ट्रेण्डिङ

होमपेज / अर्थ

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपालगाथा २०८२ चैत्र २० गते शुक्रबार १०:०३:११ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेपछि नेपाल आयल निगमले इन्धनको मूल्य पुनः समायोजन गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको भाउ उकालो लाग्दै गएपछि निगमले मूल्य वृद्धि गर्नुपरेको बताएको छ ।

निगमका अनुसार निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको छ । हालको अवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर करिब ४७ रुपैयाँ, डिजेलमा १३३ रुपैयाँभन्दा बढी तथा एलपी ग्यासमा प्रति सिलिण्डर ४ सय रुपैयाँभन्दा बढी घाटा रहेको जनाइएको छ । मूल्य समायोजन नगरेमा पाक्षिक रूपमा १३ अर्बभन्दा बढी घाटा हुने अवस्था रहेको निगमले उल्लेख गरेको छ ।

यही परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले बताएको छ । नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलजस्ता तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँ कायम भएको छ । अन्य वर्गमा पनि सोही अनुपातमा मूल्य समायोजन गरिएको छ ।

मूल्यवृद्धि पछि पनि निगमलाई घाटा कायमै रहने जनाइएको छ । संशोधित दरअनुसार समेत पेट्रोलमा प्रतिलिटर करिब ३४ रुपैयाँ, डिजेलमा १२० रुपैयाँभन्दा बढी तथा ग्यासमा प्रति सिलिण्डर ४ सय रुपैयाँभन्दा बढी घाटा रहने अनुमान गरिएको छ । यस अनुसार निगमलाई अझै पनि पाक्षिक रूपमा करिब ११ अर्बभन्दा बढी घाटा हुने अवस्था रहेको छ ।

निगमले आपूर्ति व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै समयमै भुक्तानी गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top