होमपेज / अर्थ
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन्।
७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चुहावट बढ्दै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताए।
भन्सार बिन्दुबाट कुनै वस्तुको आयात घट्ने तर बजार सोहि बस्तुको मौज्दात नै बढि हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चुनौति दिने काम भएको उनले बताए ।
उनले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बताए । अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यहि अवधिको तुलना गर्दा यस आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आकडा सुनेर मात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गरे।
राजस्व संकलन गर्ने अभिभारा संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा राखे । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउँदै लक्ष्य भेटाउने काम गर्न उनले निर्देशन दिए।
उनले भन्सार क्षेत्रलाई थप आधुनिकिकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिवद्ध रहेको धारणा राखे। अन्तराष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ ।