होमपेज / अर्थ
काठमाडौँ । सीवाईसी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज (बिहीबार) बिहान आईपीओ बाँडफाँड गरेको हो । लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदकहरूलाई गोला प्रथाका माध्यमबाट सेयर बाँडफाँट गरिएको छ । योग्य आवेदकलाई न्यूनतम १० कित्ताका दरले आईपीओ वितरण गर्दा ३६ हजार ९४८ जनालाई तीन लाख ६९ हजार ४८० कित्ता सेयर बाँडफाँड भएको छ ।
बाँकी रहेका आठ कित्ता सोहीमध्ये १० कित्ताभन्दा बढी आवेदन दिने आठ जनालाई थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ । कम्पनीले यही वैशाख २ गतेदेखि ६ गतेसम्म कुल तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरूका लागि छुट्ट्याएर बाँकी तीन लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएको छ ।
लघुवित्तको आईपीओमा कुल २२ लाख पाँच हजार ६३३ जनाको आवेदन परेको थियो । त्यसमध्ये तीन हजार २७२ जनाको आवेदन रद्द हुँदा २२ लाख दुई हजार ३६१ आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। हाल लघुवित्तको चुक्ता पुँजी आठ करोड २१ लाख आठ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।