होमपेज / अर्थ
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना भित्रमा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।
गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा यो नाका हुँदै एक अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्जका भन्सार कार्यालय प्रमुख भन्सारका प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । यस अवधिमा आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्व समेत सङ्कलन भएको छ । “यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो”, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने । गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै, चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोड रुपैयाँको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा पाँच अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड रुपैयाँ मूल्यको डिजेल आयात हुँदा चार अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।
चालु आवको दुई महिनामा ६ अर्ब ८२ करोड रुपैयाँको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले चार अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा भने ६ अर्ब ४० करोड रुपैयाँको ६९ हजार ६ सय ४७ किलोलिटर पेट्रोल आयात हुँदा तीन अर्ब ९९ करोड रुपैयाँ राजस्व सङकलन भएको थियो । चालु आवको दुई महिनामा पाँच अर्ब १२ करोड रुपैयाँको चार करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै, गत आवको सोही अवधिमा भने पाँच अर्ब ३६ करोड रुपैयाँको चार करोड ९७ लाख ५५ हजार एक सय ९४ किलो एलपी ग्याँस आयात हुँदा एक अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले बताएकाे छ ।