होमपेज / अर्थ
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।
बैंकिङ निर्देशन नमानेकाले ती बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।केन्द्रीय बैंकले आर्थिक वर्षको प्रथम त्रैमासमा कुनै पनि बैंकलाई कारबाही नगरे पनि दोस्रो त्रैमासमा भने १४ बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेपछि कारबाहीको दायरामा पुगेका हुन् ।
राष्ट्र बैंकका अनुसार कारबाहीमा परेका अधिकांश बैंकहरूले ब्याजदर नीति उल्लंघन गरेका छन् ।राष्ट्र बैंकले एक बैंकलाई नगद जरिवाना गर्दा अरू १३ बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जनाएको छ ।
प्रभु बैंकलाई तोकिएको अनिवार्य नगद मौज्दात कायम नगरेकोले कारबाही गरिएको छ ।
हिमालयन, नेपाल एसबीआई, एनसीसी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा, सेन्चुरी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र एनएमबी बैंक ब्याजदर नीति उल्लंघन गरेका छन् ।