभन्दा अत्यन्तै जटिल समस्याहरुलाई पनि थाति राखेर बस्नुपर्ने हुन्छ । तर सेवा सुविधा दिने कुराहरुमा सौतेनी आमाको छोरोछोरीहरुको भन्दा पनि तल्लो व्यवहार गरिन्छ । के सुरक्षाकर्मीहरुको घरपरिवार, आफन्त हुँदैनन् र ? के उनीहरुको परिवारहरुको उनीहरुसँगै बस्ने, सुख, दुःख बाँड्ने चाहना हुँदैन होला र ? यस्तो अवस्थामा उनीहरुले देश र जनताको लागि सेवा र सुरक्षा त प्रदान गर्छन् तर आफ्नो व्यक्तिगत पारिवारिक जीवनमा कहिल्यैं पनि खुशी दिन पाइरहेका हुँदैनन् ।
.jpg)
आ–आफ्नो परिवारको सुरक्षाको कुनै प्रवाह नगरी राष्ट्र र जनताको सेवा सुरक्षाका निम्ति खटिने गर्छन् । भयंकर संकट र विषम परिस्थितिमा सुरक्षा संयन्त्रले नै राज्यको अस्तित्व जोगाउँछ अनि रक्षाका लागि बलिदानी दिन तत्पर हुन्छ । आम नागरिकहरुको प्रभावकारी रुपमा सेवा र सुरक्षा दिनका निम्ति सुरक्षाकर्मीहरुको पनि स्वास्थ्य र सुरक्षाको राम्रो अनि उचित प्रवन्ध गर्न जरुरी देखिन्छ । मास्क, पञ्जा, सेनिटाइजर, हेल्मेटलगायत व्यक्तिगत सुरक्षाका साधनहरु (पिपिइ) को प्रयाप्त र उचित प्रवन्ध सुरक्षाकर्मीहरुका लागि बेलैमा नगर्दा भोलि कोरोना भाइरसको संक्रमण त्यहीँबाट सुरु हुनसक्ने सम्भावना देखिन्छ ।
अतः कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि राज्यका सबै पक्षहरु गम्भीर, जिम्मेवार र एकढिक्का भएर अघि बढ्नुपर्ने देखिन्छ । हाम्रो छिमेकी राष्ट्र चिनको सरकारले महामारी विरुद्ध देखाएको सक्रियता र अनुशासित जनताहरुको इमान्दारिता र युरोपेली देश इटालीको लापरवाही अनि जनताहरुमा भएको अनुशासनहीन कार्यहरुबाट निम्तिएको महासंकटबाट हामीले समयमै गतिलो पाठ सिक्न जरुरी छ । कोरोना भइरसको स्थायी रुपमा रोकथाम तथा निर्मुल पार्नका लागि कुनै औषधि पत्ता नलागिसकेको अवस्थामा आफ्ना खराब बानीहरु र आफू माथिको नियन्त्रण नै उत्तम औषधि र उपचार हुनसक्छ । राज्य, राज्यका अंगहरुको सक्रियतालाई परिणामुखी बनाउन सबैले आ–आफ्नो स्थानबाट अनुशासित र चेतनशील भएर सहयोगी भूमिका निर्वाह गर्ने समय आएको छ ।
.jpg)