होमपेज / अर्थ
काठमाडौं । गुणस्तरीय बिजुली नपुगेको कर्णालीमा यसै साता १३२ केभी प्रसारणलाइनमार्फत बिजुली पुगेको छ । कर्णालीमा कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेतखण्ड सञ्चालनमा आएसँगै कर्णालीमा पनि गुणस्तरीय बिजुली पुगेको हो ।
यसअघि ३३ केभी लाइनमार्फत कर्णाली प्रदेशमा विद्युत आपूर्ति गर्दा देखिने ओभरलोड, पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको थियो । १३२ केभी प्रसारणलाइन पुगेसँगै लो–भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। यस क्षेत्रबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गराउन समेत यो लाइन महत्वपूर्ण हुने उनले बताए ।
यसअघि पुसको तेस्रो साता कर्णालीको सुर्खेत पुगेर कार्यकारी निर्देशक शाक्यले १३२ केभी प्रसारणलाइन तत्काल चार्जमा ल्याउन निर्देशन दिएका थिए । स्थलगत निरीक्षणका क्रममा काममा ढिलासुस्ती नगर्न दिएको निर्देशनको करिब तीन सातापछि उक्त प्रसारणलाइन सञ्चालनमा आएको छ । सुर्खेत पुगेका शाक्य दोस्रोपटक पनि प्रसारणलाइन सञ्चालनको सुरुआतका लागि त्यहाँ पुगेका थिए ।
आयोजना सञ्चालनमा आएपछि उनले कर्णाली प्रदेशमै पहिलोपटक १३२ केभी प्रसारणलाइन चार्जमा ल्याउन सफल भएको उल्लेख गर्दै यसबाट कर्णाली प्रदेश तथा सुर्खेतका उपभोक्ताले गुणस्तरीय विद्युत् उपयोग गर्नसक्ने अवस्था सिर्जना भएको बताए ।