होमपेज / अर्थ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् ।
अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे बिहीबार जानकारी गराउँदै मन्त्री शर्माले यस्तो दावी गरेका हुन् ।बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौती दिएको बताए ।
आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने शर्माले बताए । अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको उनले बताए । 'अर्थतन्त्र चुनौतिरहीत कहिल्यै हुँदैन । सधैं चुनौतिपूर्ण नै हुन्छ । अहिलेको अर्थतन्त्रको अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो', शर्माले भने 'हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।'
अर्थतन्त्र नै नबुझेको भनेर भइरहेको आफ्नो आलोचनालाई पनि स्वभाविक रुपमा लिएको उनले बताए । यो आलोचना आफ्ना लागि 'गरेर देखाउने' चुनौतिका रुपमा लिएको उनले बताएका छन् । 'को जान्ने, को नजान्ने भनिरहेका महाशयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ,’ शर्माले भने, 'मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै शुरू भएको छ । यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ ।' प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत को आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ ।
राष्ट्र बैंकले गैर आवासीय नेपालीले डलरमा बचत खाता खोल्न पाउने व्यवस्था गरेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक असर गर्ने बताए ।