ट्रेण्डिङ

होमपेज / विचार

अविश्वासको पात्र !

सजना सुनार 

नेपालगाथा २०७६ फाल्गुण २० गते मंगलबार १३:५१:३२ मा प्रकाशित

कर्मचारी होस्, गृहणी होस्, चाहे एक छात्रा 
उसको जीवनकालको हरेक पल भइरहेको हुन्छ, जात्रै जात्रा 
भित्र बस्दा चुलो चौकोमा सीमित मात्र,
बाहिर निस्कियो, फेरि उ बन्छे अविश्वासको पात्र ।

मन भारी भइरहेको छ । अनेकन प्रश्नहरु उब्जिरहेका छन् । कता कता खिन्नता पनि । तिमी शब्द आफैमा नराम्रो त होइन तर बोल्ने व्यक्तिले कसरी बोल्यो भन्ने महत्वपूर्ण हुन्छ । कुरा कालीकोट जिल्लाको एक स्थानीय तहको हो । त्यहाँ पुगेर भेटघाटका क्रममा वरिष्ठ व्यक्तिहरुसँग कुराकानी हुने अवसर मिल्यो । पहिले मैले नै सबैलाई नमस्कार गरे । व्याग राखेर बस्न नपाउँदै कहिँ कतैबाट आएको आवाज सिँधै कानमा ठोक्कियो । ‘ओ हो तिमी ! एता कता आयौं ? त्यतिबेला मैले कस्तो अनुभव गरे, त्यो म यहाँ उल्लेख गर्न सकिरहेको छैन । ब्याग राखेर, पछाडि फर्केर त्यो व्यक्तिलाई नियाले । हेर्दा थाहा भयो, आज भन्दा चार वर्ष अघि कामकै शिलशिलामा चिनजान भएको थियो । त्यस बेला तिमी सम्वोधन थिएन्, मैले आफ्नो सबै परिचय दिन नपाउँदै अर्को वरिष्ठ व्यक्तिबाट प्रश्न आयो । नानी तिम्रो घर कता हो ? मानौ यी र यस्तै प्रश्नहरु गरेर सबैले गिज्याएको जस्तो । मैले सबै प्रश्नहरुको जवाफ दिन उचित ठानिनँ । त्यसपछि म आफ्नो कामको कुरा गर्न तर्फ लागेँ । विशेषत त त्यहाँ जनप्रतिनिधिलाई तीन दिने तालिमका लागि प्रशिक्षकको रुपमा पुगेको थिएँ । त्यो पनि बाल विवाह र बाल अधिकारको सवालमा । 
मेरो लिंग महिला भएकै कारण मलाई त्यसरी सम्बोधन गरिँदै थियो । अर्को दिन, जब तालिम शुरु भयो, तब मात्र मैले आफ्नो सबै परिचय भनिदिएँ । तत्पश्चात उनीहरुमा एकप्रकारको लज्जापन देखिन्थ्यो । यो म आफैले भोगेको एक प्रतिनिधिमूलक घटना मात्रै हो । यहाँ हरेक क्षेत्रमा महिला भएकै कारण अविश्वासको पात्र बनाइन्छ । महिला भएकै कारण अविश्वासको पात्र बन्नुपर्ने, तिमी सम्बोधन, बहिनी नाता र सम्मानमा कन्जुस्याइँ जस्ता पीडा म जस्ता हजारौ युवती तथा महिलाहरुले भोगिरहेका छन् । 
फेरि महिलालाई गरिने अविश्वासको सवाल उठाइरहँदा पुरुषवाद समाजले फेरि उदाहरणहरुसहित प्रश्न तेस्राउन थाल्छन् । नेपालका धेरै महिला अगाडि आइसके, राष्ट्रपति देख्नुभएन, यस अघिको प्रधानन्यायधीश देख्नु भएन,  उहाँहरु पनि महिलाहरु नै होइनन् र ? हरेक ठाउँमा महिला सहभागिता गराएकै छौं त, अहिले त स्थानीय तहमा दलित महिला, प्रमुख उपप्रमुख मध्ये एक पदमा महिला ल्याउनुपर्ने बाध्यात्मक व्यवस्थाले पुरुषहरुलाई उदाहरण दिन खुब सजिलो भएको छ ।  अनी म कसरी प्रस्ट्याउँ की ‘सहभागिताको अवसर दिने तपाईं होइन, यो त संविधानले दिएको अधिकार हो ।’ फेरि सहभागिताको मात्र कुरा होइन अबको आवश्यकता भनेको अर्थपूर्ण सहभागिताको हो । 
अविश्वासको कुरा गरिरहँदा मलाई मेरै घरबाट शुरुवात गर्न मन लाग्छ । मेरो घरमा मलाईभन्दा मेरो भाईलाई बढी विश्वास गरिन्छ, हरेक कुरामा उसलाई नै बढी प्राथमिकता दिइन्छ, कारण मेरो लिंग महिला । मेरो समाजले मलाईभन्दा धेरै पुरुष साथीहरुलाई बढी विश्वास गरी विशेष तरिकाले व्यवहार गरिरहेको छ । कारण, उसको लिंग पुरुष हो । मेरो छिमेकीकी बहिनी कानून विषय पढ्न चाहन्थिन् । तर, छोरीमा लगानी गरेर के गर्नु विहे गरेर अर्काको घर जाने त हो भनेर गरिबीको कारण देखाउँदै सामान्य शिक्षा विषय लिएर पढ्न लगाइयो । कारण, उनको लिंग महिला । 
म मोटरसाइकल चलाउन सारै रुचाउँछु, लाइसेन्सका लागि ट्रायल पास गर्नुपर्ने । अभ्यास गर्नुपर्ने बाध्यता थियो । सिक्ने तीब्र चाहाना थियो । घरमा अंकल, भाई मामा सबैलाई अनुरोध गरे । तर कसैले म माथि विश्वास नै गरेनन् । अनी सिक्ने तीब्र अभिलाशाले मलाई ड्राइभिङ्ग सेन्टर लियो तर, त्यहाँबाट पनि निराश भएर फर्कनु प¥यो । कारण मेरो लिंग महिला । 
घरमा छोरीभन्दा छोरा विश्वासिलो, विद्यालयमा छात्राभन्दा छात्र विश्वासिलो, समाजमा महिलाभन्दा पुरुष विश्वासिलो, स्थानीय तहमा महिलाभन्दा पुरुष जनप्रतिनिधि बढी विश्वासिलो, सरकारी कार्यालय होस्, या गैरसरकारी कार्यालयमा होस्, महिलाभन्दा पुरुष कर्मचारी विश्वासिलो, सञ्चार क्षेत्रमा महिला पत्रकारभन्दा पुरुष पत्रकार बढी विश्वासिलो, राजनीतिको हालत पनि उस्तै । अब भन्नुस् हरेक ठाउँमा महिला नै अविश्वासको पात्र किन ? 
मलाई याद छ, करिब एक महिना अघिको कुरा हो । किशोरीमाथि हुने दुव्र्यवहार तथा यौन हिंसाका सम्बन्धमा रेडियो अन्तरवार्तामा बोलाइएको थियो । म त्यहाँ पुगे र अन्तरवार्ता शुरु भयो । अन्तरवार्ता हुनु नौलो विषय थिएन । तर, सोधिएका प्रश्नहरु अनौठा थिए । अन्तरवार्ताको कार्यक्रम सञ्चालकले पटक–पटक किशोरी हिंसामा पर्नुको कारण उनीहरुको व्यवहार र कपडा होइन र ? भन्दै प्रश्न म माथि तेस्र्याइरहेका थिए । प्रश्नको जवाफ दिन नपाउँदै ‘पुरुषलाई फसाउनका लागि वा पूर्वाग्रहका कारण पुरुषमाथि आरोप लगाइन्छ होइन र ? के साच्चिकै किशोरी वा महिला पीडित हुन्छन् र ? यस्तै–यस्तै उहाँको प्रश्नहरु महिला र किशोरीलाई अविश्वास पात्र बनाइरहेको थियो । दुव्र्यवहार तथा यौन हिंसा हुनुको दोषी महिला तथा किशोरीलाई दिइरहेको थियो । अन्तरवार्ता मै एक पटक मज्जाले हाँसे । त्यो हाँसो एक पुरुषको पुरुषवाद सोच सुनेर थिएन । यो त यसरी राज्यको चौथो अंग भनेर मानिएका सञ्चारकर्मी, (जो विवेकशील तथा सचेत नागरिकभित्रको एक हिस्सा हो)  उसको सोच त यतिसम्मको साघँुरो छ भने ती आम पुरुषहरुको सोच कस्तो होला ? र ती पुरुषहरुको वरिपरी रहेको महिलाहरुको अवस्था कस्तो होला ? सोच्दै कहाँली लाग्दो लाग्छ ।
महिलाहरु धेरै अगाडि पुगिसके भनेर उदाहरण दिईरहँदा सोच्न जरुरी छ की, ती अगाडि पुगेका महिलाहरुले साँच्चिकै समग्रमा नेपालका महिलाहरुको प्रतिनिधित्व गर्छन् होला त ? महिला अधिकारका लागि पैरवी गरिरहेका सबै पुरुषहरु आफू परिवर्तन भएर समाज परिवर्तनका लागि होमिएका होलान्   त ? प्रश्न सामान्य लागे पनि सोच्दा गम्भीर छ । भनिन्छ, नी दुनियाँलाई परिवर्तन गर्न सहज छ जत्तिको आफूले आफैलाई परिवर्तन गर्न गाह्रो छ । 
सहभागिताको नाममा अगाडि उभ्याएर होइन, महिलाहरुलाई साच्चिकै विश्वास गर्न सक्नुपर्छ । साथै अवसर दिन पनि आवश्यक छ । महिलाहरुलाई सहभागिता मात्रै होइन अर्थपूर्ण सहभागिता अहिलेको आवश्यकता हो । अहिलेसम्म महिलाप्रति गरिने भाषा त सुधारिएको छैन भने व्यवहार सुधार्ने परिकल्पना गरिरहेका छौं । 
‘महिलाप्रति हेरिने दृष्टि फेरौं, एक पटक महिलालाई विश्वास गरि हेरौँ ।’
(सुनार कर्णाली प्रदेशको युवा अभियान्ता हुन् ।)
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top