होमपेज / अर्थ
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले जुनसुकै व्यवसायलाई सफल बनाउनका लागि मुख्य कुरा कनेक्टिभिटी भएकाे बताएका छन् । मुख्यमन्त्री शाहीले खासगरी बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापन नभएसम्म व्यवसाय अगाडि बढ्न नसक्ने बताए।
“दश वर्ष अगाडि सुर्खेत कस्तो थियो? अहिलेको बजार बन्न कति समय लाग्यो?”, उनले भने, “खाद्यान्नमा आत्मनिर्भर भनेको सल्यान मात्रै थियो, अहिले कति परिवर्तन भयो भनेर बुझ्न जरुरी छ ।” भाषण मात्रै नभएर होटेल व्यवसायको अवस्था कर्णालीमा कस्तो छ भनेर सबै व्यवसायीले छलफल गरेर समस्या समाधानका लागि मास्टर प्लान गर्नु आवश्यक छ, “उनले भने । अर्थतन्त्रलाई वृद्धि नगरेसम्म केही नहुने उनले बताए ।
“अर्थतन्त्र सुध्रिनका लागि एक अर्कालाई आरोप प्रतिआरोप गर्नुभन्दा निजी क्षेत्रलाई अगाडि बढाउन सबै नागरिक तवरबाट छलफल आवश्यक छ”, उनले भने,“तपाई हामी निजी होइन सबै राज्यको हो, व्यक्तिगत केही पनि छैन ।” प्रदेश सरकारको चालु खर्च २० प्रतिशत र पुजीगत खर्च ७० प्रतिशत छ तर निजी क्षेत्रको यो उल्टो भएकाले खर्चमा नभएर आम्दानीको स्रोतको खोजी गरी लगानी भित्राउन पहल गर्नुपर्ने उनको भनाई छ ।
उद्योग वाणिज्य संघले एक वर्षको काम के भयो? के प्रगति भयो? के कमिकमजोरी भयो भन्ने कुराको समीक्षा हुनुपर्नेमा भाषण मात्रै हुनु राम्रो नभएको मुख्यमन्त्री शाहीले बताए । सुर्खेत उद्योग वाणिज्य संघको ३९औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठले अहिलेको सन्दर्भमा कुन व्यवसायी कतिबेला विस्थापित हुन्छन् भन्ने चिन्ता गर्ने बेला आएको बताए । उनले सरकारले जनताले सहज हुने खाल्का कानुन बनाउन आवश्यकता छ । “जनताबाट उठाएका कर उपयुक्त ठाउँमा लगानी हुनुपर्छ”, उनले भने,“उद्योगधन्दा तथा कलकारखाना बन्द हुने अवस्था आइसकेको छ ।” उनले देशभर १८ लाख नागरिकहरु बैंकको चर्को व्याजदर खेप्न बाध्य भएको बताउँदै यसको अझ बढी मारमा व्यवसायिक क्षेत्र परेको बताए ।
व्यक्तिलाई होइन परियोजनालाई ऋण दिने कुरा बैंक तथा लगानी कर्ताले बुझ्न आवश्यक रहेको उनको भनाई छ । “अहिलेसम्म त हामीले राज्यको ध्यान मात्रै केन्द्रित गरेका छौ, राष्ट्र बैंकले व्याज घटाउन सक्छ !” उनले भने, “हामीले आन्दोलन गरेका छैनौ”। व्याजदर मात्रै घटाउन पर्ने आफ्नो संस्थाको माग नभएको उल्लेख गर्दै उनले बैंक र उद्योग पनी बाच्ने आधा तयार गर्न आवश्यकता सिर्जना भैसकेको उनको भनाई छ ।
आर्थिक विकासका लागि प्रत्येक प्रदेशमा प्रतिष्पर्धा हुनुपर्ने उल्लेख गर्दै पद लिनका लागि मात्रै रस्साकस्सी गर्न व्यवसायीले नहुनेमा उनले जोड दिए । अब कसरी हाम्रो ठाउँमा आयात कम र निर्यात बढि गर्न सकिन्छ भनेर गृहकार्य गर्न आवश्यक रहेको उनले बताए ।सार्कस्तरीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकालले कृर्षीजन्य वस्तुलाई उपभोक्तासम्म पुर्याउने सम्भावना कर्णालीका हरेक जिल्लामा भएकाले यस विषयमा योजना बन्न आवश्यक रहेको बताए । यसका लागी सुर्खेत एक्लैले केहि गर्न नसक्ने बताउदै उनले कर्णालीका सबै जिल्लाले आफ्ना आफ्ना जिल्लाका योजना अगाडी ल्याउन आवश्यकता रहेको कुरामा जोड दिए । “कर्णालीको पूर्वाधार विकासका लागी सम्भावना भित्रको सम्भावना कोरी सकेको छ,” उनले भने, “स्थानीय हाम्रो बजारले विश्वका ठुला बजार संग प्रतिष्पर्धा गर्नु पर्ने छ तर यसका लागी स्थानियले अगाढी बढ्ने प्रयास गर्नुपर्छ ।”
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले व्यवसायी र अहिले अर्थतन्त्रको समस्यालाई सरकारले ध्यान दिन आवश्यक भएको बताउका छन् । उनले व्यवसायी मात्रै नभएर आम नागरिकको कर्जाले चलेको व्यवसाय तथा घरलाई बढ्दो व्याजदरले समस्यामा पारेको बताए । “सरकारको हातेमालो र टेवामा निजी क्षेत्र सधै साथमा छ,” उनले भने, “आम कर्णालीको भूगोललाई बलियो बनाउने हो व्यापार मात्रै होइन, उत्पादन तथा पर्यटनमा पनि ध्यान दिन आवश्यक छ ।” अब व्यवसायको प्रकृति परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।
व्यवसाय घट्दो र बैंकको व्याजदर बढ्दो अवस्थामा रहेकाले व्यवसाय बचाउन मुस्किल अवस्थामा पुगेको व्यवसायीहरुको भनाई छ । अहिलेको बजार आयातमा भर पर्ने खाल्को भएकाले यस्तो समस्याको सृजना भएको पनि उनीहरुले निष्कर्ष निकालेका हुन् । आफ्नो ३९ औं साधारण सभाबाट उत्कृष्ट सरकारी कर्मचारीको विधामा नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतलाई पुरस्कृत गरेको छ । यस्तै आर्थीक पत्रकारिता पुरस्कारतर्फ हाम्रो नयाँ नेपाल दैनिकका सम्पादक गणेशकञ्चन भारती, उत्कृष्ट व्यापारीतर्फ राजु कलेक्शन सुर्खेतका प्रोपोराइटर रामप्रसाद जैसी राजु, उत्कृष्ट उद्योगीतर्फ गंगाकुमारी वलीलाई पुरस्कृत गरिएको छ।