ट्रेण्डिङ

होमपेज / अर्थ

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री गर्ने

नेपालगाथा २०८२ चैत्र १० गते मंगलबार १९:१०:०६ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएका हुन् ।

ग्यास आयातमा कुनै समस्या नरहेको जिकिर गर्दै उनले भने,’’ग्यास आयातमा कुनै पनि समस्या छैन । उपभोक्ताले सञ्चिति बढाउँदा केही समस्या देखिएको छ । एक सातापछि भरी सिलिन्डर बजारमा पठाउने योजनासहित निगम जुटेको छ ।’’

निगमले फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास विक्री गर्न निर्देशन दिएको थियो । हाल खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न पनि भट्टले उपभोक्तालाई आग्रह गरेका छन् ।

नेपालमा मासिक ४६ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएकोमा उक्ति परिमाणमा ग्यास आयात भइरहेको निगमले बताएको छ । बेलाबखत हुने अभावको समस्या समाधानका लागि सरकारले भण्डारण पूर्वाधारमा लगानी गर्नुपर्ने भट्टले बताए । ’’नेपालमा एलपी ग्यास पाइपलाइन र कम्तीमा ३० दिनका लागि पुग्ने भण्डारण पूर्वाधार निर्माण गर्नु अत्यावश्यक भइसकेको छ,’’ भट्टले भने ।

पाइपलाइन नहुँदा ग्यास ढुवानीमा मात्रै वार्षिक छ अर्बभन्दा बढी खर्च हुँदै आएको उनले बताए । नेपालसँग आफ्नै ग्यास बुलेट नहुँदा ढुवानी लागत अधिक भएको हो । ’’ग्यास पाइपलाइन र भण्डारण पूर्वाधारमा लगानी भएमा अर्बौँ बचत हुन्छ । यसबाट आपूर्ति प्रणाली सुधार भई उपभोक्ताले पनि सहजै ग्यास पाउने अवस्था बन्छ,’’ उनले भने । तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माणको नीति भए पनि त्यसतर्फ काम हुन सकेको छैन ।

 भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन र भण्डारण गृह निर्माणका लागि नेपालले एक वर्षअघि नै भारतसँग प्रस्ताव रोखेको थियो । उक्त विषयमा भारतले हालसम्म पनि नेपाललाई कुनै जवाफ दिएको छैन । ’’हामीले एक वर्षअघि नै प्रस्ताव राखेका थियौँ । अहिलेसम्म कुनै जवाफ प्राप्त भएको छैन,’’ कार्यकारी निर्देशक भट्टले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top